‘काठमाडौँ नै सबथोक होइन’

सोमबार, १३ भदौ २०७३, १० : १६ मनोज घर्तीमगर , Kathmandu
‘काठमाडौँ नै सबथोक होइन’

प्रतिभाशाली अभिनेता माओत्से गुरुङले ‘दलन’ टेलिसिरियलमा निर्वाह गरेको सत्मान पात्रबारे अहिले पनि प्रशंसासहित कुरा गरिन्छ । रंगमञ्चबाट कला यात्रा सुरु गरेका उनले निर्देशन गरेको फिल्म ‘कृपा’ चर्चित भयो । पोखरामा बसेर फिल्म निर्देशन, निर्माण, अभिनय, लेखन सबै क्षेत्रमा आफ्नो दह्रो उपस्थिति जनाएका माओत्सेले भर्खरै फिल्म ‘कबड्डी–कबड्डी’बाट उत्कृष्ट चरित्र अभिनेताको अवार्ड पनि पाए । अहिले उनी आफ्नै लगानीमा बनेको फिल्म ‘पुरानो डुंगा’ को प्रमोसनमा व्यस्त छन् । उनीसँग मनोज घर्तीमगरले गरेको अन्तरंग कुराकानी ।


हिजोआज के गर्दै हुनुहुन्छ ?
‘पुरानो डुंगा’को प्रमोसनमा लागिरहेको छु । केही नयाँ फिल्मका लागि छलफल गरिरहेको छु ।
‘पुरानो डुंगा’ किनारमा पुग्न कति लाग्ने भो ?
ठ्याक्कै चार महिना लाग्ने भो । मंसिरतिर हलमा लाग्छ ।
यस फिल्मबारे केही बताउनुस् न ।
तालमा डुंगा खियाएर, माछा मारेर परिवारको गुजारा चलाउने एउटा माझी पात्रको कथा हो, यो फिल्म । उसको एउटा लफंगो भाइ पनि छ । अंशबण्डा हुँदा उसले डुंगा माग्छ । त्यसपछि परिवारमा विखण्डन आउँछ । तिनै कुरालाई फिल्ममा उतारिएको छ । अलि फरक धारको कलात्मक फिल्म भएकाले मैले यसबाट निकै आशा गरेको छु ।
डी सिने अवार्डमा उत्कृष्ट चरित्र अभिनेताको अवार्ड पाउनुभयो । यो अवार्ड अलिक विवादास्पद भयो नि, हैन ?
संसारको जुनसुकै अवार्ड पनि विवादरहित छैन । अवार्ड भन्ने चिज सुनै जोख्या जस्तो यति तोला, यति लाल, पेट्रोल लिटरमा भरेजस्तो, यति लिटर, यति मिलिलिटर भन्ने हुँदैन । वास्तवमा सिर्जना जोख्ने तराजु, तुलो हुन्छ जस्तो मलाई लाग्दैन । जुरीको नजरमा परेर उत्कृष्ट चरित्र अभिनेताको अवार्ड पाएँ । खुशी नै छु ।
कलाकारिता किन रोज्नुभो ?
१०/१२ वर्षकै उमेरमा कलाकारिताको रस बसेछ । गाउँमा छँदा नाटकहरू गर्न मन लाग्ने । नाचगान गर्न मन लाग्ने । त्यस्तो हँुदै गर्दा ब्रोसिस ब्यान्डका ओमप्रकाश गुरुङसँग संगत भयो । उहाँ बेगनास तालबेसी गाउँमा चाडबाडका बेला नाटकहरू देखाउनुहुन्थ्यो । त्यसपछि मलाई पनि नाटकको भूत चढ्यो । कलाकारिताको भूत चढ्यो । गाउँमै बसेर मात्रै कलाकारिता फस्टाउला भन्ने लागेन । क्याम्पस पढ्न पोखरा आएँ । त्यसपछि राजु याकछा, सूर्य अछामी, प्रकाश सिग्देल, प्रमिला ताम्राकार, सागर शाहलगायतसँग भेट भयो । हामीले ‘दीर्घजीवी नाट्य समूह’ बनायौँ । त्यसअघि नै मैले रंगकर्मी अनुप बरालसँग नाटकको क्लास लिइसकेको थिएँ । यसरी नाटकको रस बस्यो । अनि, कलाकारितामै लागियो ।
टेलिसिरियल ‘दलन’मा पनि अभिनय गर्नुभयो । त्यतिबेलाका केही सम्झना सेयर गर्नुस् न ।
‘दलन’ नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । यसको ७२ भाग थियो । त्यतिबेला लोडसेडिङको चर्को समस्या थियो । कतिपय भाग त मैले पनि हेर्न पाइनँ । थुप्रै दर्शकले पनि लोडसेडिङको कारणले हेर्न पाउनुभएन । जतिले हेर्नुभो, ‘दलन’लाई नसम्झिने कमै हुनुहुन्छ । अझ अहिले पनि मलाई त ‘सत्मानजी, के छ ?’ भन्दा बडो रमाइलो लाग्छ ।
‘दलन’को सत्मानलाई दर्शकले अहिलेसम्म सम्झिनुको कारण के होला ?
सत्मान गजबको क्यारेक्टर थियो । बाबुराम टोपी भन्छन् नि, त्यस्तै टोपी लगाएको । छुस्स दारी र जुंगा पालेको । दाहिने काँधमा ऊनी झोला । डल्ले डल्ले । जसले दलित र आदिवासी–जनजातिका विभिन्न मुद्दा बोकेर हिँड्थ्यो । गाउँघर जहाँ पुगे पनि मान्छेसँग भेट हुँदा खुला दिलले दुवै हात टाउकोमाथि उठाएर नमस्कार गर्ने । दिल खोलेर हाँस्ने । बडो रमाइलो चरित्र थियो सत्मान । त्यसैले पनि धेरैले मन पराएका होलान् ।

आफ्नो करिअरका लागि काठमाडौँ बस्ने लाखौँ छन् । तपाईंलाई पोखरामै केले टिकायो ?
व्यक्तिभित्र एउटा खुबी हुनुपर्छ । क्षमता छ भने काठमाडौँ बस्नैपर्छ भन्ने छैन । काठमाडौँ नै सबथोक होइन । आफूले गर्ने कामकुरामा प्रस्ट भएर लागियो भने ढिलो–चाँडो ती स्रष्टाहरूको खोजी चाहिँ हुन्छ भन्ने लाग्छ । यस्तो भन्दैमा म भयंकर ठूलो कलाकार हुँ भन्न खोजेको होइन । तर, म पोखरा छोड्नै सक्दिनँ । साथीभाइ, इष्टमित्र, आफन्त सबै यतै छन् । त्यही भएर पनि होला । आफूले गर्ने काम गम्भीरतासाथ गरे केन्द्र धाइरहनुपर्छ जस्तो लाग्दैन । मोफसलमै बसेर हस्तक्षेप गर्न सकिन्छ ।
मोफसलमा बसेर कलाकारिता गर्नु कत्तिको कठिन छ ?
गाह्रो नहुने भन्ने त कुरै छैन । काठमाडौँमै बसेर कलाकारिता गर्न पनि गाह्रै छ । उचित स्थान नपाइने, व्यावसायिक सफलता नपाइनेलगायत विभिन्न चुनौती छन् । प्रतिभावान कलाकार टाढा भएको हिसाबले कतिपय निर्माता, निर्देशकको नजर उहाँहरूसम्म पुग्दैन । फेरि फिल्म दर्ता, सेन्सरलगायत काम गर्न त काठमाडौँ नगई हुँदैन । यी सारा दुःख छन् । अर्को कुरा, फिल्मलाई बजारमा ल्याउन पनि गाह्रो हुन्छ ।
‘काठमाडौँ गए माओत्सेले झन् राम्रो गथ्र्याे’ भन्नेहरू थुप्रै छन् नि ।
यस्तो भन्ने साथीभाइ, शुभचिन्तक, मान्यजन त कति हो कति ! तर, मलाई काठमाडौँ गएर केके न गर्छु भन्ने कहिल्यै लागेन । कर्म गर्दै जाने हो । मैले आफ्नो अनुकूलतामा नाटक र फिल्म गर्दै आएको छु । मलाई जति पनि अफर आएको छ, सबै काठमाडौँबाटै आएको छ । काठमाडौँ वा केन्द्रमै बस्नुपर्छ भन्ने छैन ।
मोफसलका कलाकारलाई हेर्ने दृष्टिकोण फरक छ, होइन र ?
मलाई अहिलेसम्म त्यस्तो अनुभूत भएको छैन । केन्द्रको अहंकारले मोफसललाई अलिकति डोमिनेट त गर्न खोज्छ जस्तो चाहिँ लाग्छ । तर, म भाग्यमानी छु । मैले हेपाइ भोग्नुपरेको छैन ।
हिरो हुन मन लागेन ?
पहिलेपहिले नाटक गर्दाखेरि मलाई नेगेटिभ क्यारेक्टर मन पथ्र्यो । हिरो हुन खासै मन लागेन । फेरि हिरो हुन अग्लो कद, चौडा छाती, ठूला आँखा हुनुपर्ने दर्शकको सोचाइ थियो । मेरो शरीर त्यस्तो छैन । तर, ‘अचम्मै भो’ भन्ने फिल्ममा हिरोको अभिनय गरेँ । त्यसपछि दर्शक र सबैले हिरोमा फिट भएन भने । त्यसपछि कहिल्यै हिरोको सपना देखिनँ । अहिले चाहिँ क्यारेक्टर हिरो हुने फिल्म गरिरहेको छु ।
अभियन, निर्देशन, निर्माण, पटकथा लेखन, सबै आफैँ गर्नुहुन्छ । तपाईं खासमा हो चाहिँ के ?
म वास्तवमा कलाकार हुँ । यी सबै कलाकारिताका आयाम हुन् ।

फिल्मका अफर त खूब लत्याउनुहुन्छ रे ।
‘पुरानो डुंगा’ सकिएपछि नेपाली र गुरुङ भाषाका पाँचवटा फिल्म छाडिसकेँ । स्टोरी के हो ? कस्तो खालको प्रोजेक्ट हो ?  टिम कस्तो हो ? मैले गर्नुपर्ने क्यारेक्टर के हो ? स्क्रिप्ट कस्तो छ ? भनेर सोधीखोजी गर्दा धेरैलाई अप्ठ्यारो फिल हुँदो रैछ । धेरैले फोन गरेर ‘ल है माओत्से सर, एकदुई दिनमा सुटिङमा जानुपर्छ’ भन्नुहुन्छ । मैले स्क्रिप्ट नहेरीकनै, केही कुरा बुझ्नै नपाई, मैले गर्ने क्यारेक्टर थाहै नपाई कसरी हुन्छ भन्नु ? यही कारणले फिल्म छोड्नुपरेको हो ।
बडो चुजी हुनुहुँदो रहेछ ।
त्यस्तो त होइन । फिल्ममा आफू के गर्दै छु भन्ने थाहा हुनुपर्छ भन्ने मान्यता राख्छु । म कुनै सुपरस्टार पनि होइन । त्यसैले चुजी भन्ने कुरै आउँदैन । तर, म के मानेमा भाग्यमानी हुँ भने नेपालका राम्राराम्रा निर्देशकसँग काम गर्न पाएको छु । अनुप बराल, नवीन सुब्बा, दीपक रौनियार, रामबाबु गुरुङ, सुवर्ण थापालगायतसँग काम गर्न पाएको छु । यो बडा खुशीको कुरा हो । हत्तपत्त यस्तो अवसर पाइँदैन, त्यो पनि काठमाडौँबाहिर बसेर ।
नाटक चटक्कै छोडिदिनुभएको हो ?
छोडेको होइन, तर गर्न पनि सकिएको छैन । वास्तवमा नाटकमा काम गर्नु निकै चुनौतीपूर्ण छ । अहिलेको समयमा सिनेमा चिप्समा लिएर हिँडे हुन्छ । नाटकको चुनौती के भने सम्पूर्ण कलाकार, प्राविधिक, सेट लगायत सबै सरजाम लिएर हिँड्नुपर्छ । महिनौँ लगाएर रिहर्सल ग¥यो, एकदुई दिन देखायो, सकियो । यसमा धेरै समय लाग्छ । अर्को कुरा, पहिले विद्यार्थी थिएँ, एक्लै बरालिन छुट थियो । अहिले परिवारको अभिभारा थपिएको छ । घर पनि सम्हाल्नैप¥यो । तर, नाटकको रहर मरेको छैन ।

कलाकारिता दुखिया कर्म हो भन्छन् नि ?
आफूले रोजेको क्षेत्रलाई दुखिया किन भन्नु ? सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो । अलिकति राम्रो तरिकाले जाने हो भने अर्थ पनि नकमाउने होइन । म अहिलेसम्म सन्तुष्ट नै छु । रमाईरमाई काम गरिरहेको छु । यसलाई कसरी दुखिया कर्म भन्नु ?
त्यसोभए कहिलेकाहीँ समाजिक सञ्जालमा तपाईंका निराशाजनक स्ट्याटस किन आउँछन् त ?
कहिलेकाहीँ विरक्त नलाग्ने होइन । सँगैका साथीहरू विदेश गएर बिल्डिङ बनाउँदा, कार चढेर हिँड्दा, उनीहरूको उच्च जीवनशैली देख्दा  कहिलेकाहीँ त विरक्त लाग्छ । २५/२६ वर्ष कलाकारितामा लागेर अब अरू ठाउँमा जान सक्छु जस्तो मलाई लाग्दैन । घरपरिवार, छोराछोरीका माग पूरा गर्न नसक्दा कहिलेकाहीँ त्यस्तो लाग्नु अस्वाभाविक पनि होइन होला । तर, मैले आफ्नो मनमा लागेका कुरा सिनेमा, टेलिफिल्मबाट व्यक्त गर्न पाएको छु । सबैभन्दा ठूलो कुरा त्यही हो ।
एकताका गुरुङ फिल्ममा बेस्मारी लाग्नुभो । अहिले हराउनुभो । किन ?
धेरै मान्छेले मलाई यही जिज्ञासा राख्छन् । गुरुङ फिल्म बनाएर थाक्नुभो भनेर सोध्नेहरू पनि छन् । गुरुङ फिल्म सँगसँगै नेपाली फिल्म पनि गरौँ भन्ने मान्यता हो मेरो । रामबाबु गुरुङको ‘कबड्डी कबड्ी’मा सफलताको स्वाद चाखियो । त्यसपछि नेपाली फिल्म बनाउनुपर्छ भन्ने लाग्यो । त्यतिबेलै एउटा कन्सेप्ट आएको थियो । त्यसपछि रामबाबुको टिमसँग मिलेर ‘पुरानो ढुंगा’ बनाएको हुँ । नेपाली वा गुरुङ भन्नेले खासै असर पार्दैन । जहाँ पनि आफ्नो अभिव्यक्ति दिने हो । गुरुङ आए पनि गर्ने, नेपाली फिल्म आए पनि गर्ने । म हराएको छैन । यतै छु ।

पुरानै सूत्रमा आधारित भएर नेपाली फिल्म बनेकाले नचलेका हुन् ?
फिल्ममा जुनसुकै क्षेत्र, समुदाय, जाति, कुनाकन्दरा, जहाँसुकैको कथा होस्, केही फरक पर्दैन । चाहे अमेरिका, चाहे पश्चिम कर्णाली वा मधेशकै कुरा किन नहोस् । तर, ती कथाले हेर्न आउने दर्शकलाई छुनुपर्छ । हामी फिल्म बनाउन हतार गर्छौं । एकदमै आतुर हुन्छौँ । फिल्मको कथा कसरी ल्याउने ? कसरी बनाउने ? कस्तो प्रविधि प्रयोग गर्ने ? अनुसन्धान र छलफल गर्दैनौँ । यी कुराले गर्दा हाम्रा फिल्म कम चल्ने हुन् । धेरै पैसा खर्च गर्दैमा फिल्म राम्रो हुने भन्ने हुँदैन । फिल्मका कलाकार, प्रविधि, कथा, पटकथा सबै राम्रो हुनुपर्छ ।

तपाईंले अभिनय गरेका नयाँ फिल्म के–के आउँदै छन् ?
अनुप बराल निर्देशित ‘दोख’, दीपक रौनियारको ‘ह्वाइट सन’ र रामबाबु गुरुङको ‘पुरानो डुंगा’ केही समयमा बजारमा आउँदै छन् ।

 

Leave A Comment