–लक्ष्मण श्रेष्ठ
विक्रम संवत २०७२ ले नयाँ सालको घुम्टो राम्रोसँग उघार्न नपाउँदै भूकम्प आइदियो । वैशाख १२ गते १२ बज्नै लाग्दा आएको भूकम्पले जमिन हल्लायो । मानिसहरूको बासस्थान हल्लायो । जीवन हल्लायो । सामाजिक संरचना र राजनीतिक डिस्कोर्स पनि हल्लायो । यो कम्पन यतिमा मात्रै सीमित भइदिएन, नेपाली साहित्य बजार र पुस्तक प्रकाशनसम्म हल्लिन पुगे । जो अस्वाभाविक थिएन । तर, अग्रगति मानिसको प्रकृति हो । ऊ थामिएन । भत्किएका घरको ठाउँमा त्रिपालको भए पनि बास बनाउँदै गर्दा, टुक्रिएका मनहरूलाई समयको मलमपट्टीले शान्त बनाउँदै गर्दा नेपाली साहित्यले फेरि गति लिन थाल्यो । त्यसमाथि आइलागेको नाकाबन्दीले भारतमा छापिएर आउने किताबहरू सिमानामा रोकिए पनि अन्ततः नेपाली साहित्य बजार प्रकाशनको हिसाबले पोहोरभन्दा खासै पछि परेन । पछिल्ला वर्षमा जस्तै किताबहरू छापिए । बजारमा हल्लाखल्ला भयो । चर्चा–परिचर्चा, आलोचना, आरोप–प्रत्यारोपको शृंखलालाई ७.९ रेक्टर स्केलको भूकम्पले केही समय विश्राम दिए पनि रोक्न भने सकेन ।
पछिल्ला वर्षमा जस्तै बजारको हल्ला र बिक्रीको धेरै हिस्सा उपन्यासले नै लियो । प्रकाशन पनि उपन्यासकै धेरै देखियो । तर, यसपालि उपन्यासहरू दुर्घटना बोकेर आइपुगे । बजारमा नाम कमाएका र साहित्यिक बसाइहरूमा चर्चामा आउने उपन्यासकारहरू गम्भीर रूपमा दुर्घटित भए । दुर्घटनाको शीर्ष सुरुवात अमर न्यौपानेको उपन्यास ‘करोडौँ कस्तुरी’बाट भयो । बाल विधवाको गम्भीर प्रसंगलाई झिनो रूपमा उठाएर मदन पुरस्कार पाउन सफल ‘सेतो धरती’को स्वस्थ समीक्षा नहुनुको परिणाम न्यौपानेले दोस्रो उपन्यासमा भोग्नुप¥यो । सामाजिक संरचनाको जटिलता र यसको मर्मबोधमा कमजोर रहेको अघिल्लो उपन्यासको आवश्यक टिप्पणी गर्ने समालोचक नहुँदा उनले त्यही गल्ती दोस्रो उपन्यासमा दोहो¥याउन पुगे । तर, भन्ने गरिएजस्तै इतिहासको पुनरावृत्ति हास्यजनक हुन्छ । ‘करोडौँ कस्तुरी’मा उनले नै छायालेखन गरेको हरिवंश आचार्यको आत्मसंस्मरणको हुबहु पुनरावृत्ति दोहोरियो । यही दुर्घटना बुद्धिसागरको दोस्रो उपन्यास ‘फिरफिरे’ले पनि भोग्नुप¥यो । नस्टाल्जियाको एल्बमबाट स्मृतिका पानाहरू निकालेर फुलबुट्टा भरीकन प्रस्तुत गर्ने शैली ‘कर्णाली ब्लुज’सम्म नवीनताका कारणले सुन्दर थियो । तर, नस्टाल्जियाभित्र समाज हुन्छ भन्ने तŒवबोध हुन सकेन । ध.च. गोतामेको ‘घामका पाइलाहरू’मा ‘सवारी मेरो रेलैमा...’ बोलको गीतले बोकिल्याउने नस्टाल्जियासँगै समाज उधिनिएको छ भनेर उजिल्याउने समालोचकहरू नभएकैले हो सायद, बुद्धिसागरको निम्ति नस्टाल्जिया केवल जमिबस्ने पानीको कथामात्रै भयो । तर, समय र समाज त बगिरहने खोला पो हुन् त । दुर्घटनाको यही सिलसिलामा पंक्तिबद्ध हुन आइपुगे, हाम्रो समयका एक अर्का शिखर आख्यानकार नारायण ढकाल । अघिल्लो उपन्यास ‘प्रेतकल्प’मा राणा शासनको कालरात्रीभित्रको संघर्षलाई गम्भीर रूपमा उधिनेका ढकालले ‘वृषभ वध’मा पञ्चायतकालीन संघर्षको आख्यानीकरण गर्ने दह्रो प्रयास गरेकै हुन् । सधैँजस्तै इतिहासबोधकै फ्रेमबाट तत्कालीन समय निफन्न पनि खोजेकै हुन् । तर, थाहा छैन कुन मोहले हो, झिनो कथानक र कमजोर पात्रहरूकै फ्रेममा उनी ‘प्रेतकल्प’जति उचाइमा उठ्न सकेनन् । जब कि गम्भीर पाठक आफ्ना प्रिय लेखकहरूबाट नयाँ–नयाँ कृतिमा नयाँ–नयाँ सगरमाथा खोज्छ । आख्यानमा नाम कमाएका तीन उपन्यासकारहरूको दुर्घटना गम्भीर समस्या हो । समीक्षक राम लोहनी भन्छन्, ‘आख्यानमा स्थापित लेखकले आफ्नो साख जोगाउन सकेनन् । उनीहरूको सीमा देखिनु नेपाली साहित्यको भविष्यका लागि सुखद होइन ।’
तर, यी औसत वा दुर्घटनाको सिलसिलामा फरक मोड बनेर आइपुग्यो, कुमार नगरकोटीको ‘मिस्टिका’ । सर्रियल लेखन र कक्टेल शैलीले आफ्नो विशिष्ट नगरकोटियन स्टाइल बनाएका यी लेखकको पहिलो उपन्यास नेपाली आख्यान वृत्तमा अवश्य एक नवीन स्वाद हो । ‘सामाजिक यथार्थवादले ध्वस्त पा¥यो’ भन्ने नगरकोटीको लेखन दर्शन र कथ्यले समाजमा पार्ने प्रभावबारे अवश्य पनि लामो समयसम्म बहस छेडिरहनेछ । तर, स्वादका हिसाबले र प्रयोगको नवीनताले यो उपन्यासको आफ्नै स्थान रहेकोमा फरक मत नहोला । उपन्यासभित्रका दुई प्रसंग भने निकै चर्चित रहे । एक, दोस्रो उपन्यासमा उपन्यासकारको मृत्यु हुन्छ भन्ने सन्दर्भ पनि यथार्थ बन्नपुग्यो । अर्को, उपन्यासमा कल्पना गरिएको धरहराको अवसानलाई भूकम्पले चरितार्थ गरिदियो । यसबाहेक कृष्ण धरावासीका ‘ग्रेट फल्स’ र ‘रेड स्क्वायर’, अश्विनी कोइरालाको ‘जुकरबर्ग क्याफे’, निष्प्रभ सजीको ‘डार्लिङ हार्बर’, डा. निर्मल ज्ञवालीको ‘फ्रिडम टू डाई’, विष्णु भण्डारीको ‘पहेँलो घाम’ लगायत करिब दर्जनजति उपन्यासहरू चोकको चिया गफमा ताते र सेलाए । बजारमा हल्ला पिट्न सफल बज्रेशको ‘जुनेली’ पनि अघिल्लो उपन्यास ‘यायावर’को शृंखलाभन्दा बढी बन्न सकेन । लेखकको उचाइ बढेको पाइएन । कतिमा समीक्षकहरूको ध्यान पुगेन, कति त्यो योग्य नै बन्न सकेनन् । त्यस्तै चर्चित समीक्षक हरि अधिकारीले कृष्णप्रसाद भट्टराईको जीवनमा केन्द्रित भएर लेखेको उपन्यास ‘एक्लो नायक’ले उनका समीक्षाले जति बहस सिर्जना गर्न सकेन । यो वर्षले सम्भावना पनि बोकेको थियो । त्यो हो– अंग्रेजीभाषी नेपाली लेखकहरूको उदय । प्रणय रानाको ‘सिटी अफ ड्रिम्स’ नामक कथासंग्रह र शिवानी न्यौपानेको उपन्यास ‘क्रसिङ स्याडो’ प्रकाशनको घुम्टो खोलेर आइपुगे । त्यस्तै, खगेन्द्र संग्रौलाको पुनः अनुवादमा दोस्रो पटक नेपाली भाषामा किर्गिज उपन्यासकार चिंगिज आइतमातोभको पुरानो उपन्यास ‘प्रथम गुरु’को आगमन एक सुखद प्रसंग हो ।
समग्रमा यो वर्षका उपन्यासहरूले समाजबोध, इतिहासबोध र उद्देश्यमा स्पष्ट नहुँदा तथा कमजोर कथानक र पुनरावृत्तिका कारण कसरी दुर्घटनाको शिकार भइन्छ भन्ने सन्देश बोके । तर, विडम्बना उपन्यास प्रकाशनको यो लर्कोमा नारी उपन्यासकारहरूको उपस्थिति भने झण्डै शून्य बराबर रह्यो ।
लैंगिक उपस्थितिको यो मौनतालाई तोडिदिइन् सरिता तिवारीले, आफ्नो कवितासंग्रह ‘प्रश्नहरूको कारखाना’ मार्फत । तिवारीको कवितासंग्रह यो वर्षकै सबैभन्दा धेरै प्रश्न उठाइएको र आफैँले सबैभन्दा धेरै प्रश्नहरू सिर्जना गरेको कवितासंग्रह हो । लैंगिक विभेद र सीमान्तकृत समुदायको आवाजलाई मसिनोसँग सशक्त विम्बका माध्यमबाट उठाएर तिवारीले समाजको संरचनागत पुनःसंरचनाको डिस्कोर्समा आफूलाई होम्ने जोखिम गरिन् । हो, जोखिम किनभने यसका लागि अलि ठूलो आँट चाहिन्छ । त्यो आँट चन्द्र घिमिरेको ‘काठको बाकस’ र भूपीनको ‘सुप्लाको हवाइजहाज’मा पाइँदैन । बिनाआग्रह र पक्षधरताको कविताकर्म सुन्दर स्वैरकल्पना हुनसक्छ तर त्यो भ्रमभन्दा बढी हुँदैन । आफ्नो आग्रहलाई बलियोसँग राख्नु र तर्कले पुष्टि गर्नु कविको दायित्व हो । सबैलाई मीठो लाग्ने कविता लेख्छु भन्नु दुर्घटनापथमा बिनाब्रेक सवार हुनु हो । र, पक्षधरता लिनु प्रश्नको घेराबन्दीमा पर्नु हो । वर्षौंदेखि संरचनागत रूपमा पिँधमा पारिएकाको आवाज बोकेर तिवारी प्रश्नको चपेटामा परिन् । ती प्रश्नलाई समालोचक डा. अर्चना थापाले ‘प्रश्नहरूको तरंग’ शीर्षकीय समालोचनात्मक लेखमा यसरी जवाफ दिइन्– ‘यस संग्रह (प्रश्नहरूको कारखाना) का कविताहरू सायद पुरुष कविले लेखेको भए यी कठोर विम्बहरू अतिवादी कविता भनेर परिभाषित हुने थिएनन् । प्रचलित बहस ‘कलाकार’ र साहित्यकारहरूको लैंगिक परिचय हुँदैन’ भन्ने तर्कलाई स्वीवकार गर्न मन लाग्छ तर स्वीकार गर्दैमा लैंगिक विभेदको दृष्टिकोण समाजबाट स्वतः हट्छ त ?’ त्यस्तै, निभा शाहको कवितासंग्रह ‘मनसरा’ यो वर्षको अर्को उल्लेखनीय कविता कृति हो । देब्रे कित्तामा उभिएको सशक्त आवाज भएर हो वा बजार प्रवद्र्धन गर्ने विधि नपु¥याएर हो, यसले आवश्यक चर्चा भने पाएन । त्यस्तै, बुटवलमा रहेर कविता कर्ममा साधनारत उमेरले सत्तरीभन्दा माथिका अजम्बरध्वज खातीको कविता संग्रह ‘सरम हराएको शहर’ भने केही थान गतिला कविता हुँदाहुँदै पनि मोफसलको पीडा भोग्न बाध्य बन्यो ।
अघिल्लो वर्षजस्तो यस वर्ष भने पाठकहरूले आत्मसंस्मरणको नाममा आएका आत्मप्रशंसाको शिकार त्यतिसारो हुनु परेन । आत्मसंस्मरणको रूपमा रमेशनाथ पाण्डेको ‘राजनीति र कूटनीति’ विशेष चर्चामा आयो भने एक इमानदार चिकित्सकको संस्मरणको रूपमा डा. शंकर उप्रेतीको ‘जीवन एक सपना’ दर्ज भयो । एक समर्पित चिकित्सकका रूपमा उप्रेतीका सम्झनाहरू उल्लेखनीय छन् । त्यस्तै, सूचनाको संकलनको हिसाबले पाण्डेको पुस्तकको पनि आफ्नै स्थान छ । तर, कतिपय तथ्यगत त्रुटि र लेखन शैलीमा खेलबाडले किताबलाई शंकाको घेरामा पारिदिएको पक्कै हो । यस पुस्तकबारे एक कार्यक्रममा टिप्पणी गरेका समीक्षक राम लोहनीका अनुसार ‘पाण्डेको पुस्तक डायरीलाई सामान्य सुधार गरेर ल्याइएको रूपमा आयो । त्यसमाथि पर्याप्त काम भएको भए धेरै राम्रो हुने थियो । तथ्यको सत्यतालाई जाँचपडताल नगरिएकाले पाठकलाई भ्रम पैदा हुने, उद्धरण र सन्दर्भमा थुपै्र समस्या बोकेको पुस्तक बन्नपुग्यो ।’ यद्यपि नेपाल–भारत सम्बन्ध चिसो बनेको समयमा आएको यो पुस्तकले डिस्कोर्समा आफ्नो स्थान निर्माण गरेकै हो । त्यहीँनेर उभियो प्रशान्त झाको पुस्तक ‘गणतन्त्रको संघर्ष’ र कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’ । झाको पुस्तक पहिले नै अंग्रेजीमा प्रकाशित ‘ब्याटल फर रिपब्लिक’को उज्ज्वल प्रसाईंले गरेको नेपाली अनुवाद हो । यी दुई पुस्तक विपरीत धारका प्रवत्ता बनेर देखापरे । गौतमले भारतीय नाकाबन्दीलाई भूकम्पजस्तै मानवनिर्मित प्रकोपको रूपमा उल्लेख गरे । किताबको भूमिकामा भने प्रशान्त झाको पुस्तकले मधेश आन्दोलनमा भारतीय सद्भावलाई आफ्नै ढंगले पुष्टि गर्ने प्रयास ग¥यो । डिस्कोर्सको यो आयाममा नारायणमान बिजुक्छेको पुस्तक ‘नेपाल–भारत सम्बन्ध र भारत’लाई उभ्याउँदा अझ फराकिलो बहस बन्ला । नाकाबन्दीको समयमै पुनः प्रकाशन भएको नेमकिपाका अध्यक्ष बिजुक्छेको पुस्तकले मधेश वा क्षेत्रगत डिस्कोर्सलाई वर्गीय आँखाले हेर्नुपर्ने आग्रह राख्छ । तीसको दशकमा भारतीय पत्रिकाहरूमा प्रकाशित नेपाल तराई बारेका धारणाहरूको खण्डन गर्ने क्रममा तयार भएको यो पुस्तकको पुनः प्रकाशन सम्भवतः यही सन्दर्भमै गरिएको हो । निबन्धको लर्कोमा भने रेशम विरहीको ‘देब्रे आँखा’ चर्चामा आउने एक्लो पात्र बन्नपुग्यो । नेपाली वाम आन्दोलनको छुटेको कडीको पीडाको रूपमा यसले थप डिस्कोर्सको माग गर्ने सन्दर्भमा विरहीको निबन्धको आफ्नै स्थान छ ।
यो वर्षको अर्को विडम्बना साहित्यिक पत्रिकाहरूको असामयिक निधन पनि हो । बजारमा आएको थोरै समयमा विशिष्ट स्थान र चर्चा बटुल्न सफल ‘पाण्डुलिपि’ प्रकाशनको चर्चा गरिएको अंक पनि बजारमा नल्याई ‘कोमा’मा पुग्यो । यसका सम्पादक दीपक सापकोटा भन्छन्, ‘नेपालका साहित्यिक पत्रिकाको नियति नै हो– बन्द हुनु ।’ ‘पाण्डुलिपि’को नियति योभन्दा फरक हुन सकेन । यद्यपि, सापकोटाकै शब्द सापटी लिएर भन्दा ‘फरक कन्टेन्ट र विशेष प्याकेजिङ र साहित्यिकहरूका रुचिका विषय पस्कियो भने पत्रिका चल्छ भन्ने यसले देखायो ।’ उता, सरकारी लगानीमा निस्कने ‘गरिमा’को प्रकाशन निरन्तर हुन नसक्नु दुःखद पाटो हो ।
यो वर्ष केही नयाँ प्रकाशन गृहहरू पनि अस्तित्वमा आए । सामान्यतः नयाँ प्रकाशन गृहहरूको आगमनले बजारको प्रवृत्तिलाई हस्तक्षेप गर्ने र नयाँ शिरा सुरु गर्ने कल्पना गरिन्छ । तर, कुनै अमुक प्रकाशकले सिर्जना गरेको बजारको प्रकृतिलाई प्रवृत्तिगत रूपमै हस्तक्षेप गर्ने गरी प्रकाशन गृहहरूको आगमन भएन । पहिले नै खनिसकेको ग्राउन्डमा बिक्रीको फुटबल खेल्नेभन्दा बढी यी प्रकाशन संस्थाले गर्न सकेनन् । नयाँ कोटी र नयाँ खालका पुस्तकहरूको प्रकाशन भन्दा बजारमा चल्ने पुस्तक प्रवद्र्धनमै यी सीमित देखिए ।
र, सधैँजस्तै ‘बजारले सबथोक निर्धारण गर्छ, समीक्षकको धारणा पूर्वाग्रह हो’ भन्ने (कु) तर्क राख्दै यो वर्ष पनि प्रकाशन गृह र नाम चलेका लेखकहरूले ‘बेस्ट सेलर’ र ‘बेस्ट बुक’लाई पयार्यवाची बनाउने प्रयत्न जारी राखे ।
Leave A Comment