‘तिलहरी बेचेर गीत रेकर्ड गरेँ’

बिहिबार, १६ भदौ २०७३, १२ : ५४ शुक्रवार , Kathmandu
‘तिलहरी बेचेर गीत रेकर्ड गरेँ’

टीका पुन लोकदोहोरीकी चर्चित गायिकामध्ये पर्छिन् । उनले हालसम्म ४ हजारभन्दा बढी गीत गाइसकेकी छिन् । विशेष गरी देउडा, टप्पा, हाक्पारे जस्ता ठेट गीतमा उनको स्वर धेरै सुन्न पाइन्छ  । पहिलोपल्ट तीज गीत ‘जलेसी–जमुना’बाटै गायन क्षेत्रमा उदाएकी टीकासँग डिबी खड्का र अम्मर जिसीले गरेको कुराकानीः

यसपालि तीजमा कतिवटा गीत गाउनुभयो ?
१७ वटा ।
अहिलेसम्म जम्माजम्मी कतिवटा गीत गाइयो ?
चार हजार हाराहारी पुगे । पहिले नाम डायरीमा टिपेर राख्ने गर्थें, अहिले गीत नै राख्ने गरेकी छु ।
तपाईंले गायनमा उचाइ लिएको पनि तीज गीतबाटै हो, हैन ?
हो । तीज गीत ‘जलेसी जमुना’बाट म गायिकाका रूपमा चिनिन थालेकी हुँ । यो गीत निकै चर्चित भयो ।  अहिले पनि स्टेजमा यो गीतको डिमान्ड हुन्छ ।
गाउनकै लागि सुर्खेतबाट काठमाडौँ आउनुभएको हो ?
बाल्यकालदेखि नै गाउनेनाच्नेमा एकदमै रुचि थियो । २०५७ सालमा स्कुल पढ्दा काठमाडौं आएर कल्चरल गीत गाउने अवसर मिल्यो । त्यसपछि सुर्खेतमै रहेर गीतसंगीतबारे धेरै सिक्न पाएँ । मलाई गयिकाका रूपमा जन्माएकै सुर्खेतको वागिना समूहले हो ।

गीत गाउन काठमाडौँ आउँदा सुरुमा यहाँ कस्तो प्रतिक्रिया पाउनुभयो ?
तीन महिनाकी नानी च्यापेर यहाँ आएकी मैले राम्रा–नराम्रा सबै भोगेँ । सुर्खेतबाट आएको सुन्दा केहीले सुरुमै सकारात्मक बुझ्नुभयो । ‘सुरको खेत’का रूपमा सुर्खेतलाई चिन्ने मान्छेहरु पनि भेटेँ । यस्तैमा दोहोरी साँझमा काम खोज्दै गएँ । लिपस्टिक लाउन लाज मान्ने मलाई त्यहाँ कहाँ सजिलै काम दिन्थे ? त्यहाँ त सीधै बिजनेसका दृष्टिले हेरिँदो रहेछ । राम्री हुनुपर्ने । गेस्टलाई मनपर्ने खाले । रिझाउने–भिजाउने चाहिँदो रहेछ । पाउडर लाउनुपर्छ, लिपस्टिक लाउनुपर्छ भन्ने । सिम्पल भएर त काम छैन भन्न थाले । बल्लतल्ल ३५ सय रुपैयाँमा काम पाएँ । त्यतिबेला मलाई दोहोरीमा सवालजवाफ आउँदैनथ्यो । सिंगल गीत मात्र गाउन सक्थेँ ।
दोहोरी साँझमा कति वर्ष गाउनुभयो ?
छ वर्ष गाएँ । देशविदेशतिरबाट कार्यक्रममा बोलाउन थालेपछि व्यस्त हुन थालियो । त्यसपछि दोहोरी साँझमा जान भ्याइएन ।
दोहोरी साँझमा गाउनेलाई उतिबेला गलत नजरले हेरिन्थ्यो । तपाईंको भोगाइ के रह्यो ?
मेरो भोगाइ पनि उस्तै त हो । यो सबै आफूमा भर पर्ने कुरा रहेछ । सोच नै गलत भए घरभित्र ताला लाएर राखेको मान्छे पनि बिग्रिन्छ । मलाई पनि कतिले नराम्रो भने, सोचे । मैले गलतलाई गलत भनेँ । कसैको वास्ता गरिनँ । म त दोहोरी साँझलाई मन्दिर ठान्छु । मन्दिरमा जस्ता पनि भक्त जान सक्छन् । अरूलाई वास्ता नगरी आफ्नो विश्वासले प्रार्थना गर्ने हो । बरु करिअरको सुरुवातमै मैले नमिठो अनुभव भोगेँ ।
कस्तो नमीठो ?
आफ्नै लगानीमा गीत निकाल्न खोजेँ, ‘जलेसी जमुना’ । तर, पुग्ने पैसा थिएन । एकजना दाइले सहयोग गर्छु भन्नुभयो । गीत रेकर्ड भयो । भिडियोको सुटिङ स्पट र डेट पनि फाइनल भयो । तर, अघिल्लो दिन त्यो दाइले नसोचेको शर्त राख्नुभयो । म त छाँगाबाट खसेँ । सीधै भनिदिएँ, ‘तपाईंको सहयोग चाहिँदैन ।’ सुटिङ युनिटले फोन गरेर अत्याउन थाल्यो । पुग्ने पैसा नभएपछि म त बिलखबन्दमा परेँ । दोहोरी साँझमा पाएको टिप्स फाइनान्समा जम्मा गर्थें । ३२ हजार जम्मा भएको थियो । भिडियोको ५५ हजार मागिएको थियो । बिहेमा पाएको तिलहरी बेचेर पैसा पु¥याएँ । ७० हजार जति खर्च लाग्यो । गीत सोचेको भन्दा धेरै चल्यो । तर, दुःखको कुरा, कम्पनीले एक पैसा दिएन । गुनासो छैन । किनभने, त्यही गीतले मलाई धेरैमाझ चिनायो ।   
त्यसपछि गायनमा व्यस्त हुन थाल्नुभयो ?
हो । त्यही गीतपछि मलाई रेकर्डिङमा धेरै अफर आउन थाल्यो । सुरुसुरुमा धेरैले बी साइडमै चान्स दिनुभयो । पछि एल्बमको सुरुमै गाउने मौका जुर्न थाल्यो । किरणबाबु पुनसँगको ‘तिम्रै लागि मर्न बाँकी छ’ बोलको दोहोरी धेरै रुचाइयो । लगत्तै मिलन लामासँग गाएको ‘लालुपाते फूल छैन रूख मात्रै’ बजारमा छायो । म त हरेक बिहान गीत चलोस् भनेर प्रार्थना पनि गर्थें ।
व्यस्त भएका बेला एक दिनमा कतिवटासम्म गीत रेकर्ड गरियो ?  
एक दिनमा सात वटासम्म गाएँ ।
 
तीजमा व्रत बस्नुहुन्छ ?
स्वास्थ्यले साथ दिएसम्म बस्छु । तीजका बेला विदेशमा आयोजना हुने कार्यक्रमले गाउँ नगएको धेरै भयो । यसपालिको तीज गाउँघरमै गाउँदै, रमाउँदै मनाउने योजना छ ।  

विदेशका स्टेजमा गाउँदा कस्ता गीत धेरै रुचाइन्छ ?

टिपिकल खालका गीत धेरै रुचाउनुहुन्छ । अझ मादलको तालमा नाच्न खोज्नुहुन्छ । देश छाडेपछि देशको माया ज्यादा लाग्दो रहेछ क्यारे । गाउँघरसँग जोडिएका टिपिकल भाका विदेशमा धेरै रुचाइन्छन् । नेपालभित्रका कार्यक्रममा त चलेको गीत भए पुग्यो । शब्द, भाका कसैलाई मतलब छैन ।

 

Leave A Comment