‘फाइनल हुन बाँकी छ’

शुक्रबार, १७ भदौ २०७३, १० : ५५ शुक्रवार , Kathmandu
‘फाइनल हुन बाँकी छ’

गायिका कोमल वलीले अहिलेसम्म ३५ वटा तीज गीत गाएकी छिन् । ‘पोइ नपाएको’ गुनासोसहितका तीज गीत धेरै गाएर चर्चा बटुलेकी उनले यसपटक ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटि हो’ गाएकी छिन् । २०५४ सालमा आफ्नै आमा दीपा वलीको शब्द रहेको ‘मेरी आमा हुन्थिन् भने’ बोलको गीत उनको पहिलो तीज गीत हो । सञ्चारकर्मीसमेत रहेकी उनीसँग अम्मर जिसीले तीज संवाद गरेका छन् ।

तीजका बेला निकै व्यस्त हुनुहुन्छ, हैन ?
एकदम व्यस्त हुन्छु । जागिर पनि खानैप¥यो । देशविदेशबाट आएका निम्ता पनि स्विकार्नैप¥यो । आफ्नो घरमा तीज मनाउन नपाएको धेरै वर्ष भइसक्यो । तीज कार्यक्रमकै लागि अस्ट्रेलिया गएर दर खाएर फर्कें । फेरि मलेसिया जाँदै छु । यसपालिको तीज वैदेशिक रोजगारीमा गएका नेपालीहरूसँग मनाइन्छ ।
यसपालि बिहेको तयारी पनि छ भन्ने सुनिन्छ ?
‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटि हो’ बोलको गीत सुनेर धेरैले ‘कोमलले यसपालि बिहे गर्छे’ भन्ने अर्थमा बुझ्नुभयो । यसमा केही सत्यता पनि छ । तर, बिहे नहुने सम्भावना पनि रहन्छ । यदि भएन नै भने पनि अर्को वर्षदेखि पोइ शब्द नराखेर गीत गाउँला नि । धेरैतिरबाट बिहेका प्रस्ताव आएका छन् । ‘फाइनल’ हुन बाँकी छ ।

आफूलाई महादेवको ठूलो भक्त भन्नुहुन्छ । महादेवले बिहेमा साथ नदिएका हुन् ?
बिचरा, महादेवको यसमा कुनै दोष छैन । यसको पूर्ण जिम्मेवारी म आफैँ लिन्छु । उहाँले त पठाइदिइरहनुभएकै छ । प्रस्तावहरू यति धेरै आउनुमा महादेवकै ठूलो हात छ ।
व्रत बस्नुहुन्छ ?
आधा दिन मात्र भए पनि तीजमा व्रत बस्ने गरेकी छु । कार्यक्रमहरूमा दौडधुप हुने भएकाले पानी, फलफूल, दूध खान्छु । महादेवको पूजा मन खोलेर गर्छु । शिवलिंग सधँै बोकेकै हुन्छु ।  
अहिलेसम्म खाएका दरमध्ये कहाँको स्मरणीय लाग्छ ?
घरमा आमाले बनाएको दर नै सधँै याद गर्छु । स्रोता, दर्शकको माया मिसिएको दर पनि साह्रै स्वादिलो हुन्छ । शहरतिर अचेलका दरहरू ‘क्वालिटीलेस’ हुन्छन् । खानै डर लाग्छ । बरु विदेशतिर नेपाली ‘टिपिकल आइटम’ खान पाइन्छ । अस्ति अस्ट्रेलियामा चौरासी व्यञ्जन नै तयार पारिएको थियो । खीर धेरै रुचाउँछु ।

 

Leave A Comment