ज्यान रहे न व्रत !

शनिबार, १८ भदौ २०७३, ०९ : ५४ प्रवीण ढकाल , Kathmandu
ज्यान रहे न व्रत !

नेपाली हिन्दू महिलाहरूको ठूलो पर्व हो, तीज । तीजको दिन धेरै महिला पानीसमेत नखाई व्रत बस्छन् । दिनभरि पानीसमेत नखाई कठोर व्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् । तीज मनाउने नाममा महिलाले आफ्नो रोगको समेत पर्वाह नगरी कठोर निर्जल व्रत बस्नु सरासर शरीरमाथि खतरा निम्त्याउनु हो ।
भोको ज्यानले थाकेको शरीर, त्यसमाथि पानीसमेत नपिउने र नाचगानमा सरिक हुँदा धेरै महिला तीजका दिन गम्भीर अवस्थामा अस्पतालका शड्ढयामा पुग्ने गरेका वीर अस्पतालका फिजिसियन डा. भूपेन्द्र बस्नेत बताउँछन् । उनका अनुसार झन् मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वासको दीर्घ समस्या भएकाहरूमा त निर्जल व्रत बस्नु मृत्युलाई बोलाउनुसरह हो । उनी महिलाहरू यसमा सचेत रहनुपर्ने बताउँदै भन्छन्, ‘ज्यान रहे पो व्रत !’  तीजको व्रतमा स्वास्थ्यलाई ख्याल गर्ने महिलाले के गर्नु हुन्छ, के गर्नु हुँदैन ? चिकित्सकहरूले दिएका सुझाव यस्ता छन् ।
यसकारण खानुपर्छ पानी
–    मानव शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानी चाहिन्छ । व्रत बसेको समयमा अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र लवण बढी खेर जाने भएकाले हाम्रो शरीरलाई अझ बढी पानी चाहिन्छ । त्यसकारण तीजको व्रतमा अन्न नखाए पनि शुद्ध पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम हुन्छ ।
–    पानी नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका हुन्छ । यही कारण तीजका दिन महिलाहरू नाच्दानाच्दै वा मन्दिरमा पूजाआजाका क्रममा लाइनमा बस्दा मुर्छा पर्ने गर्छन् ।
–    पानी नखाई व्रत बस्दा शरीरमा पानीको मात्र कम हुन गई डिहाइड्रेसन हुन्छ । जसका कारण कमजोर भई बेहोस हुने समस्या हुन्छ ।
–    मधुमेह तथा पहिलेदेखि नै कमजोर र दीर्घरोग भएकाहरूले पानी नपिउनु भनेको ठूलो जोखिम निम्त्याउनु हो ।

मुर्छा परे के गर्ने ?
सर्बप्रथम त महिलालाई शीतल र हावा राम्ररी बहने स्थानमा लगेर राख्नुपर्छ । त्यसपछि उनलाई हम्कँदै शीतलता प्रदान गर्नुपर्छ । सामान्य होस आएपछि तत्कालै पानी, ग्लुकोज पानी वा जीवनजल दिनुपर्ने हुन्छ । दीर्घरोगी तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका महिला बेहोस भए पानी तथा ग्लुकोज सेवन गर्न दिँदै तुरुन्तै अस्पताल लैजानुपर्छ ।
यी महिलाले व्रत नबसेकै राम्रो
गर्भवती, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका वा अन्य कुनै दीर्घरोग लागेका महिलाले व्रत नबसेकै राम्रो हुन्छ । वृद्धावस्थाका महिलाले समेत सकेसम्म व्रत नबस्दा राम्रो हुन्छ । यदि बस्नैप¥यो भने पनि फलफूल र पानी प्रशस्त मात्रामा खानुपर्छ ।

व्रतमा फलफूल खानैपर्छ  
मानिसलाई दैनिक दुई हजारभन्दा बढी क्यालोरी शक्ति चाहिन्छ । उक्त शक्ति खानाबाट प्राप्त हुन्छ । खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन । यस्तो अवस्थामा उक्त शक्ति शरीरमा सञ्चित बोसोबाट प्राप्त हुन्छ । यस्तो बेलामा प्रोटिन र केही भिटामिनको कमी हुन सक्छ । खाना नखाँदा उक्त शक्ति प्राप्त गर्न नसक्ने भएकाले शरिर कमजोर हुँदै समस्या निम्तिन्छ । त्यसकारण व्रतका दिनमा अन्न वा खाद्यान्न सेवन नगरे पनि फलफूल भने सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ ।

सहवास गर्नु हुँदैन
व्रतको समयमा धार्मिकदेखि लिएर व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले पनि सहवास गर्नु राम्रो हुँदैन । उपवासको समयमा महिला हुन् वा पुरुष, दुवै जना शारीरिक तथा मानसिक रूपमा कमजोर हुन्छन् । महिलाहरूले पानी पनि नखाई व्रत बसेका कारण शरीरको शक्ति धेरै खर्च भएर निकै कमजोर भइसकेका हुन्छन् । शरीरमा बाहिरबाट शक्ति पनि नजाने र भित्र भएको शक्तिले नै लामो समयसम्म काम गरिरहेको समयमा सहवास गर्न खोज्यो भने त्यो सहवास पीडादायी बन्नसक्छ । सहवासको समयमा शरीरबाट शक्ति खर्च हुने भएकाले उपवासको समयमा सहवास बेफाइदाजनक हुन्छ । सहवासका लागि दुवैजना शारीरिक र मानसिक रूपमा तयार छन् भने त्यस्तो जोडीले सदैव यौन आनन्द प्राप्त गर्न सक्छन् । तर, उपवासका समयमा महिला शारीरिक र मानसिक दुवै रूपमा सहवासका लागि तयार हुँदैनन् । सम्भोग भनेको शारीरिक तथा मानसिक उत्तेजनाको अनुभव गर्नु हो । यौन समागमलाई अत्यन्त आनन्ददायक बनाउन पति–पत्नी दुवैले एकअर्काको प्रतिक्रिया तथा आवश्यकता बुझेर सहवास गर्नाले सम्बन्ध सुमधुर बन्दछ ।
दरमा के खाने, के नखाने ?
व्रतको अघिल्लो दिन बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाने तर भोलिपल्ट केही नखाँदा पेटको समस्या देखिनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा रहन्छ ।
दर बनाउनुअघि तेल, मसला आदिको गुणस्तरमा ध्यान पु¥याउनुपर्ने हुन्छ । बजारबाट खरिद गरिने मिठाईमा विशेष ध्यान दिनुपर्छ । पछिल्ला दिनमा मिठाईलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रङ तथा प्रिजर्भेटिभ प्रयोग गरिएका हुन्छन् । यस्ता अखाद्य रङ तथा केमिसकल मिसिएका मिठाईले पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङलगायत समस्या ल्याउँछन् ।

दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु र व्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकताअनुसार फलफूल र पानी खानु राम्रो हुन्छ ।

 

Leave A Comment