पैसा नहुनेको तीज खल्लो

शनिबार, १८ भदौ २०७३, १० : १७ दिलीप पौडेल , Kathmandu
पैसा नहुनेको तीज खल्लो

काठमाडौँ, बागबजारको भित्री गल्लीमा बस्ने दोलखाकी धनमाया झिरिङलाई जतिजति तीज नजिकिँदै छ , उतिउति पीडा बल्झिँदै छ । १० वर्षअघि काठमाडौँ झरेर सडकपेटीमा नांग्लोमा व्यापार गर्दै आएकी झिरिङलाई चाडबाड नआए हुन्थ्यो भन्ने लाग्छ । कारण, सबैले यही मौकामा गरगहना, नयाँ लुगा लगाउँछन्, मीठोमसिनो खान्छन्, रंगरमाइलो गर्छन् । तर, उनलाई बिहानबेलुकाको गर्जो टार्न हम्मे छ ।
त्यहीमाथि अचाक्ली बढेको महँगीले निम्न आम्दानी भएकी झिरिङलाई मात्र होइन सामान्य आम्दानी हुनेलाई पनि गाह्रो छ । हुनेखाने उच्च आम्दानी भएका महिलाहरूले हप्तौँअघिदेखि होटल, प्यार्टी प्यालेसमा तीजको दर खाइरहे पनि मध्मम र निम्न वर्गीय महिलालाई तीजमा आफ्ना चेलिबेटीलाई घरमा बोलाएर दर खुवाउन कठिन छ ।
बजार छोइ नसक्नु भएको छ । तीज परिकार खाने चाड हो । अचार खान प्रयोग हुने धनियाँ दुई÷तीन त्यान्द्राकै १० रुपैयाँ । कागती गोटाकै १० । खुल्ला बजारमा हरियो तरकारी प्रायःजसो पाउकै (दुई सय ग्राम) २०÷२५ रुपैयाँ । घिउ नौ सय रुपैयाँ । चिनी किलोकै ८५देखि ९० रुपैयाँ । मासु खसीको ८ सय ५०, कुखुरा ३सय ५० रुपैयाँ छ । बिक्रेताले धेरै मुनाफा राख्दा उपभोक्ता ठगिएका छन् ।
भाउ अचाक्ली बढेकाले निम्न आम्दानी भएकालाई त पिरलेकै छ । मध्यम वर्गीय परिवारलाई पनि खर्च व्यवस्थापन गर्न हम्मे छ । ‘महँगीले चेलीबेटी र साथीभाइलाई बोलाएर दर खुवाउन सक्ने अवस्था छैन,’ बैंकमा काम गर्ने प्रतिभा डल्लाकोटीले भनिन्, ‘आफ्नो दैनिक खर्च चलाउन हम्मे परेको छ । मूल्यवृद्धिले समाजअनुसार चल्न र इज्जत जोगाउनै कठिन भो ।’
सुनको भाउ बढेकाले अघिल्लो वर्षको तुलनामा सुनका गहनाको बिक्री कम भएको सयपत्री ज्वेलर्सकी ज्योत्सना श्रेष्ठले बताइन् । ‘सुनको भाउ बढेकाले यो वर्ष पहिलाजस्तो किनबेच छैन,’ उनले भनिन् ।
महँगी बढेपछि सरकारले दसैँतिहारमा उपभोक्तालाई राहत दिन ग्याससहित दैनिक उपभोग्य वस्तुमा छुट दिने निर्णय गरेको छ । चाडपर्वमा उपहारस्वरूप ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ, १५ थरीका चामल र चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, घिउ किलोमा १० रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । सुपथ मूल्य पसलमार्फत सस्तो मूल्यमा चामल, घिउ, तेल, नुन, चिनी, पनिर, खसी, बोका, च्यांग्रामा छुट दिन व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । सरकारी स्वामित्वका संस्थानसहित उपत्यकाका करिब पाँच् सय खुद्रा पसलबाट तोकिएको छुटमा सामान किन्ने व्यवस्था मिलाउने तयारी छ । असोज १ देखि कार्तिक २१ गतेसम्म अहिलेको बजार भाउभन्दा सस्तोमा सामान उपलब्ध गराउने व्यवस्था मिलाउने जनाएको छ । मन्त्रालयले खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ, दुग्ध विकास संस्थान र आयल निगमलाई यस्तो निर्देशन दिएको हो ।

Leave A Comment