‘बजारको कब्जामा तीज’

शनिबार, १८ भदौ २०७३, ०२ : ५६ शुक्रवार , Kathmandu
‘बजारको कब्जामा तीज’

साहित्कार तथा चिन्तक आहुति समाजशास्त्र, इतिहास र संस्कृतिमा गहिरो अभिरुचि राख्छन् । उनले तीज पर्वका विभिन्न आयाममाथि टिप्पणी गरेका छन्।

भारतको छत्तिसगढी भाषामा ‘तीजा’ शब्द छ । त्यही शब्द नेपालमा आउँदा ‘तीज’ भयो । त्यो भाषामा तीजाको अर्थ साउन महिना या वर्षा ऋतुमा मात्र निस्कने एक प्रकारको किरा हो । यसलाई नेपालमा तीज किरा र मकै किरा पनि भन्छन् । र, अर्को शब्द पनि छ–हरितालिका । हरित र आलिका जोडिएर हरितालिका भयो । यसले हरियो मौसमको उत्सव भन्ने अर्थ दिन्छ ।

यो पर्वलाई महिलामैत्री भनिन्छ । किन भनेको होला ? यसका दुइटा पक्ष देखिन्छन् । असार–साउन भनेपछि खेतीपातीको महिना बुझिन्छ । यतिबेला महिलाले सबैभन्दा बढी काम र श्रम गर्ने भएकाले यसलाई महिलासँग जोडिएको हुनसक्छ । दोस्रो चाहिँ (तथापि यसमा वैज्ञानिक अध्ययन भएको छैन), दक्षिण एसियाको जो समशीतोष्ण वातावरण छ, त्यहाँ साउन र भदौको मौसममा रजस्वला नभएका महिलाको अलि बढी रजस्वला सुरु हुने महिना मानिन्छ । त्योसँग जोडेर पनि तीजलाई महिलामैत्री भनिएको हुनसक्छ ।

साउन र भदौ महिना भन्नेबित्तिकै झरी र हरियो भन्ने कुरा आउँछन् । यो तीज भनेको पनि हरित उत्सव हो । यो याममा अक्सिजन पर्याप्त हुन्छ, पानी पनि पर्याप्त हुन्छ, जो जीवनका आवश्यकता हुन् । त्यसकारण हरित मौसमका रूपमा यो पर्व सुरु भएको देखिन्छ ।
मूलतः यो पर्व उत्तर भारत र नेपालमा मनाइन्छ । स्वाभाविक रूपमा कुनै पनि पर्वले धर्मको आकार ग्रहण गरिसकेपछि त्यसलाई जनसमुदायहरूको आफ्नो श्रमसँग, प्राकृतिक क्रियासँग वा आफ्नो विश्वाससँग जोडेर धर्मकरण गर्छन् । त्यसैले यो पर्वलाई पनि महादेव–पार्वतीको कथासँग जोडेर लिंगपूजातिर लगेको बुझिन्छ । महादेव–पार्वतीको कथासँग तीजको कुनै सम्बन्ध छैन । धार्मिक रूपमा यसलाई जोडिएको मात्र हो । प्रत्येक कथालाई, प्रत्येक परम्परालाई धर्मकरण गर्ने धर्मको जो राजनीति हुन्छ, त्यसभित्र परेर नै हरित पर्व र तीज किरा अर्थात मौसमको कुरालाई पार्वतीको तपस्यासँग लगेर जोडियो र यो हिन्दूहरूको पर्व बन्न पुग्यो ।
०००
नेपाली समाजमा पहिले पहाडमा खस–आर्य समुदायका मान्छेले मात्र यो पर्व मनाउँथे । यो पर्व मात्र एउटा यस्तो पर्व हो, जहाँ माइतीले चेलीलाई सम्झन्छ । खस–आर्यभित्र विवाह गरेर दिइसकेपछि चेलीलाई माइतीले सम्झिनुपर्ने कुनै तर्क छैन, कुनै प्रथा छैन र कुनै जिम्मेवारी पनि छैन । तीजमा मात्र माइतीले सम्झिने हो । त्यस्तो किन होला ? भनेर सोच्दा चाहिँ स्वाभाविक रूपमा कृषि पेशामा महिलाहरू अलि बढी नै काम गर्ने र थाक्ने भएकाले त्यो बेला माइतीको मन पलाएको हुनसक्छ । नत्र त माइती सबैभन्दा कठोर भएको समुदाय नै खस–आर्य हो । यो पर्व नेपालमा ‘मारे पाप र पाले पुण्य’ भनेर फालिदिने माइतीको पनि मन पलाएर बोलाएर एक छाक खुवाउने पर्वको रूपमा देखिन्थ्यो । सामान्य नाचगान देखिन्थे ।  मन्दिर जाने, दर खाने, ब्रत बस्नेसम्मको स्तरमा थियो यो पर्व ।

मूलतः नेपालमा जब १९८० पछि र विशेषतः १९९० पछि संसारभरि भूमण्डलीकरण र नवउदारवादको अर्थनीति सुरु भयो, त्यसपछि नेपालमा मात्र नभएर संसारभरिका सांस्कृतिक र धार्मिक गतिविधिलाई उपभोक्तावादी बनाउने गुरुयोजनाअन्तर्गत चलाउन थालियो । यही क्रममा तीज पनि आयो । यसले राजनीतिक पार्टीहरूलाई पनि लपेटमा ल्याएको छ । अब व्यापारीहरू त लाग्ने नै भए । तीज त्यसपछि उपभोक्तावादी चाड बन्यो । सबभन्दा बढी गहना प्रदर्शन गर्ने, सबभन्दा बढी खाने, सबभन्दा बढी लुगा देखाउने र एक महिनाअघि देखि नै समय बढी खर्च गर्ने चाड बन्यो यो । त्यति नै बेला नवउदारवादी अर्थनीतिका कारण नेपालमा मध्यमवर्गीय एउटा नोकरशाही वर्ग देखाप¥यो । उसलाई फास्टफुड मन पर्ने, बेलुका गएर कतै खानुपर्ने ! फर्निचर उद्योग, बियरका कारखाना, रक्सीका ब्रान्डहरू थपिँदै गए । यसरी उपभोक्तावाद विस्तार भयो । त्यसको प्रभावमा अहिले तीजसँगै नेपालका सबै पर्व तानिएका छन् । संस्कृति र प्रचलनको स्तरमा पर्व मनाउने कुरा त ठीकै छ । त्यसभित्रका धार्मिक चिजहरूलाई कटौती गर्दै जाने र विशुद्ध सांस्कृतिक रूप दिने त्यो अर्कै कुरा हो ।
अहिले समाजका निम्ति एउटा नयाँ कलेवर थपिएको छ– संस्कृति जोगाउने कलेवर । यो कलेवरभित्र उपभोक्तावादलाई व्यवस्थित ढंगले बजारीकरणतिर लगिँदैछ । नेपाली समाजका निम्ति यो प्रवृत्ति निकै नै घातक छ ।

बजारको कब्जामा नेपालका सांस्कृतिक पर्वहरू गइसके । अब कति जान दिने भन्ने मात्र हो । व्यापारीले एक वर्षअघिदेखि नै कति किलो के ल्याउने भन्ने कुराको हिसाबकिताब गर्न थालिसके । त्यसका लागि पत्रिकामा कति विज्ञापन दिने, टेलिभिजनमा कुन विज्ञापन दिने, कुन हिरोइनलाई कुन ठाउँमा ल्याएर फोटा छापिदिनेसम्म सबै व्यवस्थित हुन थालिसक्यो । मान्छेको मानसिकतै किनिसकियो ।
०००

अब नेपालको राजनीतिक आन्दोलनको कुरा गरौँ । यहाँका राजनीतिक आन्दोलनहरू धार्मिक र सांस्कृतिक पर्वबारे सधैँभरि ‘कन्फ्युजन’मा छन् । म सम्बन्धित कम्युनिस्ट आन्दोलनको कुरा गर्ने हो भने यो पनि अन्योलमा छ । योसँग पनि ठोस नीति छैन । सांस्कृतिक पर्वलाई उपयोग गर्नुपर्छ भन्ने नीति त छ, तर उपयोग कसरी गर्ने ? त्यो ठीक ढंगले भयो कि भएन ? भन्ने छैन । कम्युनिस्ट पार्टीका महिला संगठनहरूको आधिकारिक ब्यानर राखेर त्यहाँ चाहिँ हिन्दू संस्कृतिभित्र नभएका आफ्ना पार्टी सदस्यलाई पनि अनुशासन लगाएर ल्याएर तीजमा नचाउन मिल्छ कि मिल्दैन ? त्यो त भौतिकवादी पनि भएन, धर्मनिरपेक्षवादी पनि भएन । त्यो त एकधर्मवादी भयो । हो, हिन्दू संगठनहरूले वा त्यो पर्व मनाउन चाहने अरू समुदायले कुनै कार्यक्रम गर्छन् भने त्यहाँ धर्मनिरपेक्षवाद या भौतिकवाद मान्ने पार्टीका नेताहरू अतिथि भएर जान सक्छन्, शुभकामना दिन सक्छन् ।

कि त तीज मनाएजसरी  इद पनि मनाउनुप¥यो, आधिकारिक संगठनको ब्यानर राखेर । साकेला पनि त मनाउनुप¥यो नि महिला संगठनले । त्यहाँ गएर नाच्नुप¥यो । एउटै पार्टीभित्र पनि साकेला चाहिँ राई वा लिम्बू संगठनले मात्र मनाउनुपर्ने, इद मुस्लिम समुदायले मात्र मनाउनुपर्ने तर तीजमा चाहिँ सबै महिला आउनुपर्ने ? यसले त के प्रष्ट पार्छ भने धर्मनिरपेक्षवादको स्तरमा पनि नेपालको राजनीतिक आन्दोलन सांस्कृतिक पर्वहरूको समूहमा पुगेका छैनन् । र, यो ब्लन्डर भइरहेको छ । यो एकस्तरको अपराधै हो ।

त्यसो भए हामीले लिनुपर्ने नीति चाहिँ के हो त? पहिलो कुरा, हाम्रा अधिकांश सांस्कृतिक पर्वलाई कुनै न कुनै धर्मले आफ्नो लपेटमा लिएको छ । कुनैकुनै घोडेजात्रा जस्तो अझै स्वतन्त्र पनि छन् । नत्र भने अधिकांश पर्वलाई धर्मको लपेटमा उनीहरूले लिइसकेका छन् । त्यसैले हामी विज्ञानमा विश्वास गर्ने मान्छेहरूको पहिलो काम भनेको प्रत्येक पर्वभित्र रहेका धार्मिक पक्षहरूलाई अलग गरिदिने र सांस्कृतिक कुरालाई मात्र मान्नका निम्ति आम समाजलाई प्रेरित गर्ने हो । दोस्रो कुरा चाहिँ, हाम्रो आफ्नो इतिहासमा नै त्यस्ता महान काम, महान परिवर्तन भएका छन् । ती पर्वलाई राजनीतिक नभएर सांस्कृतिक पर्वका रूपमा लानुप¥यो । जस्तो कि महादेव पार्वतीको कुरा गर्नुभन्दा २००७ सालको परिवर्तनको कुरा त हाम्रै जीवनको हो नि त । महिषासुर वधको कुराभन्दा गणतन्त्र आउनु त हाम्रै उमेरको कुरा हो नि । त्यो त झन् जीवन्त र महान हुनुपर्ने होला नि त । तर, हाम्रो समस्या कहाँनेर छ भने हामी मजदुर दिवस त मनाउँछौँ तर त्यसलाई चाडजसरी मनाउँदैनौँ । हुलचाल जसरी मनाउँछौँ । दिनभरि वैशाखको टन्टलापुर घाममा सेकिएर बच्चाबच्चीसहित डेढ घण्टा जुलुस निकालेर थकित भएर बेलुका खाना पकाएर खान नसक्ने अवस्थामा घर पुग्छौँ । अनि सांस्कृतिक पर्व हुन्छ त त्यो ? मे दिवसका दिन आफ्ना बिहे गरेका दुई बहिनीलाई बोलाएर एक छाक खाना किन नखुवाउने ? साथीभाइलाई बोलाएर मीठोमसिनो किन नखुवाउने ? प्रत्येक पर्वलाई तपाईं जनस्तरमा लान चाहनुहुन्छ भने त्यसलाई खानपिनसँग जोड्नुपर्छ । खानपिनविना दुनियाँ चल्दैन । नखाईकन हाँसेको मीठो पनि हुँदैन । त्यसै जनताले भोज गरेको हो र ?  कसैको बिहेमा धेरै जना किन आउँछन् ? खान पाइन्छ भन्ने पनि एउटा कारण त हो नि । खाना नखाई रमाइलो हुन्छ त ?
०००
सरकारी स्तरमा पनि जनैपूर्णिमाको दिनमा सम्म बिदा दिने जुन प्रचलन चलिरहेको छ, योजस्तो अत्याचार खप्नै सकिन्न । जब कि नेपालमा अत्यधिक जनसंख्या जनै नलाउनेहरूको छ । संख्या नै कति छ ? ३० प्रतिशत नि पुग्दैन । जनै फेरि त्यतिबेलाको आफू ठूलो जातको भएको सर्टिफिकेट मात्र हो । किनकि, त्यतिबेला कागजको सर्टिफिकेट थिएन । जनै झुण्डाइदिएपछि त्यो देख्नेबित्तिकै तागाधारी रहेछ भनेर चिनाउने जात प्रणालीमात्र हो । त्यस्तो जात प्रणालीलाई व्यवस्थित गर्नलाई अहिलेसम्म सार्वजनिक बिदा दिने ? वास्तवमा भन्ने हो सांस्कृतिक क्षेत्रमा त पूरै अत्याचारी शासन छ । हामीले यो चिजमा पनि लगातार सूची नै बनाएर राज्यलाई ठीक ठाउँमा ल्याउन मेहनत गर्नुपर्छ ।
०००
परम्परागत ढंगले हेर्दाखेरि खस–आर्यभित्रका सबै महिला र पुरुषको पर्व हो तीज । तर, जब कुनै पर्वको बजारीकरण हुन्छ, तब बजारमा जसको पहुँच हुन्छ, उसको नै हुन्छ त्यो पर्व । अरूको त कसरी हुनसक्छ र ? सबै पर्वमा हुने नै त्यही त हो । हुने खानेले मनाउने त हो । पर्वमा वर्ग प्रकट भइहाल्छ । बजारको कब्जामा परिसकेपछि त जसले सक्छ उसले देखाउने न हो ।  

नेपाली समाजका सबै पर्व गीतसँग सम्बन्धित छन् । गीत नभएको पर्व हुँदैन । किनकि, त्यो जनजीवनको हजारौँ वर्षको अभ्यासबाट बनेको हुनाले त्यसको गीतसंगीत हुन्छ । तर, अहिले १९९० पछि संगीत स्वयं उपभोक्तावादतिर गयो । यो लोकगीत भनेर जुन गाइएको छ, त्यहाँ कहाँ लोक छ ? त्यो लोकगीत नै होइन नि । त्यो त पहिले पहिलेका लय टापटिप पारेर मान्छेलाई केही बेरका निम्ति तरंगित पार्ने चिज मात्र हो । लोकगीत भनेको त लोकले बुझेको हुनुपर्छ । लोकलाई थाहा नभएको गीत ल्याएर लोकगीत हुन्छ ? त्यो त कोठामा बनाएर बजाएको हो नि । योे संगीत क्षेत्र त सबैभन्दा बढी उपभोक्तावादी भएर निक्लिसक्यो । व्यापारीले त जे बिक्छ, त्यही बेच्दिने त हो । यहाँ मान्छे त बिकिरा’छ तीजमा । यति पैसा दिन्छु गीत गाइदिन आऊ, यदि पैसा दिन्छु नाचिदिन आऊ भनेर मान्छे नै किन्दिरा’को छ तीजमा । अनि, गीतसंगीतको के कुरा गर्नु ?
(अनिल यादव र अम्मर जिसीसँगको कुराकानीमा आधारित)  

 

Leave A Comment