‘नाच्दैनाच्दै ट्रकमा जन्मेको म’

आइतबार, १९ भदौ २०७३, १० : ०८ शुक्रवार , Kathmandu
‘नाच्दैनाच्दै ट्रकमा जन्मेको म’

विजय थापा लोकदोहोरीका म्युजिक भिडियोमा धेरै देखिने अनुहारमा पर्छन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत सक्रिय उनले यो तीजमा मात्रै ६७ वटा गीतमा नृत्य र निर्देशन गरे । ‘क्याम्पस पढ्न आउनी’बाट लोकदोहोरी गीतका म्युजिक भिडियोमा जमेका उनीसँग डिबी खड्का र अम्मर जिसीले गरेको कुराकानीः

तीजमा भ्याइनभ्याइ छ, हैन ?
वर्षमा सबभन्दा धेरै व्यस्त भइने बेलै यही तीज हो । दिनरात गरेर काम गर्नुपर्छ । सबैले डान्सिङ प्याटर्नका गीत चाहन्छन् । यसमा परिश्रम पनि त्यतिकै गर्नुपर्छ ।
तीजमा नाच्ने, नचाउने, गाउने सबैतिर पुरुष धेरै देखिन्छन् । तपाईंहरू हाबी भएकै हो ?
तीज नारीहरूको पर्व हो । यसमा नारीहरू नै हाबी हुनपर्छ । हामीले सिर्फ सपोर्ट मात्र गर्ने हो । सपोर्ट गर्दा हल्का धेरै देखिएको मात्र हो ।
तपाईंको हुलिया पप–हिपहपमा लाग्नुपर्ने जस्तो छ । लोक विधामा हुनुहुन्छ ।
हुलियाजस्तो होस् न, लोकसंस्कृतिलाई माया गर्ने मान्छे हुँ म । लोककै कारण म यो ठाउँमा छु । पहिचान यसैबाट बनेको छ । यसमै खुशी छु ।
पहिचानसँगै कानको कुन्डलको साइज पनि बढाउँदै लगेको हो ?
हल्काहल्का बढ्दै गाको पक्का हो ।
तपाईंसँग काम गर्नेहरू ‘विजय थापा हास्यकलाकार बन्नुपर्ने मान्छे हो’ भन्छन् नि ?
धेरै हाँस्छु । हँसाउँछु । टिम वर्कमा विश्वास गर्छु । टिमलाई चलायमान राखिराख्न हाँस्ने खुराक पस्किराख्नुपर्छ । सँगै एक दिन काम गर्ने हो, ठुस्साठास्सी पर्न नपरोस् भन्छु । कसैले अमिलो मन नपारोस् भन्नेमा चनाखो हुन्छु ।
पछिल्लो समय तीजका भिडियोहरू बढी नै उच्छृंखल बनाएको आरोप तपाईंहरूलाई छ नि ?
यो सही हो । एकदुइटा उच्छृंखलले यो क्षेत्रलाई नै लज्जित पारिरहेका छन् । संस्कृतिलाई यो उचाइ दिएका अग्रजहरूको पछि लागेर यहाँसम्म पुगियो । हाम्रा यस्ता गलत प्रवृत्तिले अग्रजहरूको ठाडो अपमान भइरहेको छ । भाइरस भन्छु म त्यस्तालाई । यस्तालाई स्क्यान गर्नैपर्छ ।  
गायक बन्नका लागि केके गरियो ?
त्यतिखेर पैसा थिएन । गीत रेकर्ड गर्ने अरू केही उपाय पनि थिएन । देउसीभैलो कार्यक्रमबाट ल्याएको पैसा हालेर पालैपालो गीत रेकर्ड गरिन्थ्यो । यस्ता कामभन्दा अन्तै लाग्दा राम्रो होला सोचेर तितरबितर भइयो । मलाई पहिलादेखि कला क्षेत्रमै लगाव भएकाले विदेशबाट आएपछि पनि यही क्षेत्रमा लागेँ ।
विदेश कामै गर्न जानुभएको थियो ?
हो । दुबईमा होटल सेरोटोनमा काम गर्थें । रुम ब्वाईदेखि सबै खाले काम गरियो । साढे दुई वर्षपछि फर्कें ।  
मोडलिङबाट हिट भइसकेपछि फेरि दुबई जानुभयो ?
दुई पटक गएँ ।
पहिला सँगै मजदुरी गरेका नेपालीहरूले के भने ?
अचम्ममा पर्नुभयो । हेर्ने दृष्टिकोण नै फरक थियो । ‘कलाकार भएर आयो’ भनेर खुशी हुनुभयो । अहिले पनि ती साथीहरूसँग सम्पर्क भइरहन्छ । ती दिनहरू सम्झाइरहनुहुन्छ ।
तपाईंका फ्यान धेरैजसो कतातिर छन् ?
पश्चिमतिर धेरै हुनुहुन्छ । केयर गर्नुहुन्छ । लोकदोहोरीलाई माया गर्ने दर्शक, स्रोताले धेरै माया गर्नुहुन्छ ।  
नाच्न सजिलो कि नचाउन ?
नाच्न सजिलो नि । अरूलाई नचाउनु त गाह्रो कुरा हो । अर्काको ज्यान ह्यान्डल गर्नु कहाँ चानचुने हुन्छ ?
महिलालाई नचाउन गाह्रो कि पुरुषलाई ?
जो जान्ने छ, उसैलाई नचाउन सजिलो । तर, नाच्ने कुरामा स्टेप महिलाले चाँडो टिप्छन् । टाइमिङमा ख्याल गर्छन् ।
पैसा कति कमाइयो ?
अलिअलि कमाइयो । हिसाबकिताब छैन । विदेशतिरका कार्यक्रममा जान मन लाग्दैन । गए त झन् धेरै कमाउँथे ।
किन ?
व्यावसायिक व्यवहार नपाएपछि जान मन लाग्दैन । ‘घुम्ने त हो’ भने जसरी म जान्न ।
डान्स क्लास लिनुभएन ?
मैले डान्स आमाको कोखमै सिकेको हुँ । ‘तँ नाच्दैनाच्दै जन्मेको’ भन्नुहुन्छ आमाले । खासमा त्यो बेला बुबा ट्रान्सपोर्टमा जागिरे हुनुहुन्थ्यो । ट्रकमा यात्रा गरिरहेका बेला आमालाई बेथा लागेछ । अस्पताल लाँदालाँदै ट्रकमै जन्मेछु, बाबाको हातैमा । अरू, जन्मिने बित्तिकै अस्पतालको बेडमा च्वाँच्वाँ गर्छन् । म त मच्चिइरहेको ट्रकमा हल्लिदैहल्लिदै च्वाँच्वाँ गरेछु । सिक्ने कुरामा मैले टीभीमै हेरेर सिकेँ ।   
कोरस डान्स पनि गर्नुभयो क्यारे ?
दुई वर्षजति कोरस डान्स गरियो । दिलीप रायमाझी र राजेश हमालको पछिपछि धेरै पटक नाचेको छु ।
दोहोरी फोहोरी हुँदै जानुको कारण के होला ?
यसमा गाउनेको दोष छैन । लगानी गर्नेहरूको माग नै फोहोरी हुन्छ । त्यस्ता अभ्यासको मारमा जो पनि पर्छन् । प्रचार गर्ने कुरा पनि भद्दा भयो । जति गीत भद्दा छ, समाचार र विज्ञापन त्योभन्दा भद्दा आउँछ । युट्युबमा धेरै हेर्छन् भनेर मात्र सोचिन्छ ।
तपाईंका भिडियो भद्दा छैनन् ?
मैले बनाएका भिडियो सबै ठीक छन् भन्दिनँ । तर, यहाँ त दोहोरी भन्नै लाज लाग्ने गीत पनि बन्न थालेर पो खत्तम भो त । हल्का छोटो लाएर नाच्दैमा नराम्रो भन्न मिल्दैन । अब त विकिनीमा नाच्न थाल्लान् भन्ने डर छ । गाउने उस्तै, नाच्ने उस्तै । यो देखेरै फ्रस्ट्रेटेड हुन थालिसकेँ ।

 

Leave A Comment