अभिनेत्रीका तीज

आइतबार, १९ भदौ २०७३, १० : १४ शुक्रवार , Kathmandu
अभिनेत्रीका तीज

ऋचा शर्मा
यसपालिको तीज मनाउन पाइँदैन होला । बर्जर पेन्टको प्रमोसनका लागि राजधानी बाहिर छु । घरपरिवार र साथीसंगीसँग तीज मनाउन नपाउँदा दुःख लाग्छ । घरपरिवारलाई धेरै सम्झिन्छु चाडपर्वका बेला । तीजमा चोखो खानेकुरा खाएर व्रत बस्छु ।

करिश्मा मानन्धर

तीज तडकभडकरहित ढंगले मनाउन मन पर्छ । परम्परालाई जोगाउँदै मनाउने हो । विकृति भिœयाउने होइन जस्तो लाग्छ । तीजलाई हाँसीखुशीसाथ मनाउनुपर्छ । तीजमा व्रत बस्छु तर निराहार होइन । पानी र फलफूल खाने गर्छु । व्रत श्रीमान्का लागि मात्र नभई छोराछोरी, परिवारकै सुख, शान्तिका लागि राख्ने गर्छु ।

दीपाश्री निरौला

तीजमा वर पाऊँ भनेर धेरै व्रत बसियो । तर, अहिलेसम्म वर पाउन सकिएन । अमेरिकाबाट आएर गायिका निशा सुनारले तीज गीतमार्फत मेरा लागि वरको पुकार पनि गरिन् । तर, पनि भगवान शिवबाट सुनुवाइ भएन । यसपालिको व्रत भने वरका लागि होइन्, कर्मका लागि बस्नेछु । यसपालिको तीज नारायणघाटका दर्शकसामु मनाउनेछु ।

प्रियंका कार्की

तीजको तयारी खासै केही छैन । सुटिङमै व्यस्त भइन्छ । चाडपर्वमा हामी कलाकारहरूलाई झन् चटारो हुन्छ । तीजको बेला पनि काममै व्यस्त हुन्छ । परिवारसँग तीज मनाउन नपाउँदा खल्लो लाग्छ । साथीसंगिनीसँग रमाइलो गर्न नपाउँदा पनि नरमाइलो लाग्छ । व्यस्तताले गर्दा व्रत बस्न पाइँदैन । व्रत बस्दैमा सर्वगुण सम्पन्न श्रीमान् पाइन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

केकी अधिकारी

तीज सामान्य तरिकाले मनाउँछु । एक महिनाअघिदेखि दर खाने तीज कार्यक्रम गर्नु मलाई मन पर्दैन । तीज अहिले व्यवसायका रूपमा फस्टाएको छ जस्ता लाग्छ । त्यो देख्दा मन खिन्न हुन्छ । तीज घरपरिवारसँग नाचगान गरी रमाइलो गरेर मनाउँछु । दर खान चाहिँ मामाघर जान्छु । पाँच वर्षयता नियमित व्रत बस्दै आएकी छु । केही नखाई नपिई व्रत बस्न सक्दिनँ । फलफूल र पानी खाएर व्रत बस्छु । दरमा खिर खूब मन पर्छ ।

वर्षा राउत
तीज साह्रै मन पर्छ । यसमा नाचगान र रमाइलो धेरै हुन्छ । तीजको बेला पशुपतिनाथमा भीड देखेर हराउँछु कि जस्तो लाग्छ । त्यसैले त्यहाँ जान्न । कोटेश्वरकै महादेवस्थानमा जान्छु । घरपरिवारसँगै रमाइलो गर्छु । नाचगान गर्दा दिन बितेको थाहै हुँदैन । तीजमा सधैँ व्रत बस्छु । राम्रो वरका लागि भन्दा पनि देशको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्छु ।

वर्षा शिवाकोटी

सुटिङमै व्यस्त हुने भएकाले तीज मनाउन नपाएकै तीन वर्ष भइसक्यो । यो वर्ष पनि फिल्मको काममा नै व्यस्त छु । तीजको केही तयारी गर्न पाएको छैन । ‘कारखाना’ फिल्मको सुटिङका लागि काठमाडौँ बाहिर छु । परिवारसँग तीज मनाउन नपाएको धेरै वर्ष भयो । कामकै व्यस्तताले गर्दा व्रत पनि बस्न पाइँदैन ।

 

 

Leave A Comment