व्रतका विपक्षी

आइतबार, १९ भदौ २०७३, १० : २२ शिक्षा रिसाल , Kathmandu
व्रतका विपक्षी

गाउँ–शहरमा तीजको चहलपहल सुरु भइसक्यो । पसलहरूमा चुरापोते, सारी कुर्ता राताम्मे झुन्डिएका छन् भने गरगहनाको पसलमा पनि चहलपहल बढ्न थालिसकेको छ । दर खाने र खान बोलाउने क्रम सुरु भएको हप्तौँ भइसक्यो । कलाकारहरूले तीजको गीत निकालेको निकै भइसक्यो । नेपाली नारीहरूको महान चाड भनेर चिनिने तीजमा महिलाहरूको विशेष आकर्षण पनि छ । तीजमा तडकभडक बढी भयो भनेर बेलाबेलामा विवाद पनि उठ्ने गरेको छ ।
अधिकांश महिलाका लागि तीज मन पर्ने चाड हो । दर खाने, व्रत बस्ने र नाचगान गर्ने पर्वका रूपमा महिलाहरूलाई मन पर्ने यो चाड बिहे गरेकाहरूले आफ्नो श्रीमान्को दीर्घायु र बिहे नगरेकाहरूले राम्रो श्रीमान् पाउँ भनेर बस्ने गरेको पाइन्छ । अविवाहित युवती र विवाहितहरूका लागि पनि यो एउटा विशेष आकर्षण हो । तर, यो कुरामा विश्वास नगर्ने युवतीहरू पनि छन् भन्ने सुन्दा अचम्म लाग्छ । ललितपुरको नखिपोट बस्ने नीति शर्माका लागि तीज त्यति धेरै आकर्षक चाड होइन । खानपिनमा व्यस्त भए पनि तीजमा व्रत बस्ने भन्ने चलन उनलाई मन पर्र्दैन । आफूले राम्रो श्रीमान् पाउनका लागि तीजको व्रत बस्ने भन्ने सुनेको भए पनि उनी यसलाई मान्दिनन् । ‘मेरो दिदीहरूले कहिल्यै व्रत नबसे पनि राम्रो माया गर्ने श्रीमान् पाउनुभएको छ । यस्तो कुरामा खासै विश्वास लाग्दैन,’ उनी भन्छिन् । त्यसो त, पानीसमेत नपिई व्रत बसेकाहरूको श्रीमान्सँग कहिल्यै जोडी नजमेको महिला पनि आफूले देखेको उनी बताउँछिन् । दर खाने र नाचगान गरेर रमाइलो गर्ने भए पनि आफूले बिहेपछि पनि व्रत नबस्ने शर्माको योजना छ ।
शर्मा मात्र होइन, ललितपुरकै प्राप्ति पौड्याल पनि तीजमा रमाइलो गरे पनि राम्रो श्रीमान् पाउन पानीसमेत नखाई व्रत बस्न जरुरी छ भन्ने ठान्दिनन् । सानैदेखि आफूलाई व्रत बस्नमा खास रुचि नभएको उनी बताउँछिन् । ‘व्रत नबसीकन पनि राम्रो जीवनसाथी पाउन सकिन्छ जस्तो लाग्छ । यो सबै सोचाइका कुरा हुन्,’ उनी भन्छिन्, ‘तर, व्रत बस्नेहरूलाई चाहिँ सम्मान गर्छु । यो आ–आफ्नो विचार र आस्थाको कुरा हो ।’
अहिले महिला र पुरुष समान भएकाले महिलाले मात्र राम्रो वर पाउन व्रत बस्नुपर्ने चलनसँग भने उनी सहमत छैनन् । ‘कुनै केटाले राम्रो श्रीमती पाउँ भनेर व्रत बसेको देखेकी छैन । त्यस्तै, श्रीमान्ले श्रीमतीको लागि व्रत बसेको पनि भेटेकी छैन,’ प्राप्ति भन्छिन्, ‘महिला–पुरुष दुवैले व्रत बसे पो राम्रो !’
भर्खर प्लस टू सकाएकी काठमाडौँकी इशिका संग्रौलालाई त झन् तीज मनाऊँजस्तो कहिल्यै लागेन । तीजका गीत सुन्दा पनि यो पर्व विशेष गरी विवाहित महिलाहरूका लागि हो जस्तो लाग्छ उनलाई । तीजमा व्रत बस्नेभन्दा पनि श्रीमान्को आयु लामो होस् भनेर विवाहित महिलाहरूले व्रत बस्ने जस्तो आफूलाई लाग्ने उनी बताउँछिन् । ‘अविवाहितहरूले व्रत बस्नुपर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छिन् ।
कतिपय साथीहरूलाई घरबाटै कर गरेर व्रत बस्न र पूजा गर्न लगाउने पनि आफूले देखेको उनी सुनाउँछिन् । ‘मलाई यस्तो पटक्कै मन पर्दैन । सबैको आ–आफ्नो इच्छाको कुरा हो । इच्छा छैन भने विवाह भइसकेपछि पनि व्रत नबस्दा र नमनाउँदा केही फरक पर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छिन्, ‘पानी नपिउँदैमा राम्रो श्रीमान् पाइन्छ भन्ने कुरामा मलाई कत्ति पनि विश्वास लाग्दैन ।’
तीज धेरैका लागि व्रत बस्नेभन्दा पनि खानपिन र भेटघाट गर्ने अवसर हो । तीजको समयमा धेरैले घरमा नातेदारलाई बोलाएर दर कार्यक्रम गर्छन् । खान्छन्, गाउँछन् अनि नाच्छन् । तीजका दिन चाहिँ कतिले व्रत बस्छन् ।
पेशाले डेन्टल सर्जन ललितपुर, भैसीपाटीकी विजिता गौतमलाई तीज खूब रमाइलो लागे पनि व्रत बस्न चाहिँ मन पर्र्दैन । ‘मैले अहिलेसम्म व्रत बसेकी छैन । बस्न इच्छा पनि लाग्दैन,’ उनी भन्छिन्, ‘तीजमा राम्रा लुगा लगाएर नाचे पनि पूजा गर्न मन्दिर चाहिँ धाउँदिनँ ।’
पहिलेपहिले नेपाली नारीहरूले माइतमा आएर आफ्ना दुःख र पीडालाई गीतमार्फत पोख्ने अवसरको रूपमा तीजलाई लिइन्थ्यो । तर, अहिले लुगा, गहनाको ‘शोअफ’ बढी भइरहेको गौतमको भनाइ छ । ‘वर्षभरिका दुःखपीडा बिर्सेर रमाइलो गर्ने दिन भएकाले तीजलाई त्यसरी नै मनाउँदा ठीक हुन्छ । देखावा गर्नु हुँदैन,’ उनी भन्छिन् । पानी नपिई, केही नखाई बेहोश हुनुभन्दा टन्न खाएर मस्त नाच्दा रमाइलो हुने विचार गौतमको छ । ‘यसरी केही नखाई नपिई व्रत राख्नुभन्दा बेलाबेलामा डाइटिङका रूपमा भोकै बसे पनि भयो ।

भगवानले अरू दिन भोकै बसेको नदेख्ने र त्यही दिनको मात्र देख्ने त हुँदैन होला,’ उनी थप्छिन्, ‘केटीहरूले शिवजीजस्तो श्रीमान् पाउन व्रत बस्ने हो भने केटाहरू पनि पार्वतीजस्तो श्रीमती पाउन व्रत बस्नुप¥यो नि !’

 

Leave A Comment