वृद्धाश्रमको तीज

आइतबार, १९ भदौ २०७३, ०५ : २४ सन्जिना श्रेष्ठ
वृद्धाश्रमको तीज

भूकम्पले शिवका चारवटा मन्दिरका भित्ता ठाँउठाँउमा चिरिएका छन् । मन्दिरको केही भाग उप्किएर जति बेलामा पनि लड्ने अवस्थामा छ । त्यही मन्दिर छेउमा आइतवार सीता भुजेल बत्ती कातेर बसिरहेकी थिइन् । पशुपति वृद्धाश्रममा पुग्दा सीता बसेको कोठाभन्दा अर्को छेउमा तीजको गीत रेडियोमा घन्किरहेको थियो ।

महिलाहरूलाई आफन्त र परिवारसँग जोड्ने पर्व हो, तीज । तर, परिवार र आफन्तबाट टाढिएर वृद्धाश्रममा बसिरहेका वृद्ध आमाहरूले तीजलाई कसरी लिन्छन् र मनाउँछन् त ? ‘यही वृद्धाश्रममा नाचगान गरेर, गीत गाएर मनाइन्छ,’ बत्ती कातिरहेकी भुजेलले भनिन् । भुजेलका अनुसार वृद्धाश्रममा तीजका दिन सांस्कृतिक कार्यक्रम हुने गर्छ । ‘नाच्न सक्नेहरू बुढी भए पनि नाच्छन् । नसक्ने हामीजस्ता छेउमा बसेर ताली बजाउँछौँ,’ उनले भनिन् ।

श्रीमान्ले अर्की श्रीमती भित्राएपछि सहाराविहीन बनेकी भुजेल आश्रममा बस्न थालेको वर्षौं भइसक्यो । विगतमा श्रीमान्को नाममा तीजको व्रत बसे पनि अहिले उनले व्रत बस्न छाडिसकिन् । ‘जसका लागि तीजको व्रत बस्थेँ उसले नै अर्की ल्याएर विदेश बस्न थालेपछि किन बस्नु व्रत ?’ उनले भनिन् । तीजको समयमा छोरी र भदैहरू आफूलाई लिने आउने उनी बताउँछिन् । ‘छोरी र भदैसँग क्षणिक खुशीका लागि जान मन लाग्दैन । बरु, यही आफ्नै उमेरका बुढीहरूसँग तीज मनाउँछु,’ भुजेलले भनिन् ।

अहिले र पहिलाको तीज मनाउने तरिकामा जमिनआकाशको फरक रहेको बताउँछिन्, भुजेल । ‘त्यतिखेरको खानपिन, लवाइ–खुवाइ, माहौल नै फरक थियो । भोकभोकै टाढटाढासम्मको मन्दिर जान्थ्यौँ । तर, अहिले पानी, फलफूल खाएर व्रत बस्छन्, सवारी साधन चढेर मन्दिर पुग्छन्,’ उनले भनिन् ।

पशुपति वृद्धाश्रममै बस्दै आएकी ८६ वर्षीया सान्नानी तिमल्सिना भने अझै पनि व्रत बस्छिन् । उनको श्रीमान्को मृत्यु भएको वर्षौं भइसक्यो । तर, आफूले भगवान शिवका नाममा हरेक तीजमा व्रत बस्दै आएको उनी बताउँछिन् । ‘सात वर्षको उमेरमै मेरो बिहे भएको थियो । त्यतिखेर त पानी नै नखाई व्रत बस्थेँ,’ उनले भनिन्, ‘तर, अहिले शरीरले साथ दिन छाड्यो । केही नखाई व्रत बस्न सकिँदैन । त्यसैले फलफूल र मिस्रीकाँडा पानी खाएर व्रत बस्छु ।’
सानै उमेरमा विवाह भएकाले पहिला तीजबारे खासै जानकारी थिएन, सान्नानीलाई । ‘तर, जब बुझ्ने भएँ आमाले पार्वतीले महादेवलाई पति पाउँ भनेर व्रत बसेको सुनेँ । त्यसपछि आफूले पनि पानी नखाई श्रीमान्का लागि व्रत बस्न थालेँ,’ उनले भनिन्, ‘गाउँमा हुँदा दिदीबहिनी आमासँग तीज मनाउँदा रमाइलो हुन्थ्यो । यहाँ आएपछि हामी सबैको एउटै खाले पीडा देखियो । तीज पनि उस्तै गरी मनाउँछौँ ।’

गत जेठमा मात्र आश्रममा आएकी मैया न्यौपानेले भने अहिलेसम्म वृद्धाश्रममा तीजको अनुभव लिन पाएकी छैनन् । ७० वर्षीया न्यौपानेको छ वर्षको उमेरमा नै विवाह भएको थियो । उनको पनि श्रीमान्ले अर्की श्रीमती ल्याएका हुन् । घरपरिवारमा हेला हुन थालेपछि उनी बेसहारा बनेकी हुन् । श्रीमान्ले अर्की ल्याए पनि तीजको व्रत भने बस्दै आइरहेको उनी बताउँछिन् । ‘पहिलापहिला श्रीमान्का लागि व्रत बस्थेँ । तर, अहिले महादेवका नाममा व्रत बस्छु,’ उनले भनिन् ।
तीन वर्षयता वृद्धाश्रममा बस्दै आएकी सीता कार्की भने अझै पनि निर्जल व्रत बस्छिन् । ‘अहिले पनि तीजको व्रत पानी नखाई बस्छु र भोलिपल्ट अगस्त पूजा गरी तुलसीको पात खाएर मात्र व्रत तोड्छु,’ उनले भनिन् । श्रीमान्ले सौता ल्याएपछि उनी केही समय माइतमा बसिन् । तर, तीन वर्षयता भने उनी आश्रमको सहारामा छिन् । श्रीमान्को घरमा रहँदाको तीज नै रमाइलो लाग्ने उनी बताउँछिन् । ‘पहिलाको तीज नै रमाइलो लाग्छ । तर, वृद्धाश्रमको तीजले बिस्तारै मेरो पीडालाई मेटाउँदै छ,’ उनले भनिन् ।

वृद्धाश्रमका लेखाअधिकृत श्रीविन्द खनालका अनुसार वृद्धाश्रममा हरेक वर्ष तीज विशेष कार्यक्रमको आयोजना हुँदै आएको छ । ‘यो वर्ष पनि तीज कार्यक्रम मनाउने तयारीमा छौँ,’ उनले भने, ‘साउन्ड सिस्टमदेखि अन्य बाजागाजाको व्यवस्था गरेका छौँ । तीजका दिन सबैलाई भेला गरेर नाचगान कार्यक्रम गर्छौं ।’ तीजको अघिल्लो दिन आश्रममा दर खाने कार्यक्रमसमेत रहने जानकारी खनालले दिए । दरमा आश्रमले गुदपाक, मिस्री, फलफूललगायत खानेकुरा दिने गरेको उनले बताए ।

आश्रममा २ सय ५ जना वृद्धवृद्धा रहेका छन् । तीमध्ये १ सय १० जना महिला छन् । तीजका दिन आश्रमसँगै बाहिरबाट अन्य संघसंस्थासमेत कार्यक्रमका लागि आउने खनालले बताए । ‘हाम्रो कार्यक्रमसँगै बाहिरबाट पनि कार्यक्रम गर्नेहरू आउँछन्,’ उनले भने, ‘जसले गर्दा वृद्धाश्रममा रहेका आमाहरूको अनुहारमा खुशी छाउने गरेको छ ।’
आश्रममा तीजका दिन वृद्धाहरूको स्वास्थ्य अवस्थाको समेत नियमित परीक्षण हुने गरेको आश्रम भित्रकै स्वास्थ्य विभागकी विमला सुवेदीले जानकारी दिइन् । ‘व्रत बसेका आमाहरूको रक्तचाप तथा अन्य रोगको परीक्षण गरेपछि आवश्यक सुझावसमेत दिन्छौँ,’ उनले भनिन् । वृद्धाहरूको अवस्थाका आधारमा व्रतका दिन जुस, दूध, फलफूललगायत खानेकुरा सेवन गर्न दिने गरेको सुवेदीले बताइन् ।

 

Leave A Comment