‘चाडबाडमा छुट दिँदैछौँ’

सोमबार, २० भदौ २०७३, १० : १४ दिलीप पौडेल , Kathmandu
‘चाडबाडमा छुट दिँदैछौँ’

बजारमा दैनिक उपभोग्य वस्तुको अचाक्ली भाउ बढेको छ । चाडपर्व नजिकिँदै जाँदा खाद्यान्नको मूल्य बढ्दा सर्वसाधारणलाई भान्छा चलाउन कठिन छ । नुन, चिनीसहित खाद्यान्नको बिक्री–वितरण गर्ने जिम्मा पाएको सरकारी स्वामित्वकोे साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

उपभोक्तालाई राहत दिन के योजना छ ?
उपभोक्तालाई सहुलियत दिन सुपथ मूल्य सञ्चालन गर्ने विषयमा मन्त्रालय र संसदीय समितिबीच छलफल गरिरहेका छौँ । चाडपर्वमा केही वस्तुमा छुट दिँदैछौँ ।

केकेमा छुट दिने योजना छ ?
नुनमा दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ छुटको व्यवस्था छ । दुर्गम जिल्लामा नुन नौ रुपैयाँमै उपलब्ध गराउँदै छौँ । चामल, मैदा, पिठो, सुजीलगायत खाद्यान्नमा साल्ट टे«डिङले डिस्काउन्ट दिँदैछ ।

सुपथ मूल्य पसल कहिलेबाट सञ्चालन हुन्छ ?
असोज १ देखि कार्तिक २१ गतेसम्म ।

सुपथ पसल कहाँ सञ्चालन गर्ने तयारी छ ?
उपत्यकाका ११ स्थानमा । उपत्यका बाहिर २५ जिल्लामा सञ्चालन गर्छौं । तीबाहेक पनि स्थानीय प्रशासनले समन्वय गरेमा दसैँलाई लक्ष्य गरेर ट्रकमा सामान पठाएर बिक्रीको प्रबन्ध मिलाउँछौँ ।

महँगी बढ्नुको कारण के होे जस्तो लाग्छ ?
सरकारले हामीलाई जिम्मा दिएको नुनमा मात्रै हो । नुनमा भाउ बढेको छैन । खुला बजार अर्थतन्त्र भएकाले यसै भन्न सक्ने अवस्था छैन । मुद्रास्फीति बढेको कुरा सबैलाई थाहा नै छ । सरकारले लक्ष्य गरेभन्दा मूल्य वृद्धि धेरै रहेको छ ।

साल्ट टे«डिङमा चिनी सकिनासाथ भाउ बढ्यो भन्छन् नि ?
हामीले आगामी वर्ष चिनीको भाउ बढ्छ भनेर सरकारलाई गत वर्ष नै जानकारी गराएर चिनी खरिद गरेर स्टक राख्नुपर्छ भनेका थियौँ । ढिला खरिद गर्ने निर्णय गर्दा ग्लोबल टेन्डर गरेर भारतबाट ३० हजार क्विन्टल चिनी ल्याउने निर्णय ग¥यौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चिनीको भाउ बढेकाले खरिद केही महँगो हुँदा यहाँ पनि भाउ बढ्यो ।

बजार नाफाखोरको चंगुलमा फसेको हो ?
व्यापार नाफा गर्नकै लागि गरिन्छ । तर, अस्वाभाविक नाफा लिनेलाई सरकारले अनुगमन गरेर कारबाही गर्नुप¥यो । अर्को, स्वदेशी या विदेशी उत्पादन हो । अन्तर्राष्ट्रिय बजारको पनि विश्लेषण गरेर मूल्य विश्लेषण गरेर निर्धारण गर्नुप¥यो ।
 
कति कर्मचारीको नेतृत्व गर्नुहुन्छ ?

स्थायी, करार, नुन उद्योगमा प्याकिङ गर्नेसहित करिब एक हजारजना ।

कर्मचारीको भूमिका कस्तो छ ?
धेरै ठाउँमा कर्मचारीले काम गर्दैनन् भन्ने गुनासो सुनिन्छ । सबै कर्मचारी बदमास  हुँदैनन् । हाम्रो संस्थामा त फोनबाट आदेश दिनासाथ कमान्ड हुन्छ । राति समेत खटेर काम गर्छन् । भूकम्प, नाकाबन्दीको समयमा रातदिन नभनी कर्मचारी खटेकाले दैनिक उपभोग्य वस्तु बजारमा पठाएर उपभोक्तालाई राहत दिनसक्यौँ ।

तीज कसरी मनाउँदै हुनुहुन्छ ?
यसपालि मेरो तीज छैन । ससुराबुबा बित्नुभएकाले यसपालि तीज मनाइँदैन ।

महिला कर्मचारीलाई तीजमा के सुविधा छ ?
कर्मचारी दिदीबहिनीलाई तीजमा उपहारको व्यवस्था गरेका छौँ । महिला कर्मचारीलाई एक हजार दिएका छौँ ।

महिलाहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?
महिलाले आफूलाई असक्षम र कमजोर छु भन्ने कहिलै ठान्नु हुँदैन । आरक्षण होइन समान अवसर चाहिन्छ भन्ने पक्षमा छु म ।  सबैभन्दा ठूलो अध्ययन हो । मेहनत गरेर दृढतासाथ लाग्यो भने सफल भइन्छ ।

श्रीमान् के पेशा गर्नुहुन्छ ?
म्यानेजमेन्ट कन्सलट्यान्ट हुनुहुन्छ ।

घरको काम कसले गर्छ ?
दुवै मिलेर काम गर्छौंं ।

फुर्सदमा के गरिन्छ ?
नयाँ ठाउँ घुम्न गइन्छ ।

दिनमा कति समय काम गर्नुहुन्छ ?
यति नै भन्न सकिन्न । हाम्रो संस्थामा टेन टू फाइभ काम गरेर पुग्दैन । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पनि काम गर्नुपर्छ ।

बिदाका दिन के गरिन्छ ?
धेरैजसो अफिसको काममै व्यस्त भइन्छ । त्यसपछि पारिवारिक भेटघाट ।

 

Leave A Comment