हजुरको बुट
–प्रकाश गुरागाईं
हजुरको बुट सुम्सुम्याइरहँदा
म सोचिरहन्छु
किन मान्छे कसैको जुत्ता जति पनि
सम्मानित हुन सक्दैन ?
हजुरको बुटको जस्तो कर्णप्रिय
सत्य
अरू कुनै आवाज छैन
हजुरले जस्तै चिटिक्क मिलाएर लगाउन
अरू कसैले जानेकै छैन
हजुरको कालो चम्किलो बुटलाई
कुनै दिन
मैले अझ चम्किलो बनाउन नपाएको सुन्दा
नियास्रो मान्छन्
मेरा श्रीमती र छोराछोरी पनि ।
हजुरको बुट कहिल्यै फोहोर लागेन मलाई
त्यसलाई बोकेर हातमा
राखेर काखमा
पत्र पत्र केलाएर
हजुरले कुल्चेर आएका मजदुरका रगत
हजुरले कुल्चेर आएका सुत्केरीका स्तन
हजुरले कुल्चेर आएको आफ्नै वीर्य
कालो पोतेर छोपछाप पारेपछि
म मेरो भोक मेट्छु
तर, बुझ्दिनँ
हजुर किन मन पराउन्नुहुन्न कालो रङ ?
जुत्ता खोलेपछि
अलि पर तर्केर बस्नुहुन्छ
ताकि नछोइयोस् हजुरलाई
यी जुत्ता छोएका हातले
नलागोस् पालिसको रङ
हजुरको सफेद पोशाकमा
नआओस् पसिनाको गन्ध
हजुरले चपाएको पानमा मिसिएर
र देख्नु नपरोस्
आफ्नै जुत्ताले
कति धेरै फोहोर टेकेर जोगाउँछ हजुरलाई ।
हजुरका जुत्ता काला बनाउँदा बनाउँदै
मेरो दाह्री र कपाल सेता भइसके
मैले झारेको जुत्ताको धुलो
मैमाथि खनिएर
फुस्रा भइसके हातखुट्टा
आफूले आफैँलाई नचिन्ने गरी
बाक्लो भइसक्यो अनुहार
हजुर त उस्तै जवान देखिरहन्छु म ।
हजुर जस्तै भाग्यमानी छन् यी जुत्ता
घर पुग्नेबित्तिकै हजुरसँगै भित्रै जान्छन्
मै’सापले आफ्नै हातले जतनसाथ खोलिदिनुहुन्छ
र मिलाएर राखिदिनुहुन्छ ¥याकमाथि
जहाँ पालिस दल्ने मान्छे कहिल्यै जान सकेन ।
माफ गर्नुहोला हजुर
धेरै वर्षपछि आज मलाई
यो कालो पालिस
हजुरकै अनुहारमा पोत्न मन लागेको छ ।
शुद्र शम्बुक
केवल बिनाबी
इतिहासको ऐना अगाडि उभिएर
पहिल्याउन खोज्दा आफ्नै अनुहार
उभिएको देख्छु
एक शिरविहीन आकृति
र देख्छु
तरबारमा टल्किएको
तिम्रो अनुहार
हो ! राम
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछूत ।
मानव वंशवृक्षमा
एउटा अनुहार तिमी
मानव वंशवृक्षकै
एउटा अनुहार म पनि
हेर त
उस्तै लाम्चो नाक
उस्तै उस्तै आँखा
आँखामा उस्तै सपना
अनि उस्तै उस्तै बुनोट
आखिर किन
वेद पढ्न हुँदैन शुद्रले ?
आखिर किन
वेद सुन्न हँुदैन शुद्रले ?
आखिर किन
जीवन हुँदैन शुद्रको ?
हो ! राम
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछूत ।
गुरु द्रोणाचार्यको कमण्डलुको पीँधबाट
तप तप तप्किरहेको
एकलव्यको आलो रगतले
आखिर कहिलेसम्म गाइरहन सक्छ
गुरुभक्तिको गीत
आखिर कहिलेसम्म .....
औँला रेटिरहन्छन् एकलव्यहरू
र प्रथम घोषित भइरहन्छन् अर्जुनहरू
हो ! राम
म उही शुद्र शम्बुक
नियालिरहेछु
मेरा पुर्खाका मलिन अनुहार ।
वेदमा बयान गरिएझैँ
झूट नै सही
मानौँ तिम्रा पुर्खाहरू
मुखबाटै जन्मिएछन् रे
मेरा पुर्खाहरू
पाउबाटै जन्मिएछन् रे
तर अफसोच †
तिम्री आमा र मेरी आमाको
उस्तै अङ्गबाट जन्मिएका हामी
आखिर किन
तिमी जस्तै म अछूत
र म जस्तै तिमी छूत
हो ! राम
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछूत ।
म रोहित बेमुला
माधव घिमिरे ‘अटल’
ए, लज्जाहीन समाजका मनुवा !
हाजिर छु तिमैसामु
चारुको चिराग बोकेको
म रोहित बेमुला
वर्ष –२६ ।
चोइटिएपछि सपनाको आरसी
बन्दी बनाएर सतिसाल आस्था
बाँच्न सकिनँ अधमरो जीवन
एउटा अधुरो ‘आज’ का निम्ति ।
नसोच्नू तिमीले
च्यातिनेछ चिउलामै
विमतिको वर्णमाला,
रेटिने छ समसाँझै
निहत्था न्याय,
लट्किने छ फाँसीमा
सुरिलो बागी गीत,
र, बिलाउनेछ मझधारमा
समरको सङ्गीत ।
भत्काएपछि तिमीले
मेरो सपनाको बाटो
नबनेपछि आफ्नो
आफैँले टेकेको माटो
तमासे बनेको तिम्रो राज्यमा
कार्ल सगन कहलाउने
मेरा कलिला सपना सेरिएपछि
पासो लगाएँ डोरीको
छिनालेँ अपमानित काया
र पनि मागिनँ तिमीसँग
जीवनको भीख ।
बस्, अब त
माटोमुनिबाटै गर्नेछु प्रेम
विज्ञान, प्रकृति र ताराहरूलाई
तिमी बाँचेर मर्दै गर्दा
म मरेर बाँचिरहेको हुनेछु
र हुनेछ तिमीलाई
फाँसीको फन्दा
मैले कोरेको ‘सुसाइड नोट’ ।
बौलाहा मनु
मुक्तान थेबा
परियारको ‘प’ भत्काएर
पानी नचल्ने बनाउने
अरू कोही हैन
त्यही बौलाहा मनुका नवअवतारहरू नै हुन् ।
दमाईको ‘द’ भत्काएर
दमित बनाउने पनि
अरू कोही हैन
त्यही बौलाहा मनुका नवअवतारहरू नै हुन् ।
मनुको मनपरी शास्त्रमा
शुद्रको ट्याग हानेर
तिम्रो मान्छे बन्ने हक छिन्ने त्यो बौलाहा मनुलाई
तिम्रा र मेरा पुर्खाले
टुँडिखेल जत्रो फलैँचामा ल्याएर टाँगेको भए
आज यसरी
एक्काइसौँ सदीका नव मनुअवतारहरू
दिनदहाडै
बेस्मारी हाम्रै स्वत्व खाँदेर
हाम्रै टाउकोहरूको भकुण्डो खेल्ने थिएनन्
हाम्रो गर्दनले बोकेको टाउको हाम्रै हुने थियो ।
तर तिम्रा र मेरा
सोझा पुर्खाहरूले दूधमा रगत घोल्न नजान्दा
बौलाहा मनुहरूले झुन्ड्याएको तरबारमा
हामी आफैँ
आफ्नो गर्दन घोट्नु परिरहेको छ
खर्कन्डोभरि आफ्नै रगत भरिदिनुपरेको छ
अनि
उसैले थापेको ढ्वाङमा
आफ्नै मृत्युको तोक लगाएको मतपत्र
खसाल्दै छौँ हामी ।
तिम्रो ढाडमाथि बोकाएको डुम भत्काएर
सम्मानले ‘डुकुले’ भन्दैछु
तिमी आफैँ भन त डुकुले दाजु
हामी आफ्नै टाउको काटेर
अझै कहिलेसम्म
बौलाहा मनुहरूको पैतालामा राखिदिन्छौँ ?
तिम्रा कर्मी औँलाहरूबीच नाच्ने कैँचीले
नवमनुहरूले जारी गरेको
आधुनिक मनुशास्त्र काट्ने बेला आएन र ??
द्यौला
केशरी अम्गाईं
खै कतिखेर
देउताको पहरा दिँदादिँदै
आफ्नै पहरा दिन बिर्सेका मेरा पुर्खाहरूलाई
तिम्रा अलिखित शास्त्रहरूबाट
कसरी खसालिएछ पीँधमा ?
इतिहासको पदचापमा मेरा बराजुहरूलाई
अपराधी नै किन नहून्
जबर्जस्ती गर्दन गिँड्न लगाएर
बनायौ जल्लादको वंशज ।
जल्लादको रूपमा
समाजमा बद्नाम बनाएको देख्दा
आगो ओकल्छ मभित्रको स्वाभिमान
र, थन्क्याइएको मेरो बाजेको तरबार
उजिल्याउँदै फेरि
लगाऊँ जस्तो लाग्छ साँध ।
मेरा पुर्खाका हातहरूमा
झाडु थमाएर तिमीले
भत्कायौ आफ्नै चोक
र बाटाका फोहोरी ढिस्काहरू
तर, हामीभित्र टुसाउन खोज्ने चेतनाको
टाउको निमोठ्यौ प्रत्येकचोटि ।
हो, म इतिहासले थमाएको
झुटो अभिशप्त आरोप शिरमा बोकेर
बढार्दैछु सडक र चोकहरू
र सोच्दैछु–
उठाउन साखको सगरमाथा
र बनाउन सम्मानको सागर ।
लाग्दैछ यो घडी–
पुग्दैन मात्र सडक बढारेर
बढार्नुपर्छ अब
तिमीभित्रका विकृत चेतहरू ।
आह्वान गर्छु म यही चोकमा उभिएर–
ए, समाजका ठेकेदारहरू हो †
फेर, तिम्रा समाजशास्त्रका चस्माहरू
र हेर संस्कृतिलाई आफ्नै ऐनामा
को हुन् अष्टमातृकाहरू ?
त्यही शक्तिपीठको पुजारी मलाई
कसरी ठान्यौ सधैँ द्यौला ?
अर्थात् देउताको पहरेदारमात्र ।
विश्वास छैन मलाई अब
विभेदका रेखा कोर्ने कुनै देउता हुन्छन् भनेर ।
(काव्यिक समूह ‘उन्मुक्त पुस्ता’ का आठ कविका दलित सौन्दर्यशास्त्रका आधारमा लेखिएका ३३ कविता संगृहीत कवितासंग्रह ‘आफर’ असोज ३ गते विमोचन हुँदैछ ।)
Leave A Comment