निजी सवारीमा आकर्षण

सोमबार, २७ भदौ २०७३, १० : २१ दिलीप पौडेल , Kathmandu
निजी सवारीमा आकर्षण

निजी गाडी चढ्न अब करोडपति हुनु परेन । लखपतिले पनि चढ्न सक्ने भए । सार्वजनिक यातायातको बेथिति । व्यक्तिको आम्दानी स्तरमा वृद्धि । सस्तो मूल्यका गाडी । बैंकद्वारा किस्ताबन्दी वित्तीय सुविधा ।
यसले उच्च घरानीय मात्र नभएर निम्न र मध्यम वर्गीय व्यक्तिको निजी सवारीमा पहुँच पु¥याएको छ । थोरै आम्दानी हुनेले स्कुटी, मोटरसाइकल र मध्यम स्तरकोको आम्दानी हुनेले पनि निजी गाडी प्रयोग गर्न थालेका छन् । उच्च आम्दानी हुनेले झन् फेरीफेरी गाडी गुडाउँछन् ।
 निजी सवारीले व्यक्तित्व प्रदर्शनसँगै व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने भएकोले घर बनाउनभन्दा पहिला गाडी किन्न थालेका हुन् । चितवनका प्रमोद सुवेदी निजी व्यवसाय गर्छन् । उनले काठमाडौँमा घर बनाउन सकेका छैनन् । तर, यसै साता काठमाडौँमा सम्पन्न नाडा अटो शोमा गाडी किने । ‘गाडी नहुँदा साथीभाइले हेर्ने दृष्टिकोण पनि फरक हुँदो रै’छ,’ उनले भने, ‘भाडामै बस्ने भए पनि गाडी चाहिँदो रहेछ ।’ सेवाग्राहीदेखि व्यवसायीलाई व्यक्तिŒव प्रदर्शन गर्न गाडी आवश्यकता रहेको उनले बताए । ‘अफिस आउनजान, बैठकमा जाँदा गाडी चढेन भने तल्लो दर्जाको रूपमा हेर्ने प्रचलन विकास भयो,’ उनले भने, ‘गाडीले अरूको हेराइ पनि फरक हुँदो रै’छ ।’ समय व्यवस्थापनसँगै उच्चवर्गको संगतको लागि आफ्नै सवारी चाहिने उनको बुझाइ छ ।
सार्वजनिक यातायातको बेथितिले गन्तव्यमा पुग्न ढिलाइ हुने भएपछि पनि निजी सवारी प्रयोग गर्ने बढेका हुन् । निर्धारित समयमै गन्तव्यमा पुगेर आफ्नो काम फत्ते गर्न सवारीकै सहारा लिनुपर्ने भएकाले आफ्नो समयअनुसार चल्न व्यक्तिपिच्छे सवारी किन्न थालेका छन् ।
उपत्यकामा एक सातासम्म सञ्चालित नाडा अटो सोमा २ हजार ३ सय गाडी बुकिङ भएका छन् । करिब ३ अर्ब ५० करोड रुपैयाँका गाडी बुकिङ भएको आयोजकले जनाएका छन् । यसले नेपाली उपभोक्तामा निजी सवारी साधनको आकर्षणको पुष्टी गर्छ । निजी सवारी साधन प्रयोगकर्ताको संख्या निकै बढेको नाडा अटोशो प्रदर्शनीका संयोजक शम्भू दाहालले बताए । ‘प्रदर्शनीमा ६५ हजारभन्दा धेरैले अवलोकन गरे,’ उनले भने, ‘सबैको आकर्षण निजी सवारीमा थियो ।’
प्रयोगकर्ताले आफ्नो आम्दानी र रुचिअनुसार प्रयोग गरिरहेका छन् । ग्राहक बढेसँगै विदेशबाट गाडी आयातसमेत बढेको छ । बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा किस्ताबन्दीमा गाडी किन्ने कर्जा उपलब्ध गराउने भएकोले थोरै आम्दानी हुनेले पनि गाडी प्रयोग गर्न पाएका छन् ।
आर्थिक वर्ष ०७२÷७३मा मात्रै २ लाख ६७ हजार ४ सय ३९ सवारी थपिएका छन् थपिएका थिए ।  त्यसमा २८ हजार ३ सय ६१ वटा निजी सवारी साधन छन् । नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या १८ लाख ३५ हजार २८ पुगेको छ । यो संख्या दिनानुदिन बढिरहेको छ । पछिल्लो साढे दुई दशकमा नेपालमा सवारी साधनको संख्या ३०६.३३ प्रतिशतले बढको छ ।
सवारी चढ्नेमा पुरुषमात्र होइन महिलाको संख्या पनि उत्तिकै छ । एक निजी कम्पनीमा काम गर्ने उर्मिला श्रेष्ठले आफ्नो सवारीको कारण राम्रो जागिरको अवसर पाएको बताइन् । ‘अहिले त जागिर अन्तर्वार्ताकै क्रममा सवारी साधन छ÷छैन सोध्ने गरेका छन्,’ श्रेष्ठले भनिन्, ‘महिलालाई त सुरक्षाको दृष्टिकोणले पनि सवारी अनिवार्य जस्तै छ ।’
निजी सवारी साधनलाई विलासी साधनभन्दा पनि कामकाजीको लागि अनिवार्य साधन बनेको छ । अलिक धेरै आम्दानी हुनेले गाडी चढे पनि मोटरसाइकल र स्कुटी त निम्न वर्गीयको घरपरिवार धान्ने माध्यम बनेको छ । पलम्बर काम गर्ने धादिङका प्रमोद तामाङ मोटरसाइकल किनेपछि आफ्नो आम्दानी बढेको अनुभव सुनाउँछन् । ‘बस, टेम्पो चढेर जाँदा समयमै पुग्न नसक्दा काम गर्न कठिनाई थियो,’ तामाङले भने, ‘मोटरसाइकल किनेपछि काममा जान धेरै सजिलो भएको छ ।’
सवारीले समयमै काम फत्ते गर्न सघाउने, उद्यमशीलता बढाउन, व्यक्तित्व विकासमा समेत सघाउ पु¥याउने गरेको छ । अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ निजी सवारी हरेक व्यक्तिको लागि अनिवार्य आवश्यकता भएको बताउँछन् । समय बचत गर्न, व्यक्तिगत दैनिकी व्यवस्थित गर्न, उत्पादकत्व बढाउन र सुखी जीवन बिताउन सवारी सहयोगी बन्ने बताए । ‘यात्रामा धुलोधुवाँबाट मुक्ति पाउन । घाम, पानीबाट जोगिन पनि निजी सवारी आवश्यक छ,’ उनले भने, ‘निजी सवारीले उत्पादकत्व पनि बढाउन सघाउँछ ।’
व्यक्तिको आम्दानी, व्यक्तित्वलाई सवारीसँग दाँज्न थालिएको छ । युवा पुस्ताले विभिन्न मोडलका बाइक तथा स्कुटी प्रयोग गर्छन् । सरकारी तथा निजी क्षेत्रका जागिरे, व्यसायी, बैंकर, व्यापारिक घरानासहित कलाकारले पनि सवारीलाई सोख बनाएका छन् ।

 

Leave A Comment