पौडी र छालाको हेरचाह

बुधबार, २९ भदौ २०७३, १० : २१ डा. धर्मेन्द्र कर्ण , Kathmandu
पौडी र छालाको हेरचाह

गर्मी याममा पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ । गर्मी छल्नका लागि पौडी पोखरीमा डुबुल्की मार्न रुचाउनेहरू थुप्रै हुन्छन् । गाउँघरतिर मानिसहरू नदी, खोलामा पौडेर पौडीको आनन्द लिन्छन् भने शहर बजारका मानिस व्यावसायिक रूपमा सञ्चालित पौडी पोखरीमा पौडिने गर्छन् । काठमाडौँ उपत्यकालगायत देशका मुख्य शहरमा व्यावसायिक पौडी पोखरी खुल्ने क्रम बढ्दो छ । पाँचतारे होटलको विभिन्न मापदण्डमध्ये पौडी पोखरी हुनु पनि एक हो । त्यसैले पाँचतारे होटलसँगै कम्तीमा एउटा स्विमिङ पुल हुन्छ नै । बढ्दो पौडी पोखरीसँगै यसको सञ्चालनमा अपनाउनुपर्ने मापदण्ड नअपनाउँदा पौडीका कारण छालामा हुने विभिन्न रोग तथा संक्रमणका बिरामी बढेका छन् ।
काठमाडौँ उपत्यकामा स्कुलबाट बच्चाहरूलाई कम्तीमा पनि वर्षको एक पटक स्विमिङ पुल लाने फेसनजस्तै भएको छ । केही स्कुलले आफ्नै पौडी पोखरी निर्माण गरेका छन् भने कतिले निजी पौडी पोखरीमा लगेर बच्चाहरूलाई पौडी खेलाउने गरेका छन् । पौडिने सीपका लागि निरन्तर अभ्यास गर्नुपर्ने हुन्छ । जो नियमित पौडी पोखरी जान सक्छ, जसले पौडीका लागि समय र खर्च जुटाउन सक्छ, उसका लागि पौडी खेल्न जान्नु र नियमित अभ्यास गर्नु राम्रो कुरा हो । पौडी एक प्रकारको खेलकुद र शारीरिक व्यायामका लागि महŒवपूर्ण भएकाले धेरै मानिस यसप्रति आकर्षित छन् । स्विमिङ गर्ने भनेपछि बालबालिकाहरू पनि निकै खुशी हुन्छन् । बच्चाहरू पानीमा खेल्न मन पनि पराउँछन् ।
पौडी पोखरीबाट विभिन्न किसिमको रोग सर्न सक्छ भन्नेतर्फ भने कमैको ध्यान गएको पाइन्छ । विशेष गरेर पौडी पोखरीले प्रयोग गर्ने पानीको शुद्धता, पानीमा प्रयोग गरिने क्लोरिनको मात्रा र पौडी पोखरीमा छाला तथा यौन अंगमा हुने कुनै संक्रमण भएका व्यक्ति प्रवेश गरे कि गरेनन् भनेर गर्नुपर्ने निगरानीमा बेवास्ता गर्दा पौडीका कारण छाला तथा यौन अंगमा संक्रमण भएका बिरामी उपचारका लागि आउने गरेका छन् ।
पौडी पोखरीबाट छालामा सर्ने सरुवा रोग, पौडी पोखरीको पानीमा मिसाइने रसायन (क्लोरिन)का कारण छालामा तत्कालीन तथा पछि देखिने असर, पौडी खेल्दा घामका कारण छालामा हुने एलर्जी तथा अन्य समस्या र यौनाङमा हुने भाइरल इन्फेक्सन पनि स्वस्थ मानिसमा सर्ने सम्भावना हुन्छ । भाइरल इन्फेक्सनका कारण यौनाङ वरिपरि आउने मुसा पौडी पोखरीबाट पनि सर्न सक्छ । यस्तो भाइरल इन्फेक्सन असुरक्षित यौन सम्पर्कबाट सर्न सक्छ । तर, कोही यस्तो संक्रमित व्यक्तिले पौडी खेलेके पोखरीमा स्वस्थ मानिस पौडिन पुग्यो भने उसलाई पनि सर्ने सम्भावना हुन्छ । यो भाइरल इन्फेक्सन आजको भोलि देखिँदैन । दुई हप्तादेखि महिनौँपछि पनि देखिन सक्छ । यसै गरी मोलस्कम कन्टाजियोसम भनिने एक किसिमको भाइरल इन्फेक्सन हो । यो पनि पौडी पोखरीबाट सर्न सक्छ । यस्तो इन्फेक्सन हुँदा सेतो गोलादार दाना देखिन्छ । प्रायःजसो अनुहार, घाँटी र शरीरको दोब्रिने भागहरूमा यस्तो समस्या देखिन्छ । यसै गरी पौडी पोखरीबाट छालाको एलर्जी, छालाको टीबी र विभिन्न प्रकारका ब्याक्टेरियल इन्फेक्सन सर्न सक्छ । घाउ खटिरा, फंगस र ढुसीबाट छालामा हुने संक्रमण पनि पौडी पोखरीबाट सर्छ ।
पौडी पोखरीको पानी सफा देखाउन प्रयोग गरिने क्लोरिनको मात्रा सही हुनुपर्छ । तोकिएको अवधिमा नयाँ सफा पानी पौडी पोखरीमा राख्ने गर्नुपर्छ । क्लोरिनको मात्रा बढी भएको पौडी पोखरीमा पौडिँदा छालामा त असर गर्छ नै यसले कपाललाई पनि सुक्खा बनाउँछ । जसले गर्दा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ । छालालाई सुक्खा बनाउँछ । छाला चिलाउने र घाउ खटिरा देखिन सक्छ । क्लोरिनकै कारण कपालको प्राकृतिक रङ बदलिएर अर्कै रङको हुन सक्छ । कपालको स्वाभाविक रङ नै बिगारिदिन्छ यसले ।
धेरै भीड हुने पौडी पोखरीमा सकेसम्म पौडिन नगएकै राम्रो हुन्छ । बच्चाहरूलाई सकेसम्म व्यावसायिक पौडी पोखरीमा पौडी खेल्न पठाउनु हुन्न । पौडी खेलाउन लानु नै परे पनि पौडी पोखरीको सरसफाइ र पानीको गुणस्तरबारे राम्रोसँग बुझेरमात्र लग्नुपर्छ । आफूमा कुनै छाला वा यौनाङसम्बन्धी सरुवा रोग छ भने पौडी पोखरीमा नजाँदा नै अरूलाई रोग सर्ने सम्भावना कम हुन्छ । स्विमिङ क्याप र चस्मा लगाएरमात्र पौडी खेल्ने गर्नुपर्छ । जसले गर्दा पौडीका कपाल र आँखामा हुने असर कम गर्न सकिन्छ । पौडी पोखरीमा पस्नुअघि र पौडी खेलिसकेपछि सफा पानीले नुहाउने गर्नुपर्छ । पौडी खेलेपछि छालामा कुनै समस्या आयो भने तुरुन्तै आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञकोमा गएर उपचार गराउनुपर्छ । 

Leave A Comment