पर्यटनमा बढ्यो लगानी

बिहिबार, ३० भदौ २०७३, ११ : ५७ दिलीप पौडेल , Kathmandu
पर्यटनमा बढ्यो लगानी

नेपालका व्यापारिक घराना सेवामूलक उद्योगमा आकर्षित भएका छन् । उत्पादनमूलक उद्योगसँगै पर्यटन उद्योगमा लगानी बढाएका छन् । होटलमा लगानी गर्न निजी क्षेत्र उत्साहित देखिएको छ ।
अर्बपतिको सूचीमा रहेका विनोद चौधरीको चौधरी ग्रुपले समेत होटलमा लगानी बढाएको छ । विदेशमा समेत स्टार होटलमा लगानी गरिरहेको चौधरी समूहले पछिल्लो पटक चितवनमा चारतारे होटल  ‘ताज सफारी रिसोर्ट’ सञ्चालनमा ल्याएकोे छ । बैंकिङ क्षेत्रमा स्थापित व्यापारिक घराना आईएमई समूहले केवलकार बनाएपछि चन्द्रागिरी डाँडामा चारतारे होटल निर्माण गरिरहेको छ । अस्ट्रेलियाको अर्बपतिको सूचीमा रहका गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेको नेतृत्वमा आठ अर्ब रुपैयाँको लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको चेन होटल ‘शेराटन’ निर्माणाधीन छ ।
औद्योगिक घराना शंकर ग्रुपले पाँचतारे होटल हिल्टन, चिनी उद्योगी शशिकान्त अग्रवालले सात अर्ब रुपैयाँ लगानीमा काठमाडौँमै पाँचतारे मेरियट सञ्चालन गर्दै छन् । पृथ्वीबहादुर पाण्डेले ठमेलको छायादेवी कम्प्लेक्समा स्टार होटल निर्माण गरिरहेका छन् ।
मुलुक शान्ति प्रक्रियामा गएसँगै व्यापारिक घरानाको लगानी पर्यटन क्षेत्रमा बढेको छ । विदेशी लगानीकर्ताको संयुक्त लगानीमा अन्तर्राष्ट्रियस्तरका चेन होटलदेखि नेपालकै व्यापारिक घरानाले पर्यटन उद्योगमा पछिल्लो पटक अर्बौं रुपैयाँ लगानी गरेका छन् ।
पर्यटन उद्योगमा पछिल्लो पटक करिब एक सय अर्ब रुपैयाँ थपिएको लगानीकर्ता बताउँछन् । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) अनुसार हालसम्म होटल उद्योगमा करिब तीन खर्ब रुपैयाँ बराबर लगानी भइसकेको छ ।
नेपालको प्राकृतिक सुन्दरतालाई ‘सेल’ गर्न सकिने भएपछि व्यवसायीहरू पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित भएका हुन् । पहिलैदेखि पर्यटन क्षेत्रमा लगानी गरिरहेका राजेन्द्र बजगाईं र सिल्भर हेरिटेज समूहले उपत्यका बाहिर पनि लगानी बिस्तार गरेका छन् । सो समुहले चार अर्ब रुपैयाँको लगानीमा भैरहवामा पाँचचारे टाइगर प्यालेस रिसोर्ट र झापा–मेचीनगरमा पनि होटल सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौँको सोल्टी होटलले नेपालगञ्जमा चारतारे होटल निर्माणकार्य अघि बढाएको छ । उड्डयन क्षेत्रमा लगानी गरिरहेका आङछिरिङ शेर्पा समूहले पनि चारतारे निर्माण गर्दै छ ।
हानका महासचिव विनायक शाहले यहाँ सम्भावना देखेर नै विदेशीसहित स्वदेशी लगानीकर्ताले होटल निर्माण गरिरहेको बताए । ‘यहाँका सबै व्यापारिक घरानाले पछिल्लो पटक होटलमा लगानी गरिरहेका छन्,’ शाहले भने, ‘यो क्षेत्रको सम्भावना देखेर नै आकर्षित भएका हुन् ।’
‘भारत र चीनका पर्यटकलाई मात्र तान्न सके पर्यटन व्यवसायले छलाङ मार्छ,’ शाहले थपे । नेपालको पर्यटन उद्योगमा युरोप, अमेरिकाका मात्र पर्यटक कुरेर बस्न नहुने उनले बताए । ‘हाम्रा दुई छिमेकीका करोडौँ मान्छे विदेश घुम्न जान्छन्,’ शाहले भने, ‘तिनै पर्यटक तान्नसके पुग्छ ।’
नेपालमा पर्यटन उद्योगको रूपमा रहेको होटल व्यवसायमा लगानी भित्रिने क्रम जारी छ । अर्बाैं रुपैयाँमा अन्तर्राष्ट्रिय स्तरका होटल निर्माणसँगै पर्यटकीय गन्तव्यहरूमा करोडभन्दा बढीको लगानीमा धमाधम होटल आइरहेका छन् । राजधानीपछिको पर्यटकीय गन्तव्य पोखरा, चितवन, भैरहवा, धनगढी, विराटनगर, धुलिखेल, नगरकोटलगायत स्थानमा पनि साना लगानीकर्ताको ओइरो लागेको छ । पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि ती क्षेत्रमा नयाँ होटल पनि निर्माण भइरहेका छन् ।
नेपालको पर्यटकीय सम्भावना देखेर लगानीकर्ता आकर्षित भएका हुन् । पछिल्लो पटक गरिएको अर्बौंको लगानीले मुलुकका प्रमुख पर्यटन गन्तव्यको रूपमा विकास हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय स्तरका चेन होटलले समेत यहाँ लगानी गरेकोले ती होटलमार्फत पनि नेपालमा विदेशी पर्यटक भित्रिने अपेक्षा छ । भिजन ट्वान्टी–ट्वान्टीअनुसार सन् २०२०मा २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । ‘सरकारको योजनाअनुसार २० लाख पर्यटक आउन थाले अहिलेका होटलको क्षमताले थेग्दैन,’ पर्यटन बोर्डका निर्देशक घनेन्द्रबहादुर श्रेष्ठले भने, ‘लगानीकर्ताको आकर्षण हुनु स्वाभाविक हो ।’ सरकारी तहबाट पनि विदेशी पर्यटक आकर्षित गर्न पहल भइरहेको उनले बताए । ‘प्राकृतिक रूपमा सुन्दर नेपालको पर्यटकीय सम्भावना दिनानुदिन बढ्दै गएको छ,’ उनले भने, ‘बोर्डले पनि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’
सन् २०१४मा आठ लाख पर्यटक नेपाल भित्रिएको भए पनि भूकम्प र नाकाबन्दीले खस्केपछि २०१६मा करिब सात लाख भित्रिने अनुमान पर्यटन व्यवसायीको छ । २०१४ मा ५ लाख ३८ हजार पर्यटक नेपाल आएका थिए । नेपालको पर्यटन उद्योगमा प्रत्यक्ष करिब तीन लाखले रोजगारी पाएका छन् । एक पर्यटकको सेवा गर्दा प्रत्यक्ष—अप्रत्यक्ष ११ जनालाई रोजगारी मिन्छ भन्ने मान्यता छ । पर्यटक भित्रिएपछि ट्याक्सी ड्राइभरदेखि होटल, गाइड, पाहुनाको लागि आवश्यक पर्ने तरकारी, खाद्यान्न, रेस्टुरेन्ट लगायतले सेवा दिने भएकाले रोजगारी सिर्जना भएको हुन्छ ।

 

Leave A Comment