मण्डलामा ‘आरोप’

शुक्रबार, ३१ भदौ २०७३, १० : १५ शुक्रवार , Kathmandu
मण्डलामा ‘आरोप’

अमेरिकामा बसेको शरद (पिटर प्रिन्स) छोटो छुट्टीमा नेपाल आएको छ । घरमा दुई दिदीबहिनी मात्र छन् । शरदको आमाबुबासमेत अमेरिकामा रहेकाले नेपाल आएको बेला उसले बालसखा उत्सव (सन्दीप श्रेष्ठ)लाई बेलाबेलामा आएर बहिनीहरूको ख्याल गरिदिन आग्रह गर्छ । तर, उसले उक्त आग्रहलाई बेवास्ता गर्छ ।
बहिनीहरू सौरभी (एना देउजा) र मौसमी (परीक्षा लामिछाने) को पनि यही गुनासो छ । उनीहरू शरदसँग मुखै फोरेर भन्छन्, ‘उत्सव कि त आमाबुबा भएको बेला आउँछ कि त तपाईं भएको बेला ।’
यो कथांश हो मण्डलामा चलिरहेको नाटक ‘आरोप’को । सौरभीलाई उत्सवलाई के आरोप लगाउँछे र त्यो आरोपले कसरी उत्सव र मौसमीको प्रेमको दुनियाँ उजाड हुन्छ ? एक घण्टा समयावधिको नाटक यसैको सेरोफेरामा घुमेको छ ।
नाटकको कथा सरल छ । तर, पहिलोपल्ट निर्देशनमा हात हालेका विकास जोशी र नाटक लेखक असीम खनालले कथालाई रोचक तरिकाले भन्ने कोसिस गरेका छन् । जसमा पात्रहरूको स्वाभाविक अभिनयले नाटकलाई ‘हेरुन्जेल रमाइलो लाग्ने’ बनाएको छ । नेपाली रंगमञ्च अनुवाद नाटकमा ज्यादा भर परेको आरोप लागिरहेका बेला विकासले मौलिक नाटकमार्फत निर्देशनमा डेब्यु गर्नु सुखद संकेत हो ।
निर्देशक जोशीले जीवनको एक कालखण्डमा अनुभूत गरेको कुरालाई नाटकको रूपमा उतार्न खोजेको बताए । ‘मैले थुप्रै यस्ता चरित्रहरू देखेको छु जो यो नाटकमा झैँ ईष्र्याको जलनमा परेका छन्,’ विकासले भने, ‘जीवनमा एकदमै ठूलाठूला कुराभन्दा सानासाना कुराले हामीलाई ज्यादा प्रभावित गरिरहेका हुन्छन् । मैले त्यस्तै एउटा विषय टिपेको हुँ ।’  
नाटकमा परीक्षा लामिछाने, एना देउजा, सन्दीप श्रेष्ठ र सुवर्ण श्रेष्ठको अभिनय रहेको छ । भदौ १७ गतेदेखि मण्डला नाटकघरमा सोमवारबाहेक हरेक साँझ मञ्चन हुँदै आएको नाटक असोज २ गतेसम्म चल्नेछ ।

 

Leave A Comment