चलचित्रमा हुन नसकेको राजनीतिकरण

शुक्रबार, ३१ भदौ २०७३, १० : ५९ माधव ढुङ्गेल , Kathmandu
चलचित्रमा हुन नसकेको राजनीतिकरण

राजनीतिकरणले गर्दा चलचित्र क्षेत्रको विकास हुन सकेन भन्ने गुनासो धेरैको छ । यसलाई भ्रष्टीकरण, बर्बादीकरण जस्तो नकारात्मक अर्थमा हेरिएको छ । राजनीति गरेरै मन्त्री वा प्रधानमन्त्री भएका व्यक्तिहरूले समेत राजनीतिकरण हुन दिन्नँ भनेर भाषण ठोक्न अप्ठ्यारो मान्दैनन् । मन्त्री भएकाहरूका लागि पनि राजनीतिकरण शब्द यतिसारो घिनलाग्दो किन हुन्छ ? कि कसैले ‘फोहोरी खेल’ भनेझैँ राजनीति गर्नु नै खासमा घिनलाग्दो काम हो ?
मान्छेले राजनीति दुई कारणले गर्छ । जे भइराखेको छ, हुँदै आएको छ त्यसलाई जोगाउनु राजनीति गर्नुको पहिलो कारण हो । आफ्नो प्रभुत्व जोगाउनु, आफ्नो हित गर्ने खालको अर्थतन्त्र जोगाउनु, विद्यमान कानुन र संस्कृति जोगाउनु । अहिलेकै व्यवस्थालाई कसरी हुन्छ जोगाउनु राजनीति गर्नुको एउटा कारण हो । यसले परिवर्तनलाई रोक्नका लागि काम गर्छ ।
परिवर्तन गर्नु वा बदल्न चाहनु राजनीति गर्नुको दोस्रो कारण हो । जसरी व्यवस्थालाई जोगाउनका लागि राजनीति गरिन्छ, त्यसैगरी भइराखेको चालचलन, परिपाटी, व्यवस्था र विधि बदलेर नयाँको स्थापना गर्न चाहनेहरूले पनि राजनीति नगरी धरै छैन ।
यी दुईमध्ये एउटा धार हामी सबैको छ । बुझेर वा नबुझेर, जानेर वा नजानेर हामी सबै नै राजनीतिमा संलग्न छौँ । कोही जे छ त्यसलाई जोगाउन चाहन्छौँ र त्यस्तै चाहनेहरूको पक्ष लिन्छौँ । कोही त्यसलाई बदल्न चाहन्छौँ र बदल्नेहरूको पक्ष लिन्छौँ । मलाई राजनीतिसँग कुनै मतलब नै छैन भन्नेहरूले पनि जे छ ठीकै त छ भनेर भइराखेको व्यवस्थालाई जोगाउने खालको यथास्थितिवादी राजनीति गरेकै छौँ । जे छ ठीकै छ भन्नुको अर्थ परिवर्तन आवश्यक छैन भन्नु नै हो ।
राजनीति गर्नलाई पार्टी खोलेर बस्नै पर्छ, मन्त्री वा अध्यक्ष बन्नै पर्छ भन्ने छैन । मलाई भोट देऊ भन्दै हिँड्नु मात्रै राजनीति होइन । कविता लेख्नु, नाटक गर्नु, पत्रिका छाप्नु वा यस्तै कुनै माध्यम अपनाएर आफ्ना भावनाहरू, विचारहरू अभिव्यक्ति गर्नुको कुनै न कुनै उद्देश्य हुन्छ । यस्ता उद्देश्य निजीभन्दा बढी सामाजिक सरोकारसँग सम्बन्धित हुन्छन् । कुनै अन्याय, विभेद, शोषणजस्ता सामाजिक सरोकारका विषयमा बोल्नु भनेको राजनीति गर्नु नै हो । यस्ता कुरामा नबोल्नु भनेको पनि जे चल्दै आएको छ, ठीकै छ भनेर त्यसको समर्थन गर्नु हो । त्यहाँ पनि नबोलेर समर्थन गर्ने राजनीति त हुन्छ नै । त्यसैले चलचित्र बनाउने काम खासमा राजनीतिक काम पनि हो । राजनीतिकरणले चलचित्र क्षेत्रलाई बर्बाद ग¥यो भन्नु सही दृष्टिकोण हुन सक्दैन ।
जसले राजनीतिकरणले चलचित्र क्षेत्रलाई बिगा¥यो भनेका छन् उनीहरूको आशय पार्टी राजनीतिसँग गाँसिएको छ । चलचित्रकर्मीहरू कांग्रेस, एमाले, माओवादी, मधेशी वा जनजाति भएर विभिन्न गुटमा बाँडिँदा चलचित्रको विकास हुन सकेन भन्ने हो । खासगरी चलचित्र विकास बोर्डको नेतृत्वसँग यो प्रश्न ज्यादा गाँसिएको छ । विकास बोर्डको अध्यक्ष चलचित्रकर्मीलाई नबनाएर पार्टीको कार्यकर्तालाई बनाइयो भन्ने चिन्ता यहाँ देखिन्छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष पार्टी कार्यकता भएकाले चलचित्र क्षेत्र बर्बाद भयो भन्नेहरूले पनि विकास बोर्डको अध्यक्ष पदमा चलचित्रकर्मी आसीन भएका बेलामा चाहिँ नेपाली चलचित्रको विकास हुन सकेको थियो भनेर भन्न सक्दैनन् । आजसम्म अध्यक्ष हुनेहरूमा अधिकांशतः चलचित्रकर्मी नै छन् । चलचित्रकर्मी नै अध्यक्ष भएका बेलामा चलचित्र विकास बोर्डले के कति राम्रा काम गर्न सक्यो र पार्टी कार्यकता अध्यक्ष बन्दा के कति क्षति भयो ? चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्रकर्मी नै आसीन हुनु राम्रो कुरा अवश्य हो तर चलचित्रकर्मी अध्यक्ष हुँदैमा चलचित्र क्षेत्रको विकास हुन सक्छ भन्ने कुरा चाहिँ तथ्यहरूले प्रमाणित गर्न सक्दैनन् ।
चलचित्र क्षेत्रको विकासका लागि अध्यक्ष पदमा चलचित्रकर्मी रह्यो कि गैरचलचित्रकर्मी रह्यो भन्ने कुरा धेरै महŒवको कुरा हुँदैन । किनभने, विकास बोर्डको अध्यक्षको काम चलचित्र बनाउनु होइन । अध्यक्षले लेखेर, खिचेर, निर्देशन गरेर वा अभिनय गरेर चलचित्र राम्रो हुने होइन । चलचित्रको विकास हुने कि नहुने भन्ने कुरा चलचित्रलाई राज्यले हेर्ने दृष्टिकोण वा नीतिको प्रश्न हो । विकास बोर्डको अध्यक्षले चलचित्र क्षेत्रको अपेक्षित विकास हुन नसक्नुका कारण पहिचान गर्न सकेको छ कि छैन, ती समस्याको समाधान गर्ने स्पष्ट योजना र कार्यान्वयनको क्षमता राख्छ कि राख्दैन भन्ने कुराले यसको विकासलाई प्रभावित गर्छ । विकास बोर्डको अध्यक्ष चलचित्रकर्मी होस् वा गैरचलचित्रकर्मी नै किन नहोस्, स्पष्ट सोच, योजना र कार्यान्वयनको दृढ इच्छाशक्ति भएको व्यक्ति भयो भने, उसले राज्य यन्त्रलाई आफ्नो कुरामा सहमत गराउन सक्यो भने चलचित्र क्षेत्रको विकास हुन सक्ने हो । त्यसका लागि उसमा नेपाली समाज, राजनीति, आवश्यकता र गन्तव्यका बारेमा प्रशस्त जानकारी र स्पष्ट धारणाहरू हुनै पर्छ ।

आफूलाई राजनीति निरपेक्ष ठान्ने वा पार्टी राजनीति नरुचाउनेहरूले पनि आलोचनै गर्नका लागि किन नहोस् तर समाज कता जान खोज्दै छ, समाजमा कस्ता अन्तर्विरोधहरू छन्, तिनको गहिराइमा जाने प्रयत्न गर्नै पर्ला । राजनीतिलाई आलोचना गरेर शुद्ध चलचित्रकर्मी बन्ने नाउँमा वैचारिकतालाई नै अस्वीकार गर्ने हो भने त्यसबाट स्तरोन्नतिको अपेक्षा कसरी गर्ने ? राजनीतिक आस्थासहित कुनै संगठनमा आबद्ध चलचित्रकर्मीले पनि राजनीतिक नियुक्ति वा लाभको पदका लागि संगठनको उपयोग गर्ने सोच बलियो छ, चलचित्रको चिन्ता र चिन्तन खासै छैन । राजनीतिका नाममा पार्टी राजनीति वा शक्तिको राजनीति हाबी हुनु हाम्रो दुर्भाग्य हो ।
कांग्रेस, एमाले वा माओवादी राजनीतिक आदर्शप्रति झुकाव राख्ने चलचित्रकर्मीले आफ्नो संगठनमा चलचित्रका बारेमा, यसको प्रकृति र अवस्थाका बारेमा जति गम्भीरतापूर्वक बहसहरू गर्छन्, जति परिश्रमपूर्वक अनुसन्धान र खोजहरू गर्छन्, त्यसको असर चलचित्र विकास बोर्डमा स्वतः देखिन्छ, चाहे त्यसको नेतृत्व गर्न चलचित्रकर्मी वा गैरचलचित्रकर्मी जोसुकै आओस् ।
राजनीतिक भनिएका चलचित्रकर्मीसँग पनि राजनीतिक सोच र सपना भएन । उनीहरू पार्टीका कार्यकर्ता त भए तर भोट दिन र चुनाव प्रचार गर्नका लागि मात्रै भए । समाजको आधारभूत चरित्र र अन्तर्विरोधको जरासम्म पुगेर चलचित्रमार्फत बहस सिर्जना गर्नका लागि जुन प्रकारको राजनीतिक चरित्र उनीहरूमा हुनुपथ्र्यो, त्यो भएन । चलचित्रकर्मीहरू पार्टीकरण त भए तर चलचित्र कलाको राजनीतिकरण हुन सकेन ।

Leave A Comment