निगालोको चोया पनि

आइतबार, ०९ असोज २०७३, ०१ : ५५ शुक्रवार , Kathmandu
निगालोको चोया पनि

–सङ्गीतश्रोता

निगालोको चोया पनि खिप्न जाने मान्द्रो
बुन्न जाने गुन्द्री बन्छ परालको तान्द्रो

जिबा मेरा आफैँ बुन्थे केतुकीका नाम्ला
सुन्पाटका पोया झिकी बरिया र दाम्ला
ढुङ्ग्रे बाँस ठुन्काएर ख्याङ्ग्रे डोको बुन्थे
डाला, नाङ्ला, थुन्से बुन्थे भकारी नि बुन्थे

आँवै पनि बाबियाको गाँज काट्ने गर्थिन्
टुकी बाली रातभरि जेउरी बाट्ने गर्थिन्
कैले गुन्द्री ठूला–ठूला सत्रघरे बुन्थिन्
कैले भने पिर्का जत्रा थर्कटी नि बुन्थिन्

हिजो थियो सबैसित सीप थरिथरि
मलाई पनि भन्थे सँधै सिक घरिघरि
नसिक्नाले आज व्यर्थै बाँचिएको जस्तो
चार हात खुट्टा सबै भाँचिएको जस्तो

निगालोको चोया पनि खिप्न जाने मान्द्रो
बुन्न जाने गुन्द्री बन्छ परालको तान्द्रो ।

 

Leave A Comment