बलिप्रथाविरुद्ध ‘काजीबा’

बिहिबार, १३ असोज २०७३, १२ : ११ शुक्रवार , Kathmandu
बलिप्रथाविरुद्ध ‘काजीबा’

गाउँघरमा ‘काजीबा’को सानमान र स्थान बेग्लै हुन्छ । कुनै गाउँको त्यही काजीबा चाडबाडका बेला पशु बलि दिन असाध्यै सोखिन हुन्छ । बलिका लागि मार हान्ने हतियार कयौँ दिनदेखि धार लाइरहेको हुन्छ ऊ । यसैक्रममा ऊ एक्कासि सपनामा यमलोक पुग्छ । त्यहाँ यमराजले उसलाई पृथ्वीलोकमा गरेका पापकर्मको सजाय दिन्छन् । बलिका नाममा हिंस्रक पाराले पशुवध गरेको भन्दै यमराजले काजीबालाई बोको बनाएर पृथ्वीस्थित उनकै घरमा पठाइदिन्छन् । जहाँ काजीबाकै छोराहरूले बोका बनेका काजीबाकै गर्धनमाथि बलि दिन हतियार सोझ्याइरहेका हुन्छन् । आफैँबाट छोराहरूले सिकेको कर्मले आफैँलाई सिध्याएको पाठ सपनाबाट सिक्दै उनी निद्राबाट बिउँझन्छन् ।
काठमाडौँ, थिएटर मलमा देखाइएको नाटक ‘काजीबा’को दृश्य हो यो । पशुबलिका विभिन्न आयाम समेटेर प्रस्तुत गरिएको नाटकमा दशैँको दृश्य पनि उत्तिकै रोचक छ । दशैँको मुखमा देखाइएको यो नाटकमा काजीबाले आफन्त, परिवारसँग बसेर धुमधामसँग बडादशैँ मनाउँछन् । टीका, जमरासहित आशीर्वाद दिन्छन् ।
नेपाल अहिंसाप्रेमी शाकाहारी समाजले प्रस्तुत गरेको नाटकको कथा परिकल्पना समाजका उपाध्यक्ष दुर्गानाथ दाहालले गरेका हुन् । नाटकको निर्देशन अजय अधिकारी ‘सुशील’ले गरेका थिए । नाटकमा अभिनय गर्नेहरूमा अधिकांश समता स्कुलमा अध्ययनरत विद्यार्थी थिए । नाटकमा राजकमल खरेल, गोपाल गिरी, दिनेश रसाइली, सुमन बैंजु, प्रतीक नेपाल, एलिना कोइराला, प्रभाकर सिग्देल, पुरुषोत्तम चौलागाईं, रञ्जित सिग्देल, रविना नेपाल लगायतको अभिनय रहेको थियो ।

शिल्पीमा ‘थाङ्ला’
रंगकर्मी अनुप बरालले निर्देशन गरेको नाटक ‘थाङ्ला’ काठमाडौँ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । सरुभक्त लिखित नाटकमा बहुपति प्रथाको कथा छ ।
नाटकभित्र घरमूली ग्याल्पो (प्रकाश घिमिरे) तिब्बत गएका हुन्छन् । घरमा उनकी पत्नी लोप्साङ (दिया मास्के), भाइ पेम्बा (रोय श्रेष्ठ) र छोराछोरी मात्र हुन्छन् । तीन महिनापछि फर्कंदा पेम्बाले लोप्साङलाई पत्नी बनाउने छाँटकाट नदेखाएकाले ग्याल्पो आगो हुन्छन् । किनभने, उनी केल्साङ (स्वस्तिका राजभण्डारी) को प्रेममा छन् । यस्तै कथाको वरिपरि ‘थाङ्ला’ घुमेको छ ।
नाटकमा प्रकाश दाहाल, नमिता लिम्बू, सूर्यमान लिम्बू, केशव राई, दर्पण पराजुली आदि कलाकारले पनि अभिनय गरेका छन् । असोज १७ गतेसम्म नाटक चल्नेछ ।

 

Leave A Comment