ऐना

बिहिबार, १३ असोज २०७३, ०१ : ०३ शुक्रवार , Kathmandu
ऐना

नवीनप्रकाश श्रेष्ठ

ओ ज्ञानहरि साहुजी,
भनिदेऊ न मलाई
बडेमानको ऐना कहाँ पाइन्छ ?
मलाई राख्नु छ एउटा पारितिर देखिने बडेमानको ऐना
सिंहदरबारको मूल ढोकाअगाडि

साहुजी,
ऐना यस्तो होस्
सिंहदरबार मूल ढोकाअगाडि ठड्याउँदा
सिंगो सिंहदरबार र दरबारभित्रका महाराजाहरू देखियून् नांगै
पारदर्शी त्यही ऐनाबाट
भोकले तडपिएको कर्णाली देखियोस्
देखियोस् भूकम्पले भत्काएका गोरखा र सिन्धुपाल्चोक
बाढीले डुबाएको तराई
पहिचानको संकटमा परेको काष्ठमण्डप

साहुजी,
ऐनाले एक्सरे, भिडियो एक्स रे
र, आधुनिक सिटी स्क्यानको पनि काम गरोस्
सिंहदरबारभित्रको सरकार र महाराजाहरू
मूल ढोका भएर फर्किंदा
मलाई हेर्नु छ
तिनका भुँडी के कति कारणले गणेशको जस्तै भएका हुन् ?
मलाई हेर्नु छ तिनले आँखामा लगाएको
कन्ट्याक्ट लेन्स कुन देशमा बनेको हो ?
के कारण तिनीहरू आफ्नै देशलाई
परदेशी नजरबाट मात्र हेर्छन् ?
मलाई हेर्नु छ ओ ज्ञानहरि साहुजी,
तिनको दिमागमा कसरी छिरेका हुन् स्याउँस्याउँ
सल्बलाइरहेका जुकाहरू ?

मलाई लाग्छ
तिनका वस्त्रहरूमा पनि पनि दागैदाग हुनुपर्छ
मलाई हेर्नु छ
दौरा सुरुवाल वा सेता सर्टमा नदेखिएका
गनाएका फोहोर र फोहोरका टाटाहरू
के केका हुन् ?

मलाई देखाउनु छ
सिंहदरबारबाट निक्लिरहेका सरकार र महाराजाहरूलाई
सिंहदरबारको मूल ढोकाबाटै त्यही ऐनामार्फत
उही पर भद्रकालीतिर
तिनले बेचेरै सकिन लागेको राष्ट्रियता
भोक र शोकले थलिएका जनता
पछाडि धकेलिँदै गएको देश

मलाई हेर्नु छ र देखाउनु छ
उही सिसाजस्तो ऐनामार्फत
सिंहदरबारबाट निक्लिरहेका
सरकार र महाराजाहरूलाई नांगै र छ्यांगै ।

Leave A Comment