टिकट पाउनै महाभारत !

शुक्रबार, १४ असोज २०७३, ०९ : ३० हिमाल लम्साल , Kathmandu
टिकट पाउनै महाभारत !

बसको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । यातायात व्यवसायीले काठमाडौँका १२ स्थानबाट अग्रिम टिकट खुला गरे पनि यात्रुको भीड चाहिँ नयाँ बसपार्ककै काउन्टरमा बढी देखिन्छ । नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको लाइन लामै छ । घण्टौँ लाइनमा बस्दा पनि टिकट नपाएको गुनासो धेरैले गरिरहेका छन् ।
शनिवार दिउँसो नयाँ बसपार्कमा भेटिएकी धनगढीकी सुस्मिता चन्दले टिकट नपाएको बताइन् । ‘टिकटको अग्रिम बुकिङ खुला भएको दुई दिन मात्र भा’छ । अहिले पनि टिकट पाउन गाह्रो छ,’ उनले भनिन्, ‘सात घण्टादेखि लाइनमा उभिरा’छु । तैपनि टिकट पाइएन ।’
‘यातायात व्यवसायीहरू अगाडिका सबै सिट प्याक भइसके लास्टका सिट मात्रै छन् भनेर हल्ला फिजाइरहेका छन् । खोई के हो के ! यस्तै पाराले त कसरी घर पुग्ने होला ?’ सुस्मिताले थपिन् ।
सुस्मिताजस्तै गुनासो छ बझाङका सुवास सिंहको । बसका अघिल्ला चार सिटमा यातायात व्यवसायीले मनोमनी गरेको गुनासो उनको छ । ‘टिकट बुकिङ खुला भएकै दिन जाँदा पनि भने जस्तो सिट पाइएन,’ उनले भने, ‘यातायात व्यवसायीले पछिल्ला सिट बेच्न अघिल्ला सिट सकिसकेको बहाना बनाइरहेका छन् ।’ धेरैजसो यातायात व्यवसायीले अघिल्ला चारदेखि आठ सीट आफ्नो नाममा राखेर अन्य बेच्ने गरेको भनाइ सुवासको छ ।
कीर्तिपुरबाट बिहानै टिकट बुकिङ गर्न नयाँ बसपार्क आइपुगेका राजेन्द्र लामाले टिकट नपाएको बताए । ‘चार घण्टा लाइनमा बसिसकेँ । अहिलेसम्म टिकट हातमा परेको छैन,’ उनले भने, ‘टिकट सकियो भन्छन् । खुल्ला हुनेबित्तिकै कसरी सकियो ? अचम्म छ बा ! बुझ्नै गाह्रो ।’
एचएको परीक्षा दिएर हतारिँदै टिकट बुकिङका लागि नयाँ बसपार्क पुगेकी धनगढीकी रामेश्वरी सिंह पनि टिकट नपाइने चिन्तामा देखिइन् । ‘भर्खरै परीक्षा दिएर टिकट बुकिङ गर्न आएकी हुँ । टिकट नपाएर यसपालि दशैँमा घरै नगइएला जस्तो पो छ,’ उनले भनिन् ।
सुदूरपश्चिम यातायात व्यवसायी समितिका काउन्टर इन्चार्ज मिन पनेरुले सबै यात्रुले एसी तथा डिलक्स बसको मात्रै टिकट खोज्दा समस्या भएको बताउँछन् । ‘सबै यात्रुले अगाडिका चार सिट मात्रै खोज्छन्,’ पनेरुले भने, ‘जसले पनि एसी र डिलक्स बसकै टिकट खोज्छन् । साधारण टिकट त किन्नै मान्दैनन् । त्यसैले समस्या भएको हो ।’
यातायात व्यवसायीले खाना खान भनेर तीन घण्टा काउन्टर बन्द गरेको समेत यात्रुहरू बताउँछन् । बसपार्कमा भेटिएका पाल्पाका बाबुराम गैरेले भने, ‘तीन घण्टा काउन्टर बन्द हुँदा निकै सास्ती भयो,’ उनले भने,  ‘आलोपालो गरेर भए पनि कर्मचारीहरूले काउन्टर खोल्नुपर्ने हो । तर, त्यसो कहाँ गर्छन् ।’
महानगरीय प्रहरी प्रभाग गंगबुका प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले अग्रिम टिकट बुकिङबारे गुनासो आए तत्कालै सम्बोधन गर्ने बताए । ‘जनताका गुनासोलाई तत्कालै सम्बोधन गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘यात्रुलाई शान्ति सुरक्षा दिन तयार छौँ ।’
यात्रुका तर्क

 टिकटका लागि घण्टौँ लाइनमा
राजेन्द्र लामा, बैतडी
कीर्तिपुरबाट टिकट बुकिङका लागि बिहानै आएको हुँ । तर, अहिलेसम्म भने जस्तो टिकट पाइएको छैन ।
नवीन चौधरी, कैलाली
कलंकीबाट बिहान चार बजे उठेर टिकट काट्न आएँ । सात घण्टा लाइनमा बसिसकेँ । तैपनि, खोजेजस्तो सिट पाइएन ।
रेनु सिंह, बाजुरा
बिहान चार बजेदेखि नै लाइनमा बसेकी हुँ । तर, पनि आफूले खोजेजस्तो सिट पाइएन । यातायात व्यवसायी अगाडिका सबै टिकट बुक भइसके भन्छन् ।
गोपाल साह, बर्दिया
टिकट अग्रिम बुकिङमा कुनै सिस्टम छैन । पहँुचवाला भित्र छिरेकै छन् । हामी सर्वसाधारण चाहिँ लाइनमा कुरेकाकुरे हुनेभयो ।
प्रवीण खड्का, नेपालगञ्ज
लाइन बसेको घण्टौँ भइसक्यो । टिकटै नपाइने भो ।
वसन्त केसी, प्युठान
टिकट काउन्टरमा मान्छे नै छैनन् । कति बेलासम्म कुर्नुपर्ने हो केही थाहा छैन !
कलावती धामी, दार्चुला
घण्टौँदेखि लाइनमा बसेकी छु । स–साना छोराछोरीलाई घरमा छाडेर आएकी हुँ । लाइनमा बस्दा धेरै गाह्रो भइसक्यो ।
मनीषा धामी, महेन्द्रनगर
आफूले भनेको समयमा टिकट पाइँदैन । अब जुन दिनको टिकट पाइन्छ त्यही दिन घर जाने हो ।
मोहन गौतम, धनगढी
यो बस रोज्ने समय होइन । जस्तो टिकट पाइन्छ, त्यस्तै बसमा जाने हो ।
कविता रिजाल, अर्घाखाची
काउन्टर बन्द भइसक्यो । अब तीन घण्टा लाइनमा नै बस्नुप¥यो । कतै छाडेर हिँडे पालो गइहाल्छ । त्यसैले यही कुरेर बस्नुपर्छ ।  
प्रेम केसी, जाजरकोट
भाडा महँगो भएर दशैँमा घर जानै गाह्रो । त्यसमा पनि टिकट पाइँदैन ।
विश्वनाथ भुसाल, धनगढी
परीक्षाको तयारी छोडेर पनि टिकट काट्न आउनुपरेको छ । अहिले टिकट बुकिङ नगरे दशैँमा घर जान पाइँदैन । सरकारले अनलाइन टिकट बुकिङको व्यवस्था गरिदिए, हामीजस्ता विद्यार्थीलाई सहज हुनेथियो ।
हरिकृष्ण जोशी, बैतडी
तीन घण्टा कुरेर बल्लतल्ल एसी बसको टिकट पाइयो । अब गइन्छ दशैँमा घर ।
सरस्वती सजेल, बाजुरा
तीन वर्षमा घर जान खोज्दा पनि यस्तो दुःख छ । बाजुरा पुग्नु छ, तर धनगढीसम्मको टिकट पाउन पनि धौधौ छ ।
दीपेन्द्र थापा, धनगढी
बनेपाबाट टिकट काट्न यहाँ आएको हुँ । एक दिनको पढाइ त टिकट काट्नै बित्यो । तैपनि, खोजेजस्तो टिकट पाइएन ।
गोविन्द थापा, बाजुरा
काठमाडौँबाट धनगढी जाने टिकटका लागि लाइनमा बस्नुप¥यो । धनगढी पुगेपछि फेरि लाइनमा बस्नैपर्छ । हाम्रो जीवन त लाइनमा बस्दाबस्दै बित्ने भो ।
कृतिबहादुर रोकाया, बाजुरा
लाइनमा कुरेर नेपालगञ्जको टिकट काटियो । त्यहाँबाट हवाइजहाजमा बाजुरा जानुपर्ला । टाढाको मान्छे ! जति दुःख भए नि चाडपर्वका बेला घर त जानै प¥यो !
जीवन चन्द, महेन्द्रनगर
घण्टौँ कुरेर बल्लबल्ल टिकट पाइयो । त्यो पनि लास्ट सिटको  । जे जस्तो भए नि वर्ष दिनमा आउने दशैँमा घर जानैप¥यो ।
गणेश देउवा, धनगढी
लामो रुटका बसले खाना खाने ठाउँमा मनपरी गर्छन् । एउटा मात्रै भएको होटेलमा रोकन्छन् । त्यहाँ एउटै अण्डाको पनि ८० रुपैयाँ असुल्छ । ठगैठग छन् देशमा ।
 

 

Leave A Comment