स्पा करिअर

आइतबार, १६ असोज २०७३, ०९ : ३७ अम्मर जिसी , Kathmandu
स्पा करिअर

शारीरिक मसाजलाई आधुनिक समाजले वैज्ञानिक पक्षसँग जोड्दै त्यसलाई स्पाका रूपमा आफ्नो स्वास्थ्यअनुकूल अपनाइरहेका छन् । यति मात्र नभई स्पालाई आकर्षक करिअरका रूपमा पनि धेरैले अंगालिरहेका छन् ।
विदेशी बजारमा स्पाको आकर्षण त छँदै थियो । नेपालमा पनि यसप्रतिको आकर्षण पछिल्लो समय बढ्दो छ । रोजगारी वा स्वरोजगारीको आकर्षक विकल्प बन्दै छ, स्पा । पहिलो पटक काठमाडौँमा खुलेर हाल देश तथा विदेशमा दर्जनौँ एकेडेमी तथा सर्भिस सेन्टर चलाउँदै आएको ‘ट्र्यान्कुलिटी इन्टरनेसनल ब्युटी एन्ड स्पा एकेडेमी’मा देखिने युवायुवतीको भीडले पनि यही जनाउँछ ।
छ दिनदेखि छ महिनासम्मको कोर्स
ट्र्यान्कुलिटीमा स्पा एन्ड मसाज थेरापिस्टका साथै ब्युटिसियन, हाउस किपिङ, रिसेप्सनिस्टलगायत स्वरोजगारी दिने किसिमका विभिन्न तालिम सञ्चालित छन् । सबैभन्दा धेरै प्रशिक्षार्थी स्पा एन्ड मसाजमै रहेको ट्र्यान्कुलिटीका सीईओ भुवन फैजूले बताए । उनका अनुसार खुलेको सात वर्षभित्रै लगभग एक हजारजनाले स्पा एन्ड मसाज थेरापिस्टको तालिम लिइसकेका छन् । स्पामा पनि विभिन्न मोडलका कोर्स सञ्चालित रहेको फैजू बताउँछन् । एड्भान्स्ड डिप्लोमा इन स्पा म्यानेजमेन्ट, डिप्लोमा इन स्पा थेरापी, एड्भान्स्ड स्पा थेरापी, एड्भान्स्ड मसाज थेरापीलगायत कोर्स उपलब्ध छन् ।
‘औपचारिक रूपमा यति नै अवधिको कोर्स वा यही मापदण्ड भन्ने यसमा हुँदैन,’ फैजूले भने, ‘सबै कुरा विद्यार्थीले सिक्न चाहेको कुरामा निर्भर गर्छ । हामीले छ दिनदेखि छ महिनासम्मको कोर्स सञ्चालन गरिरहेका छौँ । देश तथा विदेशमा इन्टर्नसिपको पनि व्यवस्था गरेका छौँ ।’
उनका अनुसार शुल्क पनि विद्यार्थीको आर्थिक अवस्था र कोर्सको समयावधिमा निर्भर गर्छ । १५ हजारदेखि १ लाख १५ हजार रुपैयाँसम्म खर्च हुन सक्छ । कुनै विद्यार्थीले ‘कमाएपछि तिर्छु’ भन्ने विकल्प पनि खुल्ला छ । शतप्रतिशत जब ग्यारेन्टीका साथ डिप्लोमा इन स्पा एन्ड मसाज थेरापिस्टको कोर्स सञ्चालित छ । ‘यहाँबाट तालिम गरेर आफैँले वा हामीले व्यवस्था गरिदिएको रोजगारीबाट कमाएको पैसाले पनि कोर्सको खर्च तिर्न सक्छन्,’ सीईओ फैजूले भने, ‘त्यसमा पनि हामीले तलबबाट काट्ने होइन । कमिसनबापत आएको रुपैयाँ काट्ने हो ।’ यसले आर्थिक अवस्था कमजोर भएका प्रशिक्षार्थीलाई सहयोग मिलेको उनले बताए ।
नेपालमा अत्याधुनिक स्पा थेरापी सेन्टरहरू खुल्दै छन् । तारे होटलहरू लगभग सबैमा थेरापी सेन्टर खुलिसके । ‘स्वदेशमै स्पा थेरापिस्टको जनशक्ति अपुग हुँदै गर्दा विदेशबाट आउने माग पूर्ति गर्न सक्ने अवस्थै रहेन,’ फैजूले भने, ‘सबैभन्दा धेरै स्पा थेरापिस्टको डिमान्ड मलेसियाबाट आउँछ । जहाँ हामीले पनि तीनवटा पाँचतारे होटलमा थेरापी सेन्टर सञ्चालन गरेका छौँ ।’ स्वदेश र विदेशमा गरी डेढ दर्जन थेरापी सेन्टर चलाउँदै आएको ट्र्यान्कुलिटी आफैँलाई जनशक्ति अपुग छ । दुबई, कतारलगायत खाडी मुलुकमा पनि स्पा सिकेका जनशक्तिको माग व्यापक छ । पढाइसँगै पार्टटाइम जब गर्न सजिलो होस् भनेर हिजोआज जापान, अस्ट्रेलिया, अमेरिकालगायत विकसित देशमा अध्ययनका लागि जाने विद्यार्थीले समेत यो सीप सिक्ने गरेका छन् ।
उनका अनुसार विभिन्न उद्देश्यसाथ प्रशिक्षार्थीहरू तालिम लिन्छन् । कोही यसैलाई पेशाका रूपमा अंगाल्न चाहन्छन् । कोही स्पा व्यवसायी बन्न चाहन्छन् । कोही वैदेशिक रोजगारीमा जाँदा प्राथमिकता र तलब दुवै बढ्ने अपेक्षामा हुन्छन् । ‘मलेसियामा मात्र स्पा थेरापिस्टको मासिक तलब तीन हजारदेखि चार हजार रिंगेटसम्म हुन्छ,’ फैजूले भने, ‘सीप नसिकेर विदेशमा जाँदा दुःख पाइने बुझेका व्यक्तिहरू स्पाको तालिम लिएर लाखौँ कमाउन सक्ने बनिरहेका छन् ।’
स्पा इन्स्ट्रक्टर रोजिना श्रेष्ठका अनुसार यो कोर्समा लगभग ८० प्रतिशत समय प्रयोगात्मक कक्षालाई दिनुपर्छ । बाँकी सैद्धान्तिक ज्ञानका कक्षाहरू हुन् । मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले केही चिकित्सकीय विषय पनि यसमा अध्ययन गर्नुपर्छ । विज्ञानका धेरै कुरा यसमा समेटिएका हुन्छन् । ‘सुरुसुरुमा त मलाई पनि गाह्रो अनुभव भएको थियो,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘तर, गर्दै सिक्दै जाँदा सजिलो काम रहेछ ।’
अर्की इन्स्ट्रक्टर रुक्मणि श्रेष्ठका अनुसार धेरैले स्पालाई शरीरको तनाव व्यवस्थापनका रूपमा मात्र लिने गरे पनि यो विभिन्न रोगको वैज्ञानिक उपचार पद्धति पनि हो । स्पाअन्तर्गत पर्ने साउना, स्टिम, ज्याकुजी, शिरोधारालगायत विधिबाट शरीरका रोगको निवारणसमेत गर्न सकिने उनको भनाइ छ ।
काठमाडौँ, सीतापाइलाका वर्गेनछोङ लामा स्पा कोर्स गर्दैछन् । स्पा थेरापिस्ट बन्ने सपनासहित तालिम लिँदै गरेका उनी भन्छन्, ‘यो काममा जीउ र मनको तालमेल मिलाउनुपर्ने हुन्छ । जीउको शान्तिसँगै मनमा पनि शान्ति मिल्ने गरी आफ्नो हातको कला प्रस्तुत गर्नुपर्छ ।’
झापाका रनकुमार राई बेरोजगार भएर बस्नु नपर्ने देखेर यो तालिम सिक्दै गरेको बताउँछन् । वैज्ञानिक मापदण्ड अपनाएर शरीरमा आनन्दको अनुभूति गराउन सक्नुपर्ने भएकाले स्पामा संवेदनशील हुनैपर्ने जोरपाटीकी डोल्मा लामाको भनाइ छ । पेशाकै रूपमा अंगाल्ने हो भने यसबाट कम्तिमा ३० हजार कमाउन विदेश जानुपर्दैन भन्ने उनको बुझाइ छ । कलेज पढ्दै गरेकी प्रतिभा गजुरेल पनि तीनमहिने कोर्स गरिरहेकी छिन् । यसमै करिअर बनाउने सोचका साथ तालिममा सहभागी उनी भन्छिन्, ‘स्पा वा मसाजको कामलाई हेर्ने दृष्टिकोण बदलिएको छ । परिवारबाट पूरा साथ पाएर यसमा लागेकी हुँ ।’
हाल दिनमा तीन सेसनमा सञ्चालित स्पा कक्षामा महिला–पुरुष दुवैको उत्तिकै सहभागिता छ । यहाँबाट सीप सिकेकाहरू केहीले आफैँले स्पा सेन्टर खोलेको, केही ट्र्यान्कुलिटीमै रोजगारी पाएको र केही आकर्षक वैदेशिक रोजगारीमा गएको ट्र्यान्कुलिटीले जनाएको छ ।


‘रोजगारीको ग्यारेन्टी हुन्छ’
भुवन फैजू
सीईओ, ट्र्यान्कुलिटी इन्टरनेसनल ब्युटी एन्ड स्पा एकेडेमी
नेपालमा वेलनेस टुरिजमको एउटा मुख्य माध्यम हो, स्पा । यसलाई प्रवद्र्धन गर्न सक्यौँ भने पर्यटन क्षेत्रलाई अतुलनीय सघाउ पुग्नेछ । यसको बजार नेपालमा व्यापक रूपमा विस्तार भइरहेको छ । विदेशबाट माग भएजति जनशक्ति आपूर्ति हुन सकिरहेकै छैन । यसले पनि यो आकर्षक रोजगारीको विकल्प बन्दै छ ।
नेपालमा स्पा वा मसाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । वैज्ञानिक प्राकृतिक उपचार पद्धतिका रूपमा समेत यसलाई ग्रहण गरिँदै छ । मेरो परिवार त धेरै पहिलेदेखि स्पा व्यवसायमै आबद्ध भएकाले यसलाई हामीले उद्योगकै रूपमा विकास गर्दै छौँ । मैले मेरा दाइभाउजुबाट २० वर्षअघि स्पाको काम सिकेको हुँ । मैले विदेशमा पनि लामो समय यो काम गरेको छु । स्पा सेन्टरहरूमा जनशक्ति अभाव नहोस् भनेर एकेडेमीकै रूपमा विस्तार पनि गरिरहेका छौँ । यसमा रोजगारीको पूर्ण ग्यारेन्टी हुन्छ । नेपालमै आकर्षक रोजगारी पाउने पक्का हुन्छ । किनभने, यहाँ तालिमप्राप्त जनशक्तिको अभाव छ । विदेशमा त राम्रो अवसर छँदै छ । आफैँ व्यवसाय खोल्न चाहनेका लागि लगानीमा साथ दिने हाम्रो नीति छ । कलेज पढ्दै गरेका विद्यार्थीले समेत पार्टटाइम तालिम लिएर काम गरिरहेका छन् । धेरै युवायुवतीले स्पालाई आकर्षक करिअरका रूपमा लिइरहेका छन् । आफैँ स्पाको व्यवसायी बन्नका लागि पनि यो सहज छ । सामान्य लगानीमा पनि व्यवसायी बन्न सकिन्छ ।

 

Leave A Comment