रश्मिला कासुला, बालमनोविशेषज्ञ
बालबालिका अवोध हुन्छन्। उनीहरु शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि परिपक्व हुँदैनन्। जति पनि मानवीय गुण लिएर हुर्किनुपर्ने हो, त्यति उनीहरुमा हुँदैन। शारीरिक र मानसिक रुपमा अपरिपक्व र कमजोर हुन्छन्। उनीहरु आफ्ना अभिभावकप्रति उनीहरु निर्भर हुन्छन्।
बालबालिका स्वाभाविक रुपमा चञ्चल हुन्छन्, जिज्ञासु हुन्छन्। उनीहरुले हरेक कुरामा चासो राख्छन्। के, कसरी, कहाँबाट, किन भन्ने कुरा जान्न उनीहरु निकै उत्सुक हुन्छन्। त्यो उत्सुकता मेटाउन उनीहरुले धेरै कुरा आफ्ना अभिभावकसँग सोध्छन्। उनीहरुसँग धेरै प्रश्नहरु हुन्छन् तर ती प्रश्नको जवाफ उचित रुपमा पाएनन् भने आफैँ पनि अनुसन्धान गर्न थाल्छन्। प्राकृतिक रुपमा नै बालबालिका जिज्ञासु हुन्छन्। उनीहरुले आफ्ना वरपरका कुराहरु देख्दा अनौठो मान्छन्। आफूले देखेका सामान्य कुराहरुमा भन्दा अलि फरक कुरा वा वस्तु देखेमा बालबालिका डराउने र आत्तिने गर्छन्। यस्ता डरहरु दोहोरिँदै गएमा बालबालिकामा फोबियाको रुपमा देखा पर्नसक्छ।
आत्मविश्वास र अति आत्मविश्वास
अभिभावक, समाज र स्कुलले बालबालिकालाई हुर्काउने क्रममा उनीहरुलाई कुनै काम गर्ने क्रममा हस्तक्षेप नगरी सपोर्ट गर्ने गर्नुपर्छ। बालबालिकाले कुनै काम गर्न लाग्दा यो काम तैँले गर्न सक्दैनस् नगर् नभनी उसले त्यो काम कति गर्छ, गर्न दिनुपर्छ। त्यति बेला बच्चामा मैले यो काम गर्न सक्छु भन्ने आत्मविश्वास पैदा हुन्छ र त्यो काम गर्न उनीहरु तत्पर रहन्छन्। सानो बच्चा बामे सर्ने क्रममा लड्छ। त्यस्तो बेला हामीले उसलाई लड्ने र आफैँ उठ्ने प्रयास गर्न दियौँ भने उसमा आफैँ उठ्ने आत्मविश्वास आउँछ।
बच्चाहरुमा अति आत्मविश्वास पैदा हुनुमा पनि हामी अभिभावकको पनि हात हुन्छ। जब हामी बच्चाहरुको चाहिने भन्दा बढी तारिफ गछौँ, बच्चालाई हामी बढी पुल्पुल्याउन थाल्छौँ, तिनमा चाहिनेभन्दा बढी आत्मविश्वास आउँछ। त्यसैले हामीले बच्चाको चाहिँदो मात्रामा मात्र प्रशंसा गर्नु राम्रो हुन्छ। त्यस्तो भएमा बच्चाले स्कुल होस् वा कुनै पनि ठाउँ, आफूलाई अरु बच्चासँग तुलना गर्छन् र अर्को बच्चालाई डोमिनेट गर्न थाल्छन्। जस्तैः म धनीबाउको छोरा, मेरो यति पैसा छ, गाडी छ भन्ने कुराहरु गरेर साथीलाई होच्याउने पनि गर्न गर्छन्। त्यसैले आफ्नो बच्चाको आत्मविश्वास कसरी बढाउने भन्ने कुरामा अभिभावकले ध्यान पु-याउनु जरुरी हुन्छ।
महामारीका बेला बालबालिकाको सोच
पछिल्लो समय महामारीका रुपमा कोराना भाइरस ९कोभिड १९० फैलिएको छ। स्कुलका विद्यार्थीहरुलाई मास्क लगाउन अनिवार्य गर्न खोज्दा बालबालिकाहरु आतंकित भएका छन्। एकाएक विद्यालयमा वार्षिक परीक्षा चैत्र ५ गतेभित्र सकिने गरी परीक्षा सञ्चालन गरिएको छ। अनिश्चित समयका लागि विद्यालय बन्द गर्ने सूचनाले पक्कै पनि बालबालिकामा जिज्ञासा, डर र त्रास पैदा हुन्छ। तिनले पनि टिभी, रेडियो, परिवार र समाजमा कोरना भाइरस संक्रमणले मर्न सक्छ भनी सुनेका होलान्। कतिले व्यक्त गर्छन् त कति भित्रभित्रै डराइरहेका पनि हुन सक्छन्। वयस्क नागरिकले बालबालिकाका ती त्रासलाई सरलीकरण गर्नु नितान्त जरुरी हुन्छ।
बालमनोविज्ञानअनुसार २ देखि ६ वर्षका पूर्वबाल्यावस्थामा मृत्युको अवधारणा बिस्तारै विकास हुन्छ। बालबालिकाले चलायमान वस्तुहरु जस्तै मोटर, गुडिया आदिलाई प्राण भएको ठान्छन्। त्यसैले त जब तिनलाई हकारिन्छ, कुटेजस्तो गरिन्छ, तिनीहरु रुन कराउन थाल्छन्। तर बिस्तारै सजीव र निर्जीव वस्तुबारे बुझ्न थाल्छन्। सजीव र निर्जिव त तिनले बुझ्छन् तर मृत्यु भनेको के हो रु मृत्यु किन हुन्छ रु मृत्युपश्चात् जीवनको अस्तित्व के रहन्छ भन्ने कुरा भने तिनले बुझ्न सक्दैनन्। यस्तो बेलामा तिनले अनेकन् प्रश्नहरु सोधेर उत्सुकता व्यक्त गर्छन्। यमराज, राक्षस र बाघभालुले मारेको कथा सुनाउँदा काल्पनिक रुपमा त्रसित हुन्छन्। यो उमेरमा कल्पना शक्ति अधिक हुने विशेषताले गर्दा डरले बिरामीपनाको अनुभूति गर्न सक्छन्।
बालबालिकाले आफ्नो अस्तित्व कायम गर्न वातावरणअनुसार सामायोजन गर्दै लान्छ। उमेर तथा परिपक्वताअनुसार तिनले समाजमा रहेका विविध पक्षको तथ्यगत ज्ञान आर्जन गर्दै जान्छन्। मनोविज्ञ जिन पेयजेका अनुसार ८ देखि १० वर्षमा आफ्ना साथीहरु, टिभी, सिनेमाको पहुँचमा पुग्ने भएकाले मृत्युसम्बन्धी ज्यादै रुचि राख्छन्। यस प्रतिको अवधारणाको पूर्ण विकास पनि हुन्छ। मृत्यु भनेको जीवनको अन्त्य हो र मृत्युपछि व्यक्ति कहिल्यै नफर्कने तथ्य राम्ररी बुझ्ने भइसक्छन्। बिछोडको सामनाका बारेमा बुभ्mन सक्दैनन् तर रोएर वा असामान्य व्यवहारबाट शोक व्यक्त गर्छन्। यदि यस उमेरका बालकलाई बढी मरेको र मारेको भनी तर्साएमा, एक्लै छोडेमा विचलित हुन सक्छन्। आमाबुबाबाट उपयुक्त हेरचाह नपाएर बिरामीपनाको अनुभव गर्छन् र आफूतिर ध्यान आकर्षण गर्न रोइरहने गर्छन्। जसलाई मनोविज्ञानमा एटेन्सन सिकिङ भनिन्छ।
प्रतिकूल प्रभाव पर्न नदिन
बालबालिकाको मनोविज्ञानमा प्रतिकूल असर पर्न नदिन अभिभावकले कस्तो कुराकानी गर्ने भन्ने तथ्य बुझ्नुपर्छ। तिनमा अनावश्यक विचलन आयो भने बाल विकासमा नराम्रो असर पर्छ। पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर, फोबिया, सेपरेसन एन्जाइटी डिसअर्डर, कन्भर्जन डिसअर्डर र डिप्रेसनजस्ता विचलन निम्तिने सम्भावना रहन्छ। यस अवस्थामा विशेष गरी सेपरेसन एन्जाइटी डिसअर्डर नामक मनोवैज्ञानिक विचलन देखिने प्रवल सम्भावना हुन्छ। पाँचौँ डाइग्नोस्टिक एन्ड स्टाटिकल म्यानुयल अफ मेन्टल डिस्अर्डर (डिएसएम—भि) अनुसार यस किसिमका समस्या भएमा आमाबुबा, स्याहारकर्ता वा अन्य मनपर्ने व्यक्तिसँग छुट्टिनु परेमा असामान्य ढंगले चिच्याएर रुन्छ। असान्दर्भिक चिन्ता, जस्तै मयो कि, कसैले अपहरण गरी मा¥यो कि, बिरामी भयो कि या खोलानदीले बगायो कि भनी अत्यधिक चिन्ताले बिलौना गर्छन्। राति आफूलाई मनपर्ने व्यक्तिसँगै सुत्न नपाएमा निदाउन सक्दैन। खान, खेल्न र शौचालय जान पनि उनीहरुले सो व्यक्तिको साथ चाहन्छन्।
बालबालिकामा यस्तो समस्या देखिए तिनको आत्मविश्वास जगाउने क्रियाकलाप गर्न लगाउने, परिस्थितिअनुसार घुलमिल हुने अभ्यास गर्न लगाउने, लामो बिदामा नजिक घर भएका साथीसँग भेट्न जान सहयोग गर्ने, हरेक दिन केही समय आमाबुबासँग रमाइला खेल खेल्ने प्रयासका साथै मनपर्ने सन्तुलित खानेकुरा ख्वाउने आदि क्रियाकलाप गरेमा त्रसित हुनबाट जोगाउन सकिन्छ। तर महिनौं निरन्तर समस्या देखिएको खण्डमा भने मनोचिकित्सकको सहयोग लिनुपर्ने हुन्छ।
बालबालिकाको तनाव मुक्ति
रोगव्याधि, महामारी, महाव्याधि, प्राकृतिक प्रकोपजस्ता आपत् मानव जीवनका लागि जटिल चुनौती हुन्। ती चुनौती युगौँदेखि मानव जातिले सामना गर्दै आएका छन्। यसका कारक तत्व संयोग र प्राकृतिक नियति नै हुन्।
आधिकारिक सूचना, जानकारी र समाचार सम्बन्धित सञ्चार माध्यमबाहेक अन्य माध्यमबाट वर्जित गर्न सके समस्या कम हुन्छ। जानकारी जनमानसप्रति उद्देश्यमूलक र सन्तुलित तथा खास लक्ष्यप्रति लक्षित हुनु आवश्यक छ। संवेग, उत्तेजना, पूर्वाग्रह निहित स्वार्थलाई विश्लेषण गर्नुपर्छ। सरकारले मात्र होइन, हरेक सचेत नागरिक र जनसमुदायबाट प्रत्याभूति दिनु दायित्व हो। सह–अस्तित्व र अपनत्वको आभाष दिलाउनुपर्छ। भ्रमपूर्ण र हावादारी समाचार सम्प्रेषण गर्ने व्यक्ति वा समूहलाई कार्वाही गर्नुपर्छ।
हरेक परिस्थितिको सामनामा मन र मस्तिष्कको उचित सन्तुलन चाहिन्छ। कुनै पनि महामारीलाई सामना गर्नु तथा निर्मूल गर्नु असाधारण गुण र चमत्कारले हुने हैन। प्रतिरक्षाको लागि सबै पक्षमा सबल अभ्यासको परम्परा बसाल्नुपर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय सिद्धान्त अभ्यासको सन्दर्भलाई जनमानसमा बुझाउने प्रयत्न चाहिन्छ। राज्यबाट सुरक्षित जीवन र खतरालाई न्यून पार्छ भन्ने प्रत्याभूति होस्। सबै जनताबीच व्यापक अपनत्व स्थापित गरी एकतामा मजबुत होस्। महामारीको प्रतिरक्षाको दायित्व सबैको हो भन्ने अनुभूति र आत्मियता संचार र सम्प्रेषण हुन जरुरी छ।
(ऋतु काफ्ले सँगको कुराकानीका आधारमा)
Leave A Comment