मासुका परिकार थरीथरी

बिहिबार, २० असोज २०७३, ०२ : ४३ शुक्रवार , Kathmandu
मासुका परिकार थरीथरी

ध्रुवप्रसाद आचार्य, मुख्य सेफ, अनुपम फुडल्यान्ड, बत्तीसपुतली, काठमाडौँ

कसौँडीमा पकाएको पक्कु मासु
चाहिने सामग्री
१. खसीको हड्डी नभएको फिलाको मासु १ किलो
२. खसीको बोसो २०० ग्राम
३. लसुन र अदुवाको पेस्ट २ चम्चा
४. बेसार डेढ चम्चा
५.खुर्सानीको धुलो १ चम्चा (पिरो नखानेहरूले खुर्सानीको धुलो प्रयोग नगरे पनि हुन्छ)
६.नेपाली मसला ३ चम्चा
(नेपाली मसलामा धनियाँ, जिरा, सुकेको खुर्सानी, अलैँची, सुकुमेल, दालचिनी, मरिच, जाइफल, थोरै लसुन र अदुवा सिलौटामा पिसेको)
७.तोरीको तेल २५० एमएल
८. दहीको पानी २५० एमएल
९.नुन स्वादअनुसार
१०. भैँसीको घ्यू १५० एमएल
पकाउने तरिका
चाहिने सामग्रीको एक नम्बरदेखि १० नम्बरसम्म सबै मिसाउने र राम्रोसँग मोल्ने । त्यसपछि कसौँडी लिने र राम्रोसँग मोलेको मासु कसौँडीमा राख्ने । त्यसपछि कसौँडी आगोमा बसाल्ने । मासुबाट बाफ आउन सुरु भएपछि कसौडीँको मुखमा मिल्ने गरी माथिबाट पानी राख्न मिल्ने ढक्कनले छोप्ने । छोपेको भाँडामा पानी राख्ने । जब छोपेको भाँडोको पानी उम्लन थाल्छ, तपाईंको पक्कु मासु खानका लागि तयार हुन्छ ।
यसरी पकाएको मासुमा मासु पकाउँदा निस्केको ग्रेभी हालेर सिसाको सिसीमा राख्दा तिहारसम्म बिग्रँदैन ।
साँदेको खसीको मासु
चाहिने सामग्री
१.खसीको हड्डी नभएको मासु सानो पिस १ किलो
२.खसीको बोसो १०० ग्राम
३.नेपाली मसला २ चम्चा
४.लसुन र अदुवाको पेस्ट २ चम्चा
५.खुर्सानी धुलो १ चम्चा
६.बेसार १ चम्चा
७.तोरीको तेल ७० एमएल
९.नुन स्वादअनुसार
माथिका सबै चिज मिसाई मोलेर कम्तीमा आधा घण्टा राख्ने । यसपछि फलाम तार, बाँसको सिन्का वा झिर वा प्यानमा ग्रिल गरेर पकाउने ।
साँद्ने तरिका
चाहिने सामग्री
१.हरियो लसुन १०० ग्राम
२. सुकेको लसुन स्लाइस गरेर काटेको ५० ग्राम
३.प्याज स्लाइस गरेर काटेको १५० ग्राम
४.अदुवा ५० ग्राम
झान्ने तरिका
ताप्के, प्यान, फ्राइप्यानमा तोरीको तेल राख्ने । तेल तातेपछि मेथी फुराउने । मेथी रातो भएपछि सुकेको खुर्सानी स्वादअनुसार पड्काउने । खुर्सानी गोल्डेन ब्राउन कलरको भएपछि बेसार राखेर अघिको पोलेको मासु र लसुन, प्याज तथा अदुवामा झान्ने । यसपछि स्वादअनुसार कागतीको रस र नुन राखेर साँदेको खसीको मासुको स्वाद लिन सक्नुहुन्छ ।

पोलेको कुखुरा (नेपाली स्वादमा)
१.कुखुराको हाड नभएको मासु १ किलो
२.अदुवा, लसुनको पेस्ट २ चम्चा
३.खुर्सानीको धुलो १ चम्चा
४. हरियो खुर्सानी पिसेको आधा चम्चा
५.नेपाली मसला २ चम्चा
६. बेसार १ चम्चा
७. तोरीको तेल ६० एमएल
८.नुन स्वादअनुसार
९. मेथीको गेडा १५ ग्राम
बनाउने तरिका  
मेथी र तेल छाडेर सबै मिसाएर मोल्ने । भाँडोमा तेल तताएर मेथी अनि अघि मोलेको चिकेनमा झानिदिने । झानिसकेपछि ५ देखि ७ डिग्री तापक्रम भएको फ्रिजमा आधा घण्टा राख्ने । फ्रिज छैन भने यत्तिकै छोडे पनि हुन्छ । यसपछि झिर वा तारमा, जालीमा, हट प्लेटमा, ननस्टिक प्यानमा पोल्न सकिन्छ । यसरी पोलेको कुखुरा गोलभेँडाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ ।
मंगोलियन चिकेन
बनाउने तरिका
सिंगो कुखुरालाई चार भाग लगाएर काट्ने । यसमा रफ कट प्याज, अदुवा, लसुन, गाजर हाल्ने । त्यसपछि तेजपात, सुकेको खुर्सानी, दालचिनी, स्टार एनिस, सोया सस, तेल हाल्ने ।
अब कराइ वा डेक्ची, प्यान, कुकर घरमा जे छ, त्यसमा चिकेन राखी ८०० एमएलदेखि एक लिटरसम्म पानी राखेर घटीमा ३५ मिनेट र बढीमा ४५ मिनेट पकाउने । त्यसपछि कुखुराको पिस निकाली फ्राई गर्ने ।
फ्राइड कुखुराका लागि सस बनाउने ।
सस बनाउन चाहिने सामग्री
१. तेल ५० एमएल
२. प्याज चप १०० ग्राम
३. अदुवा चप ५० ग्राम
४. लसुन चप ५० ग्राम
५. गोलभेँडा चप ५० ग्राम
६. धनियाँ चप ५० ग्राम
७. सोया सस ४० एमएल
८. नुन र मरिचको धुलो स्वादअनुसार
९. लसुन र प्याजको डाँठ ५० ग्राम
१०. रम ३० एमएल
११. कर्न फ्लावर आवश्यकताअनुसार
बनाउने तरिका
पहिला तेल हाली भाँडो तताउने । त्यसमा प्याज, लसुन, अदुवा, गोलभेँडा, धनियाँ हाली चलाउने । त्यसपछि सोया सस, रम, नुन, मरिचको धुलो, लसुन र प्याजको डाँठ हाली चलाउने । थोरै पानी राखी पकाउने र अघि फ्राई गरेको चिकेन त्यसमा हाली राम्रोसँग चलाउने । अब मंगोलियन चिकेन तयार भयो ।
स्टिम ट्राउट
चाहिने सामग्री
१. ट्राउट माछा १ पिस
२. सोया सस १ चम्चा
३. अदुवा मसिनो र लामो गरी काटेको १० ग्राम
४.लसुन स्लाइस गरी काटेको ५ ग्राम
५.मरिचको धुलो ३ ग्राम
६.कागतीको रस ७ एमएल
७.नुन स्वादअनुसार
माथिका सबै सामग्री राखी माछाको भित्र र बाहिर राम्रोसँग लाग्ने गरी मोल्ने ।
पकाउने तरिका
मोलेको माछालाई थाल, प्लेट (गहिरो खालको) अथवा गहिरो भाँडोमा राखी मःमः पकाउने भाँडोको माथि राखी १० देखि १२ मिनेटसम्म पकाउने । यसपछि स्टिम फिस तयार हुन्छ । यसलाई चाइनिज साग र पालुंगोसँग खान सकिन्छ ।

सिन्कामा उनेर पकाएको पनिर
चाहिने सामग्री
१.बाँसको सिन्का
२.फिंगर कट÷ लामो गरी काटेको पनिर १ केजी
३.चप गरेको लसुन १०० ग्राम
४.हरियो खुर्सानी चप गरेको ५० ग्राम
५.हरियो धनियाँको जरा चप गरेको ५० ग्राम
६.हरियो धनियाको डाँठ चप गरेको ५० ग्राम
७.क्रस गरेको मरिच २० ग्राम
८.नुन स्वादअनुसार
९.करी पाउडर ५० ग्राम
१०.कागतीको रस ३० एमएल
११.नरिवलको दूध ३०० एमएल
यी सबै सामग्री राखी मोल्ने । मोलेको पनिर सिन्कामा उनेर आगो, ग्रिलर वा प्यानमा पकाउने ।
 

Leave A Comment