महामारीमा एक्लै व्यायामको टेक्निक

बुधबार, ३१ असार २०७७, १२ : २९ शुक्रवार
महामारीमा एक्लै व्यायामको टेक्निक

डा. डीबी सुनुवार/प्राकृतिक चिकित्सक

व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा फिट रहन व्यायाम र खानपानको सन्तुलन आवश्यक हुन्छ। 

एकातर्फ कोरोना भाइरसको भयले मानिसमा असहजता उत्पन्न भएको छ भने अर्काेतर्फ घरबाहिर हिँडडुल गर्दा तथा व्यायाम गर्न जाँदा भाइरस सर्ने जोखिम छ। यस्तो अवस्थामा सामूहिक रुपमा गर्ने व्यायाम जोखिमपूर्ण हुन्छ। यस्तो परिस्थितिमा एक्लै गर्ने व्यायाम नै उपयोगी हुन्छ।

मनस्थिति र वामअप
सर्वप्रथम त आधा घण्टा व्यायाम गर्ने मनस्थिति बनाएर समय छुट्याउनुपर्छ। समय छुट्याइसकेपछि घरको कौशी, छत, बैठक कोठा, आँगन छनोट गरी व्यायाम सुरु गर्न सकिन्छ। 

व्यायामका लागि मनस्थितिको तयारी तथा ठाउँको छनोट भैसकेपछि सामान्यतः ५/७ पटक हल्का उफ्रने, खुट्टा चाल्ने, शरीर तन्याकतुनुक पार्नेजस्तो वाम अप गर्नुपर्छ। वाम अप गर्नाले व्यक्ति व्यायामका लागि शारीरिक तथा मानसिकरुपमा तयारी हुन्छ। यस्तो वामअप गर्नाले व्यायामका क्रममा शरीर मर्किने, सड्किनेजस्ता जोखिमबाट बच्न सकिन्छ। 

मस्तिष्क सक्रिय
अब चर्चा गरौं, व्यक्ति मानसिक रुपमा कसरी स्वस्थ र फिट हुन सकिन्छ भन्ने विषयमा। व्यक्ति मानसिकरुपमा स्वस्थ तथा फिट रहनका लागि ध्यान, प्राणायाम गर्नु आवश्यक हुन्छ। मानसिक रुपमा स्वस्थ र फिट रहनका लागि उठेर तथा बसेर सहज महसुुस गर्दै लामो श्वास लिँदै छोड्दै गर्न आवश्यक हुन्छ। 

त्यसपछि टाउकोलाई अगाडि र पछाडि गरिन्छ। टाउको अगाडि निहु-याउँदा चिउँडोले छाती छुने प्रयास गर्नुपर्छ। पछाडि लैजाँदा भने आकाशतिर हेर्दै सकेजति पछाडि लैजानुपर्छ। त्यसैगरी टाउको दायाँबायाँ गर्दै कानले कुम छुनुपर्छ। त्यसपछि टाउकोलाई चक्रिय आकारमा बायाँबाट दायाँ र दायाँबाट बायाँ पालैपालो घुमाउनुपर्छ। यी व्यायाम १०/१० पटक गर्नु उचित हुन्छ।

यसरी घुमाइसकेपछि गर्धनदेखि माथि टाउकाका मांसपेशी तथा मस्तिष्कका रसायन सक्रिय हुन्छन्। त्यस्तो व्यायामका कारण मस्तिष्क मजबुत भई मस्तिष्कसम्म पुगेका ग्लुकोज सहजै ऊर्जामा परिणत हुन्छन्। मस्तिष्कको व्यायामको अभावमा मस्तिष्कमा पुगेको ग्लुकोज ऊर्जामा परिणत नहुने जोखिम हुन्छ। ग्लुकोज ऊर्जामा परिणत नभएको अवस्थामा मस्तिष्क रसायनमा अक्सिजनको मात्रा कमी भई व्यक्ति मानसिक तनावको सिकार बन्ने सम्भावना हुन्छ। मस्तिष्कको व्यायामले मस्तिष्कमा स्फूर्ति आई मस्तिष्कको ताजापन महसुस हुन्छ। मस्तिष्कले ताजापनको महसुस गर्दा सृजनशीलताको विकास हुन्छ। जसले गर्दा नयाँ र ऊजार्शील काम गर्न सकिन्छ। 

त्यसैगरी हात तथा छाती स्वस्थ र छरितो बनाउनका लागि उभिएर दुवै हात सिधा तल गरिन्छ। त्यसपछि दुवैतर्फका कुम माथि उठाउँदै तल गरिन्छ। त्यसपछि दुवै हातका औंला कुममा अड्याएर चक्रिय आकारमा भित्रबाट बाहिरतर्फ र बाहिरबाट भित्रतर्फ हात घुमाउनुपर्छ। त्यसैगरी नमस्कार गर्न खोजेझैं दुवै हात जोड्दै छोड्दै गर्न सकिन्छ। यसरी हात तथा छातीको व्यायाम गर्दा हातको चालको रिदममा श्वास लामो तान्दै छाड्नुपर्छ। यो व्यायाम  पनि १०÷१० पटक गर्नु आवश्यक हुन्छ। यस किसिमको व्यायामले शरीरमा अक्सिजनको मात्रा प्रशस्त पुग्ने भएकाले शरीरमा स्वस्थ रक्तप्रवाह सहज बन्छ। त्यति मात्रै हैन छाति र कुम सेपमा आई मजबुत हुन्छ। 

बोसो पगाल्ने व्यायाम
अब चर्चा गरौं पेटमा भएको अनावश्यक बोसो कम गरी शरीर छरितो बनाउने बारेमा। पेटको व्यायाम गर्दा सुरुमा ठिङ्ग उभिएर बिस्तारै निहुरिँदै हातले घुँडालाई छुने। त्यसपछि हातलाई दुवै तर्फको कम्मरमा राखी शरीर पछाडि तन्काइन्छ। यसपछि सतर्क अवस्थामा रहेर हात सिधा गरी थाइमा राखिन्छ। हात सिधा गरिसकेपछि दायाँतर्फको कुम थाइतिर निहुराउँदै उठाउँदै गरिन्छ। बायाँतर्फको कुम पनि दायाँतर्फको जसरी नै उठाउँदै निहुराइन्छ। यो व्यायाम सकेपछि दुवै हात कम्मरमा राखि चक्रिय आकारमा कम्मर दायाँबायाँ घुमाइन्छ। पेटको यो व्यायाम पनि १०/१० पटक गर्नु नै उचित हुन्छ। 

यस्तो व्यायामले पेटमा भएका मांशपेशी तन्कने र खुम्चने प्रक्रिया हुन्छ। जसका कारण अनावश्यकरुपमा रहेको पेटको बोसो पग्लन गई पेट र कम्मर स्लिम हुने र सेपमा आउँछ। यस्तो व्यायामले ढाड तथा कम्मर दुख्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ। 

यसरी हुन्छ बलियो खुट्टा
अब चार्चा गरौं कम्मरभन्दा तल्लो भागलाई मजबुत र लचिलो बनाउने टेक्निक। 

कम्मरभन्दा तलको भागलाई मजबुत बनाउनका लागि सुरुमा घुँडा बिस्तारै खुम्च्याउँदै बस्न लागेको जस्तो गर्दै सिधा उभिँदै गरिन्छ। त्यसैगरी दुवै खुट्टा एकै साथमा दायाँबाट बायाँ र बायाँबाट दायाँ पालैपालो चक्रिय आकारमा घुमाइन्छ। 

कुर्कुच्चा टेकेर खुट्टाको पञ्जा उठाउने र खुट्टाको पञ्जाले टेकेर कुर्कुच्चा उठाउन सकिन्छ। यस्तो व्यायाम पनि १०/१० पटक गर्नु नै उचित हुन्छ। 

यस किसिमको व्यायामले कम्मर देखि तल्लो भाग खुट्टाको पाउसम्मै मजबुत हुन्छ। विशेषगरी तिघ्रा र घुँडाका मांशपेशी खँदिलो भइ मर्किर्ने, सड्किनेजस्ता जोखिमबाट बच्न सकिन्छ। 

खानपानशैली
व्यक्ति स्वस्थ तथा फिट रहनका लागि व्यायामका साथै खानपानशैली व्यवस्थित बनाउन आवश्यक हुन्छ। विशेषगरी यस्तो संक्रमणको अवस्थामा जथाभावि खानपिन गर्नु हुँदैन। खानपानको गुणस्तरियता र शुद्धतामा बडो ध्यान दिनुपर्छ। महामारीको अवस्थामा कोरोना भाइरसले आक्रमण गरिहालेको खण्डमा पनि शरीर मजबुत रोगविरुद्ध लड्न सकिन्छ। त्यसैले पेटभरि सन्तुलित रुपमा पोषणयुक्त खानपान गर्नुपर्छ। 

त्यति मात्रै हैन बदाम, काजु, किसमिस, ओखरजस्ता ड्राइफुड सन्तुलितरुपमा खानु आवश्यक हुन्छ। त्यसैगरी हरियो सागपात, रेसादार (फाइबरयुक्त) सागसब्जी, गेडागुडी र पहेँला फलफूल त प्रशस्तै खानै प¥यो। हाम्रो गाउँघरमा पाइने बेसार, अदुवा, लसुन, मरिच, टिम्मुर, दालचिनी, जौंको जमरा, च्याउको सुप खान सकिन्छ। पछिल्लो समय व्यावसायिक रुपमा उत्पादन गरी तयार पारिएका विभिन्न किसिमका जडिबुटीका पोषणयुक्त पदार्थ बजारमा देखिन्छ। पोषणविद् तथा प्राकृतिक चिकित्सकको सल्लाहमा यस्ता पोषणयुक्त पदार्थ सेवन गर्न सकिन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का 

Leave A Comment