कपाल रंगाउने रहर

आइतबार, ०७ कार्तिक २०७३, ०९ : ५९ सन्जिना श्रेष्ठ , Kathmandu
कपाल रंगाउने रहर

एसएलसी परीक्षा सकिनेबित्तिकै काठमाडौँ, जोरपाटीकी रन्जिता श्रेष्ठले आफ्नो कपालमा ‘ब्ल्याक हेयर विद ब्लन्ड कलर’ गरिन् । विद्यालयमा पढ्दा कपाल रंगाउन नदिएपछि उनले एसएलसी सकिपछि आफूलाई मन पर्ने रंग कपालमा लगाएकी हुन् । भन्छिन्, ‘मलाई स्कुल पढ्दैदेखि कपालमा कलर गर्न मन थियो, तर घर र स्कुलमा लगाउन नदिएपछि अहिले आएर कलर गरेकी हुँ । मेरो यो लुक सबैलाई मन परेको छ ।’
काठमाडौँ, नयाँ बानेश्वरकी २४ वर्षीया मिरा रायमाझीले आफ्नो कपालमा रेडिस ब्राउन कलर लगाएकी छिन् । डार्क स्किन अनुहारमा उक्त कलर खुल्ने भएकाले इन्टरनेट र पार्लरको सहयोगमा उनले आफ्नो कपालमा यो रङ लगाएको बताइन् । ‘थोरै स्टाइलिस पनि होस् अनि सुहाउँदो पनि होस् भनेर यो कलर रोजेको हुँ,’ उनले भनिन्, ‘इन्टरनेटमा धेरै सर्च गरेँ, अनि ब्युटिपार्लरमा ब्युटिसियनसँग सल्लाह गरेर अनुहारसँग मिल्दो हेयर कलर गरेँ ।’
रन्जिता र मिराझैँ अहिले युवतीहरूले नयाँ लुक र नयाँ स्टाइलका लागि कपालमा विभिन्न किसिमका रङ लगाउने गरेका छन् । ब्युटिपार्लरमा कपाल रंगाउने युवतीहरूको भीड नै लाग्ने गरेको देखिन्छ ।
जोरपाटीस्थित कल्पना पार्लरकी सञ्चालिका कल्पना महतका अनुसार पछिल्लो समय कपालका लागि रेड आई हेयर कलर, रेडिस ब्राउन कलर, ब्लाक हेयर कलर, ब्लाक एन्ड पर्पल कलर, ब्लाक एन्ड रेड हेयर कलर, ब्लाक हेयर विद ब्लन्ड हाइलाइट लगायतका हेयर कलर युवतीका रोजाइ भएका छन् ।
‘हेयर कलरको सही छनोटले एउटै युवतीलाई आकर्षक र सुन्दर बनाउँछ भने छालासँग नमिल्ने खालको हेयर कलरले कुरूप र भद्दा पनि देखाउँछ,’ महत भन्छिन्, ‘त्यसकारण कपालमा कलर गर्नुअघि पार्लरमा गई उचित सल्लाह लिनु आवश्यक छ ।’
ब्युटिसियनहरूका अनुसार कपाल रंगाउनुअघि केही कुरामा ध्यान दिनु  जरुरी छः
कपालको प्राकृतिक रङ
आफूले लगाएको रङ छिटो नजाओस् र कपाल नराम्रो नदेखियोस् भन्नका लागि सबैभन्दा राम्रो उपाय भनेको कपालको रङसँग मिल्ने गरी रङ छान्नु हो । आफ्नो प्राकृतिक कपालसँग मिल्ने रङ रोज्न सकियो भने कपाल बढ्दै जाँदा दुईथरी रङ देखिने समस्याबाट मुक्त पाउन सकिन्छ । यसका साथै छिटोछिटो कपाल रंगाउने झन्झट पनि हुँदैन ।
हेयर कलरको ब्रान्ड
बजारमा पाइने सबै हेयर कलर राम्रा हुँदैनन् । रङ छान्दा राम्रो गुणस्तर भएको छान्नुपर्छ । यदि बजारमा किन्दा कुन किन्ने भन्ने द्विविधा भएका सलुन वा पार्लरमा गएर कपाल रंगाउन सकिन्छ । घरमै लगाउने हो भने पनि पार्लरमा गई ब्युटिसियनको सल्लाहमा किन्न सकिन्छ ।
चिसो पानीको प्रयोग
चिसो पानीले कपालमा हुने फोलिकलहरूलाई बन्द गर्छ र रङ लामो समयसम्म कायम राख्छ । जस्तो कि, तातो पानीले दाग हटाउँछ भने चिसो पानीले हटाउँदैन । जति चिसो पानीको कपालमा प्रयोग गरिन्छ त्यति नै रङ लामो समयसम्म रहन्छ ।
स्याम्पू र कन्डिसनरको प्रयोग
रंगाइएको कपालका लागि भनेर विशेष रूपले बनाइएका स्याम्पू र कन्डिसनर बजारमा अहिले प्रशस्त पाइन्छन् । यिनले कपालको रङलाई केही लामो समयसम्म राख्न पनि मद्दत गर्छन् ।
घाम र ताप
कपालको रङ छिटो फिक्का हुनुको मुख्य कारणमध्ये घाम र अत्यधिक ताप पनि हुन् । यिनबाट बच्नका लागि घाममा घरबाहिर निस्कनुअघि ह्याट लगाउन सकिन्छ । बजारमा पाइने सनस्क्रिन पनि प्रयोग गर्न सकिन्छ, जसले कपालको रङ लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

 

Leave A Comment