सन् २०२६ को विश्वकप फुटबलमा ४८ टिम

सोमबार, ०८ कार्तिक २०७३, १० : ०४ शुक्रवार , Kathmandu
सन् २०२६ को विश्वकप फुटबलमा ४८ टिम

विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सहभागी हुने टिम बढाउनुपर्ने विषयमा आवाज उठिरहँदा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अध्ययन गर्ने भएको छ । फिफा अध्यक्ष गियानी इन्फान्टिनोले विश्वकपमा ४८ टोली सहभागी गराउने प्रस्ताव अघि सारेपछि फिफाले यसबारे अध्ययन गर्ने भएको हो । सहभागी टिमका विषयमा अध्ययन गरिने भए पनि सन् २०२६ को विश्वकप हुने स्थानको टुंगो अझै लागेको छैन । त्यसअघि सन् २०१८ मा रसिया र २०२२ मा कतारमा विश्वकप फुटबल हुनेछ । यी दुई विश्वकपमा भने अहिलेकै ढाँचाअनुसार ३२ टिम नै सहभागी गराउने फिफाको योजना छ । अहिलेको ३२ टोली बढाउने विषयमा आगामी तीन महिना अध्ययन गरिनेछ । अध्ययन गरिएको प्रतिवेदनको विस्तृत विवरण फिफाको ९ जनवरी २०१७ मा हुने बैठकमा पेस गरिनेछ । फिफा अध्यक्ष इन्फान्टिनोले भने, ‘विश्वकपमा सहभागी संख्या बढाउने विषयमा फिफा काउन्सिल सकारात्मक छ ।’
इन्फान्टिनोले फिफाको अध्यक्ष भएलगत्तै विश्वकपमा ४० राष्ट्रबीच प्रतिस्पर्धा गराउने विकल्प अघि सारेका थिए  । तर, उनले अब फेरि ४८ टोलीको नयाँ प्रस्ताव ल्याएका छन् । अब फिफाको बैठकमा ३२ टोली, ४० टोलीको दुई विकल्प र ४८ टोलीको विषयमा तयार पारिएको प्रतिवेदन प्रस्तुत हुनेछ । ४० राष्ट्र सहभागी हुँदा ८ र १०  समूह बनाइने विषयमा छलफल हुनेछ ।
यस्तै, ४८ राष्ट्र सहभागी हुँदा १६ राष्ट्र पहिलो चरणमा बाहिरिनेछन् र ३२ राष्ट्रबीच अहिलेकै संरचनामा प्रतिस्पर्धा हुनेछ । विश्वकपमा सहभागी संख्या बढाउँदा फुटबलको स्तर घट्ने भन्दै कतिपय विश्लेषकले विरोध पनि गर्ने गरेका छन् ।

Leave A Comment