अस्थायी क्वारेन्टाइनका लागि एन्फाको प्रस्ताव

सोमबार, २२ असार २०७७, १२ : ४७ शुक्रवार
अस्थायी क्वारेन्टाइनका लागि एन्फाको प्रस्ताव

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न आफ्ना भवनहरू अस्थायी क्वारेन्टाइन बनाउन दिने भएको छ। आइतबार एन्फाले विज्ञप्ति जारी गर्दै आवश्यक परेमा आफ्ना भौतिक संरचना अस्थायी क्वारेन्टाइन र आइसोलेसनका लागि प्रदान गर्ने जनाएको छ। एन्फाका प्रवक्ता किरण राईद्वारा जारी विज्ञप्तिमा चार जिल्लामा रहेका भौतिक संरचना महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट बच्न प्रयोग गर्न दिने उल्लेख गरिएको छ।


एन्फाका अनुसार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको होस्टल, बुटवल, धरानमा रहेको फुटबल एकेडेमीको होस्टल र रौतहटको निर्माणाधीन महिला फुटबल एकेडेमीलाई क्वारेन्टाइन र आइसोलेसनका लागि प्रयोग गरिनेछ। एन्फाले सरकार, प्रदेश सरकार वा स्थानीय निकायलाई आवश्यक परेमा आफ्ना संरचना अस्थायी क्वारेन्टाइन र आइसोलेसनका लागि प्रयोग गर्न सक्ने उल्लेख गरेको छ। साथै एन्फाले महामारी नेपालमा फैलिन नदिन सबै संघसंस्थालाई एकजुट भएर सहयोग गर्नसमेत आह्वान गरेको छ। त्यस्तै एन्फाले सरकार र विश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्न आधारभूत नियम पालना गर्न समेत आग्रह गरेको छ। एन्फाले कोरोना भाइरसका कारण आफ्ना सबै गतिविधिसमेत स्थगित गरिसकेको छ।

मैत्रीपूर्ण फुटबल स्थगित
नेपाली राष्ट्रिय फुटबल र इङ्ल्यान्डको ‘सी’ टोलीबीच हुने मैत्रीपूर्ण खेल कोरोना भाइरसको त्रास बढेसँगै स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै इङ्ल्यान्डको ‘सी’ टोलीसँगको मैत्रीपूर्ण खेल तत्कालका लागि स्थगित गरिएको जनाएको हो। अर्को सूचना जारी नभएसम्म इङ्ल्यान्डको टोलीसँगको खेल स्थगित भएको एन्फाले उल्लेख गरेको छ।  एन्फाले गत जनवरीमा इङ्ल्यान्ड फुटबल संघसँग मैत्रीपूर्ण खेलका लागि सम्झौता गरेको थियो।
सम्झौताअनुरूप आगामी मे २५ मा इङ्ल्यान्डको ‘सी’ टोली र नेपाली राष्ट्रिय टोलीबीच इङ्यान्डकै एल्डरसट टाउन एफसीमा खेल तय भएको थियो। सन् २०२१ मा नेपालले इङ्ल्यान्डकै टोलीलाई आतिथ्य गर्नेछ।

Leave A Comment