टेनिसकी नयाँ स्टार

बुधबार, ३१ असार २०७७, १२ : ५३ शुक्रवार
टेनिसकी नयाँ स्टार

सारापोभा बिर्साउने एनिसिमोभा

जब मारिया सारापोभाले संन्यासको घोषणा गरिन्, खेलकुद इतिहासकै एक विश्वसनीय स्टारको खेल गतिविधिमा पूर्णविराम लाग्यो। उनले टेनिस खेलमा एक आइकनको रूपमा विश्व खेलकुदलाई उचाईमा पु-याइन्। 

मारिया सारापोभालाई एक दशकसम्म रुसकै सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीका साथै पाँच पटक ग्रान्ड स्लामको उपाधि जिताउनमा म्याक्स इसेनबडले उस्तै सम्भावना बोकेकी नयाँ खेलाडी फेला पारेका छन्। उनको नाम हो– अमान्डा एनिसिमोभा। अग्ली, खैरो मुलायम कपाल, रुसी अनुहार र अद्भुत टेनिस प्रतिभा, एनिसिमोभा  सारापोभामा जस्तै देखिन्छन्। 

‘पक्कै पनि उनीहरूबीच धेरै समानता छन्, यो पक्ष नकार्न कठिन छ,’ आइएमजी टेनिसका प्रमुखसमेत रहेका इसेनबडले भने, ‘म त एक एजेन्ट मात्र हुँ। दुवै आकर्षक छन् र दुवै रुसको प्रतिनिधित्व गर्छन्। यी दुईबीच धेरै समानता छन् तर उनीहरूको व्यक्तित्व भने फरक छ।’ 

नयाँ स्टारको जन्म
अमेरिकाको न्युजर्सीस्थित फ्रिउडमा जन्मिएकी एनिसिमोभाका रुसी आमाबुबा हुन्। तीन वर्षको उमेरमा उनी आफ्ना अविभावकसँग मियामीमा बसार्इं सरिन्। सन् २०१७ मा उनले अमेरिकी कोको गौफलाई हराउँदै युएस ओपन जुनियरको उपाधि जितेकी थिइन्।

गत वर्ष फ्रेन्च ओपन (रोलान्ड–ग्रारोस)मा १७ वर्षको उमेरमै एनिसिमोभाले साबिकका विजेता सिमोना हालेफलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। यद्यपि सेमिफाइनमा भने उनी अस्ट्रेलियाकी एस्लेघ बार्टीसँग पराजित भएकी थिइन्। उनले आफूलाई महिला टेनिसको सम्भावना बोकेको खेलाडीमा  उभ्याइसकेकी छन्। इसेनबडका अनुसार एनिसिमोभले पेरिसमा मानिसहरूको ध्यान खिँचेकी थिइन्।

जनवरीमा एनिसिमोभले गाटोरेडसँग प्रायोजक सम्झौता गरिन्। उनी सेरेना विलियम्सपछि गाटोरेडसँग प्रायोजक सम्झौता गर्ने एक मात्र टेनिस खेलाडी हुन्। उनले हालै मात्र थेराबडीसँग दुई वर्षको सम्झौता गरेकी छन्। इसेनबडले विलियम्स र सारापोभाको खेलजीवन पूर्णविरामको संघारमा पुुग्नु र एनिसिमोभको उदय  निकै सही समयमा भएको बताएका छन्।

ब्रान्ड मारिया सारापोभा
रुसमा जन्म भए पनि सारापोभा आठ वर्षको उमेरमा अमेरिका गइन्। त्यसको १० वर्षपछि सारापोभाले (सन् २००४) को विम्बल्डन फाइनलमा सेरेना विलियम्सलाई हराउँदै विश्व खेलजगतमा नयाँ तरंग ल्याएकी थिइन्। फेब्रुअरीमा खेलजीवन टुङ्ग्याउने निर्णय गरेकी पूर्व विश्व नम्बर एक महिला टेनिस खेलाडी सारापोभाले प्रायोजक, पुरस्कार र सद्भाव दूतबापत तीन सय २५ मिलियन डलर आम्दानी गरेको फोब्र्सले जनाएको थियो। विलियम्सले भने आफ्नो खेलजीवनमा तीन सय ५० मिलियन डलर आम्दानी गरेकी थिइन्। 

‘मारिया सारापोभा निकै सफल खेलाडी हुन्,’ एनिसिमोभाले भनिन्, ‘उनको खेल्ने शैली भिन्न छ। संन्यासपछि कसरी एक दशक विश्व टेनिस जगतमा राज गरेँ भन्दै विगतका उत्कृष्ट क्षण सम्झन सक्छिन्।’

आफूलाई सारापोभासँग दाँजेकोमा उनले हल्का असन्तुष्टि जनाउँदै उनले थपिन्, ‘मैलै आफ्नै प्रकारले विभिन्न ब्रान्डसँग सम्झौता गरेकी छु र म केही विशेष दिन चाहन्छु। मेरा लागि सारापोभा र सेरेना विलियम्स आइडल हुन्। सम्भवतः मैले आफ्नो छुट्टै पहिचान बनाउनेछु र म आफ्नो तरिकाले अघि बढिरहेकी छु।’

एनिसिमोभाजस्ता उदीयमान खेलाडीलाई ‘ब्रान्ड मारिया सारापोभा’ बनाउन सहज नभएको इसेनबडको बुझाइ छ। ‘सारापोभा र ली नाले जसरी सफलता हात पारे, त्यही कुरा अमान्डामा पनि लागु हुन्छ भन्ने निश्चित छैन,’ इसनेबडले भने, ‘जब मारियाले २००४ मा विम्बल्डन जितिन्, त्यस समय सामाजिक सञ्जाल थिएन, अहिले त्यो छ। यसले धेरै फरक पार्छ। ब्रान्डहरूले फरक चाहन्छन्। हामीले समाजिक सञ्जालमा गरिरहेको गतिविधिले पनि धेरै अर्थ राख्छ।’

एनिसिमोभको सामाजिक सञ्जालमा दरिलो उपस्थितिले नै थेराबडी उनीसँग प्रायोजन सम्झौता गर्न इच्छुक देखिएको थियो। गत वर्ष अगस्टमा आफ्ना बुबा कोन्सान्टिन (उनको मुख्य प्रशिक्षक)को निधनले अमेरिकी ओपनबाट नाम फिर्ता लिएपछि उनको वरियता केही खस्किएको थियो। 

‘मलाई पुनः खेलमा फर्कन केही समय लाग्यो,’ जनवरीसम्म कुनै प्रतियोगितामा सहभागिता नजनाएकी एनिसिमोभाले भनिन्, ‘तर म अहिले खेलमा फर्कन आतुर छु। म मेरो बुबाको सपना साकार पार्न चाहन्छु।’ 

कोरोना भाइरसको महामारीका कारण मार्चबाट रोकिएको टेनिस गतिविधि अगस्टबाट भने सुचारु हुने तयारी भैरहेको छ। 

Leave A Comment