हाइकिङमा ज्ञान र रमाइलो

शुक्रबार, १२ कार्तिक २०७३, १० : १३ गोपाल दाहाल , Kathmandu
हाइकिङमा ज्ञान र रमाइलो

मिस पूर्वाञ्चलकी सेकेन्ड रनरअप इक्सा मादेन अचेल शनिवारको प्रतीक्षामा हुन्छिन् । केही महिनायता हरेक शनिवार हाइकिङ गइरहेकी इक्सा यसलाई स्वास्थ्यसँगै ज्ञान बढाउने अवसरका रूपमा लिन्छिन् । उनको अनुभव छ, ‘हाइकिङ जाँदा त पहिला नदेखेका र थाहा नभएका धेरै कुरा सिकियो । राम्रो स्वास्थ्यका लागि मात्र होइन, नयाँनयाँ कुरा थाहा पाउन पनि हाइकिङ गरिरहेकी छु ।’
मिस मंगोलकी फस्ट रनरअप सरूपा थापा मगर पनि हाइकिङमा रमाइरहेकी छिन् । शनिवार बिहानै हाइकिङ गर्दै धरान वरपरका डाँडाकाँडा चढ्ने गरेकी सरूपालाई शहरमा केही वर्षदेखि सक्रिय ग्ल्यामर फिल्डभन्दा हाइकिङ विशेष लाग्न थालेको छ । हाइकिङमा गरेका उकालीओरालीसँगै गाउँबस्तीमा भेटिएका मान्छेको जीवनशैलीले उनलाई तानेको छ । ‘हामी बजारमा बस्नेहरूलाई नजिकैको गाउँको जीवनशैली पनि थाहा रहेनछ । गाउँले जनजीवनका अगाडि ग्ल्यामर क्षेत्र नै फिक्का लाग्न थाल्यो,’ उनले भनिन् ।
इक्सा र सरूपाजस्तै धराने युवा पुस्ता यतिबेला हाइकिङमा रमाइरहेको छ । धरानवरिपरि हरिया डाँडाकाँडा रहे पनि धेरै युवा त्यहाँसम्म पुग्ने कष्ट गर्दैनन् । त्यसैले त्यहाँको जनजीवनबारे पनि धेरैलाई थाहा छैन । धरानभित्रै डान्सपार्टी, कन्सर्टमा रमाइरहेका बरु हङकङ, बेलायतका ठाउँबारे जानकारी भएका युवा पुस्तालाई आफ्नै वरपरको जनजीवनको ज्ञान कम थियो । तर, केही महिनायता हाइकिङमा युवा पुस्ताको आकर्षण बढेको छ । हाइकिङले साहित्यकार, कलाकार, सञ्चारकर्मी सबैलाई आकर्षित गरेको छ ।
एक वर्ष अमेरिका बसाइपछि फर्किएका युवा जसकुमार राईको सक्रियतामा सुरु भएको हाइकिङमा धराने युवापुस्तासँगै साहित्यकार, संगीतकर्मी र विभिन्न पेशामा आबद्धहरू पनि सहभागी भइरहेका छन् । हाइकिङ सुरु भएदेखि नै कविहरू सुदीप पाख्रिन, सन्तोष थेवे, चित्रकार महेन्द्र राई लगायत सहभागी थिए । उनीहरूले हाइकिङमै कवितावाचन गरेर यात्रा रमाइलो बनाए । त्यसपछि जनवादी कलाकारहरूको समूह हिमायतीका हर्क चुम्मे, कुन्ति योञ्जन, जीवन भट्टराईलगायत कलाकारले पनि हाइकिङमै गीत गाएर थकित यात्रीहरूमा ऊर्जा भरे । कवि सुदीप पाख्रिन सुनाउँछन्, ‘धरानमा सुरु भएको हाइकिङले अरूतिर जस्तो हिँड्ने मात्र होइन, साहित्य, संगीतको स्वाद लिने र ग्रामीण जनजीवन बुझ्ने मौका पनि दिएको छ । त्यसैले यो बढी रमाइलो र जानकारीमूलक छ ।’
हाइकिङ अभियानकै रूपमा हरेक साता हुन थालेपछि यहाँका पर्यटन व्यवसायी पनि धरानमा हाइकिङ पर्यटनको विकास हुने आशा गरिरहेका छन् । हाइकरहरूले धरान र छिमेकी गाविसका नयाँनयाँ गन्तव्य खोजेर प्रचारमा ल्याउने गरेका छन् । सेछ ट्राभलिङ सञ्चालन गरिरहेका वासुदेव बराल हाइकिङलाई व्यवस्थित गरेर काम गर्ने हो भने आन्तरिक पर्यटन विकासमा महŒवपूर्ण काम गर्न सकिने बताउँछन् । भन्छन्, ‘रहर पूरा गर्न मात्र होइन, पर्यटनको विकास पनि गर्ने उद्देश्यले नयाँ रुट बनाउँदै जानु आवश्यक छ ।’
धरान र आसपासका क्षेत्रमा हाइकिङ गर्नेहरूले नयाँनयाँ पर्यटकीय गन्तव्य पत्ता लगाएर प्रचार गर्न थालेपछि भेडेटारका होटल व्यवसायीहरू पनि भेडेटार नजिकैका हाइकिङ गन्तव्यको विकासमा जुटेका छन् । भेडेटार होटल एसोसिएसनका सचिव जीतेन्द्र रुम्दाली धरान र भेडेटार वरपरका रमाइला स्थान हाइकिङका लागि उपयुक्त देखिएकाले पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर अध्ययन भइरहेको बताउँछन् । हाइकिङ अभियान सुरु गर्ने जसकुमार राई तीन महिनाभन्दा बढी समय हरेक साता हाइकिङ गर्दा धेरै गन्तव्यहरू पत्ता लगाएको र त्यसबाट धरानले फाइदा उठाउन सक्ने बताउँछन् । भन्छन्, ‘हाइकिङले मानसिक र शारीरिक स्वास्थ्यसँगै नयाँ पुस्तामा ज्ञान बढाइरहेको छ । सरोकारवालाले ध्यान दिने हो भने यसबाट धेरै फाइदा लिन सकिन्छ ।’

 

Leave A Comment