सकियो तिहार, सकिएन देउसी

शनिबार, २७ कार्तिक २०७३, ११ : ४० गोपाल दाहाल , Kathmandu
सकियो तिहार, सकिएन देउसी

परम्पराअनुसार तिहारको लक्ष्मीपूजाका दिन भैलो अनि गोवर्धन पूजा र भाइटीकाका दिन देउसी खेलिन्छ । त्यसैले तिहारसँगै देउसीभैलो पनि सकिनुपर्ने हो । तर, धरान र आसपासका क्षेत्रमा अहिले पनि देउसीभैलो कार्यक्रम चलिरहेको छ ।

देउसीभैलो कार्यक्रमकै नाममा शहरी क्षेत्रका टोल र बस्तीहरूमा तिहार सकिएको साता बित्दा पनि दक्षिणा माग्नेहरूको भीड छ । यो क्रम आगामी पूर्णिमासम्म चल्छ । अर्थात्, तीन दिनमा सकिनुपर्ने देउसीभैलो अहिले १५ दिनसम्म सञ्चालन हुन थालेको छ । विशेषगरी नृत्य केन्द्र, विभिन्न संघसंस्था देउसीभैलो कार्यक्रम लिएर डुलिरहेका छन् । उनीहरू यो बेला संस्थाको कोष बलियो बनाउने अभियानमा जुटेका छन् । धरान र आसपासका करिब ४० स्थानमा देउसीभैलो कार्यक्रम गर्ने योजना बनाएको हाम्रो डान्स सेन्टरले आधाभन्दा धेरै ठाउँमा कार्यक्रम सकेको छ । सबै ठाउँमा सकेपछि पूर्णिमाका दिन धरानको भानुचोकमा विशाल कार्यक्रम गरेर देउसीभैलो मैजारो गर्ने कार्यक्रम रहेको सेन्टरका नृत्य निर्देशक दिवस श्रेष्ठ बताउँछन् । भन्छन्, ‘संस्थाहरूको वर्षभरि चल्ने आधार नै तिहार हो । त्यसैले १० देखि १५ दिनसम्म देउसी खेलिन्छ । टोलवासीहरूले पनि आफ्नोमा कार्यक्रम ल्याउन आग्रह गर्छन् ।’

शहरी क्षेत्रमा देउसीभैलोको नाममा दुई सातासम्म हुने गरेका कार्यक्रमलाई कतिपयले विकृतिका रूपमा पनि लिने गरेका छन् । तिहार सकिँदा पनि देउसीभैलो खेलिरहनुलाई पैसा कमाउने अवसर बनाएको भन्दै असन्तुष्टि जनाउनेहरू प्रशस्त छन् । देउसीभैलो कार्यक्रम गर्नेहरू भने स्थानीयवासीका मागअनुसार नै आफूहरू नाच कार्यक्रम लिएर जाने गरेको बताउँछन् । गरिमा डान्स सेन्टरका निर्देशक मणिकुमार लिम्बू आफूहरूले नाच लिएर जाँदा स्थानीयहरू खुशी हुने गरेको बताउँछन् । भन्छन्, ‘उनीहरूको टोलमा नजाँदा उल्टै रिसाउँछन् । उनीहरूको मनोरञ्जनका लागि पनि देउसी कार्यक्रम लम्ब्याउनुपर्ने अवस्था छ ।’

बजारमा अहिले डान्स सेन्टर, जातीय संस्था, टोलका क्लबदेखि राजनीतिक दलहरू समेत देउसीका लागी नाचगान गरिरहेका छन् । तिहारको देउसीभैलोमा एउटा संस्थाले एक लाख देखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यसरी भएको आम्दानी उनीहरू वर्षदिन संस्था सञ्चालन गर्नदेखि पिकनिक खान, सहयोग गर्नसम्म खर्च गर्छन् । हाम्रो डान्स सेन्टरकी सन्ध्या श्रेष्ठका अनुसार तिहारमा उठेको रकमको आधाजति कपडा किन्न र तयारी गर्न लागेको ऋण तिर्दै सकिन्छ भने बाँकी रकमबाट कलाकारलाई तिहार खर्च दिँदा, गरिब–दुःखीलाई सहयोग गर्दा संस्थालाई अलिअलि बच्छ । उनी सुनाउँछिन्, ‘तिहारदेखि दैनिक तीनचार ठाउँमा नाच देखाइरहेका छौँ । यसरी नखट्ने हो भने अरू बेलाको आम्दानीले संस्था चलाउन मुश्किल हुन्छ ।’

तिहार र छठ सकिँदा समेत देउसीभैलो नसकिएपछि प्रहरी पनि तनावमा पर्ने गरेको छ । अहिले पनि रातभर देउसीका नाममा नाच कार्यक्रम हुँदा सुरक्षा दिन नसकिने भन्दै प्रहरीले निगरानी गर्न थालेको छ । तिहारकै बेला धरानमा एक युवाको छुरा प्रहारबाट हत्या भएपछि प्रहरीले राति नाच देखाउनेहरूको निगरानी बढाएको छ । रातभर कार्यक्रम गर्नेहरूलाई अहिले ८ बजेसम्म मात्र कार्यक्रम गर्न दिने गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनले भने, ‘तिहार सकिँदा पनि देउसीभैलो भइरहेका छन् । बन्द गर्दा पनि स्थानीयवासी रिसाउने, नगर्दा पनि सुरक्षामा चुनौती । हामी समस्यामा छौँ ।’

धरानका पुराना नृत्यनिर्देशक नगेन्द्र राई भने देउसीभैलोका अवसरमा हुने नाच कार्यक्रमलाई नकारात्मक रूपमा लिन नहुने तर्क गर्छन् । उनी धरानमा कलाकारको संख्या धेरै हुनुमा देउसीभैलोको देन रहेको बताउँछन् । नृत्यनिर्देशक राईका अनुसार अहिलेका चलचित्र क्षेत्रका नृत्य निर्देशक तथा नृत्यकलाकारहरू गोविन्द राईदेखि प्रशान्त तामाङ, मणि लिम्बू, पनिता तामाङ, सरस्वती योगी, आईश्वर लिम्बू, माया सुनुवार देउसीबाटै स्थापित भएका हुन् । तिहारकै बेला आयोजना हुने छिमेकी साँझबाट गायिका प्राश्ना शाक्य चिनिएकी हुन् भने ज्ञान सुब्बा, कुशल थलङलगायत गायकहरू पनि देउसीमा गाउँदागाउँदै गायक बनेको राई बताउँछन् । भन्छन्, ‘देउसीभैलो कार्यक्रमकै कारण धरानका घरघरमा कलाकार भेटिन्छन् । सुरक्षाप्रति कलाकारहरू पनि संवेदनशील छन् ।’

Leave A Comment