परिवारका लागि प्रधानमन्त्रीबाट राजीनामा

सोमबार, २७ मङि्सर २०७३, १० : ०० शुक्रवार , Kathmandu
परिवारका लागि प्रधानमन्त्रीबाट राजीनामा

श्रीमतीलाई खुशी पार्न विभिन्न लाभका पदमा जान मरिहत्ते गर्ने प्रशस्तै राजनीतिकर्मी छन् । तर, न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीले श्रीमतीलाई खुशी पार्न पदबाट गत साता राजीनामा दिएका छन् ।
विगत आठ वर्षयता जोन न्युजिल्यान्डका प्रधानमन्त्री थिए । उनी त्यहाँको सबैभन्दा ठूलो दल नेसनल पार्टीका अध्यक्षसमेत हुन् । प्रधानमन्त्रीका रूपमा उनले चौथोपटक निवेदन दिने समय आउनै लागेको थियो । विगतका तीन पटकझैँ यसपटक पनि उनले जित्ने लगभग निश्चित थियो । तर, आफ्नो राजनीतिक करिअर उत्कर्षमा पुगेका बेला उनले यसरी एकाएक राजीनामा गरेका हुन् ।
‘प्रधानमन्त्री भएर काम गर्दा मैले घरपरिवारप्रति आफ्नो भूमिका निर्वाह गर्न पाइनँ । श्रीमती र छोराछोरीको चिन्ता लिन कहिल्यै फुर्सद मिलेन । राजीनामा गरेपछि घरपरिवारलाई समय दिने योजना मैले बनाएको छु,’ उनले भने । राजीनामा गरेर घरलाई समय दिन श्रीमतीले उनलाई सुझाव दिएको समाचारमा जनाइएको छ । राजीनामा घोषणा गरेपछि श्रीमतीसँग घुम्न गएको तस्बिर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
‘मैले राजीनामा दिनुको अर्को कारण पनि छ । मानिसहरू यस्तो पदमा पुगेपछि हत्तपत्त कुर्सी छोड्न मान्दैनन् । यस्तो चलनविरुद्ध मेरो कदम एउटा नजिर बनोस् भन्ने पनि मेरो चाहना छ,’ उनले भने ।

Leave A Comment