सन् २१०० मा जनसंख्या घट्ने

शुक्रबार, २३ साउन २०७७, ११ : ४२ शुक्रवार
सन् २१०० मा जनसंख्या घट्ने

सन् २१०० सम्म संसारको जनसंख्या जति घट्ला भनेर संयुक्त राष्ट्रसंघले आँकलन गरेको थियो, त्योभन्दा करिब दुई अर्ब बढीले जनसंख्या घट्ने अनुमान थपिएको छ। खासगरी प्रजनन दरमा कमी र वृद्धवृद्धाको जनसंख्या बढ्ने आँकलनका साथ यो नयाँ अनुमान गरिएको हो।

अहिले पृथ्वीमा ७.८ अर्ब जनसंख्या छ। २०६४ सम्म यो बढेर ९.७ अर्ब पुग्नेछ। त्यसपछि जनसंख्या घट्न थाल्नेछ  र २१०० सम्म घटेर ८.८ अर्ब पुग्नेछ। २०१९ मा राष्ट्रसंघले प्रकाशित गरेको रिपोर्टमा २१०० मा १०.९ अर्ब पुग्ने अनुमान गरिएको थियो। यसको अर्थ दुई अर्ब बढी अनुमान गरिएको थियो। 

युनिभर्सिटी अफ वासिंटनको यो नयाँ रिपोर्टलाई भने शोधकर्ताहरुले राष्ट्रसंघको अनुमानलाई गलत भनी टिप्पणी गरेका छन्। उनीहरुका अनुसार २१०० सम्म १९५ मध्ये १८३ देशमा जनसंख्या २५ देखि ५० प्रतिशत कम हुनेछ। 

बेलायतको प्रसिद्ध विज्ञानसम्बन्धी जर्नल लेन्सेन्टले एउटा अनुमान प्रकाशन गरेको छ। जसअनुसार एक पटक जनसंख्या घट्न थालेपछि तीव्र गतिमा घट्ने बताइएको छ। जसको परिणामस्वरुप संसारमा सत्ताको हिसाबले ठूला परिवर्तन देखिनेछन्। जापान, स्पेन, इटाली, थाइल्यान्ड, पोर्चुगल, दक्षिण कोरिया र पोल्यान्डजस्ता देशमा जनसंख्या आधाले घट्ने बताइएको छ। यस्तोमा संसारकै सत्तामा परिवर्तन आउनेछ।

रिपोर्टअनुसार २०३५ मा चीन संसारकै ठूलो अर्थव्यवस्था बन्नेछ भने अमेरिका नम्बर दुई बन्नेछ। केहीले चीनको जनसंख्यामा तीव्र गिरावट आएको खण्डमा भने अमेरिका पुनः आफ्नो स्थान हासिल गर्नेमा सफल रहने बताइएको छ।

हाल चीनको जनसंख्या १.४ अर्ब छ। आउँदो ८० वर्षभित्र सो संख्या घटेर ७३ करोडमा सीमित रहनेछ। यस अवधिमा अफ्रिकी मुलुकमा जनसंख्या वृद्धि हुनेछ। उपसहारा अफ्रिकामा जनसंख्या तीन गुणा बढेर तीन अर्बसम्म पुग्नेछ। नाइजेरियामा मात्र जनसंख्या बढेर ८० करोड पुग्ने अनुमान गरिएको छ।

Leave A Comment