चुरोटले बचाउँछ त कोरोना भाइरसबाट ?

बिहिबार, २२ साउन २०७७, ०१ : १७ शुक्रवार
चुरोटले बचाउँछ त कोरोना भाइरसबाट ?

चुरोट पिउनेलाई कोभिड १९ रोगको खतरा बढी हुन्छ भन्ने हामीले पहिलेदेखि नै सोच्दै आएका थियौँ। चीनमा भएको एउटा अध्ययनले पनि चुरोट पिउनेहरुलाई नपिउनेलाई भन्दा बढी नै संक्रमण भएको पाइएको थियो। चुरोट खानेहरुलाई यति खतरनाक तरिकाले संक्रमण हुन्थ्यो कि तिनको ज्यानै जाने सम्भावनासमेत रहेको भनी सो सोधले देखाएको थियो।

यता फ्रान्समा भने त्यसको ठीक विपरीत परिणाम आएको छ। फ्रान्सेली इन्स्टिच्युट पेस्टरका न्युरो बायोलजिस्ट यँ पिएर सोजको दाबी छ, उनका अनुसार निकोटिनले भाइरस संक्रमण रोक्न सहयोगी भूमिका खेल्छ। उनका अनुसार कोभिड १९ का रोगीमा चुरोट पिउनेको संख्या निकै नै कम छ।

फ्रान्समा भएको यस शोधमा कोरोना संक्रमित पाँच सय बिरामीको डाटा संकलन गरिएको थियो। तीमध्ये ३५० को उपचार अस्पतालमा भएको थियो र १५० लाई हल्का लक्षण देखिएको थियो। शोधमा संलग्न प्राध्यापक जाहिर अमोरा भन्छन्, ‘तीमध्ये पाँच प्रतिशत मात्र चुरोट पिउने लत लागेका थिए। यसको अर्थ बिरामीमध्ये ८० प्रतिशत त चुरोट नपिउने नै थिए।’

त्यसो त यस किसिमको यो पहिलो शोध भने होइन। इटालीमा जिसेप लिपीको टोलीले पनि यस्तै शोध गरेका थिए र उनी पनि सोही किसिमको निष्कर्षमा पुगेका थिए। उनको शोध त युरोपेली जर्नल अफ इन्टरनल मेडिसिनमा प्रकाशित पनि गरिएको थियो। उक्त शोधमा चुरोटका फाइदाका बारेमा कुरा नगरिए पनि चुरोट पिउनेहरुलाई कोरोनाले टपक्कै टिप्छ भन्ने कुरा भ्रम हो भनिएको थियो।

्फ्रारन्समा भएको शोधमा चाहिँ निकोटिनले कोरोना र तीजस्तै अन्य भाइरसबाट बचाउन फाइदाकारी हुनसक्ने आँकलन गरिएको छ। शोधकर्ता सोज भन्छन्, ‘निकोटिनले कोरोना र ऊजस्तै अन्य भाइरसबाट बचाउन फाइदाकारी हुनसक्छ। निकोटिनले सेल रिसेप्टर एसिई २ मा टाँसिएर बसेको हुन्छ। पहिल्यै निकोटिनका तŒवहरु त्यहाँ टाँसिने भएकाले भाइरस टाँसिन पाउँदैन।’

यस किसिमको सोजको दाबीलाई फ्रान्सेली अस्पतालहरुले जाँच गरिसकेका छैनन्। त्यस्तै वैज्ञानिकहरुले पनि एसिई २ रिसेप्टरलाई निकोटिनले रोक्ने विषयमा वैज्ञानिकहरुबीच एकै किसिमको धारणा बनिसकेको छैन।

अमेरिकामा यस किसिमको शोधमा भने ठीक विपरीत परिणाम देखिएको थियो। १८ मार्चमा एफइबिएस जर्नलमा छापिएको सो शोधअनुसार निकोटिन सेल रिसेप्टरलाई अझ बढी सक्रिय बनाउँछ। सोही कारण भाइरसलाई कोषिकामा छिर्न अझ सहज बन्न जान्छ। शोधअनुसार यसै कारण भन्न सकिन्छ, चुरोट पिउनेहरुलाई यसले अझ बढी सजिलोसँग आक्रमण गर्छ।

उसो भए यी दुई अध्ययनमध्ये सही कुन हो ? फ्रान्सेली शोधकर्ता सही हुन् कि अमेरिकी ? यस प्रश्नको सही उत्तर त्यो बेला फेला पर्नेछ, जब यस बारेमा अझ गहन शोध र बढीभन्दा बढी शोध हुनेछ। 

अहिलेलाई संसारभरिका चिकित्सकहरु चुरोट पिउँदा कोरोनाबाट बच्न सकिन्छ भन्ने कुरा भ्रम नै हो भन्नेमा एक मत छन्। उनीहरु त यदि कोही चुरोटका अम्मली छन् भने तिनीहरुले चाँडै यसलाई छाड्न सल्लाह दिइरहेका छन्। कारण ? कोरोनाका भाइरसले सुरुमा आक्रमण गर्ने भनेको फोक्सोमा हो। त्यसै पनि चुरोट पिउनेहरुको फोक्सो कमजोर हुन्छ। हुन त निकोटिन प्याचको असर बेग्लाबेग्लै व्यक्तिमा बेग्लाबेग्लै हुने देखिएको छ।

चुरोटको लत छोड्ने प्रयास गर्नेहरुको शरीरमा कयौँ पटक निकोटिनको प्याच लगाइन्छ। यसले शरीरलाई चुरोट नपिइकनै पनि निकोटिनको मात्रा पाउँछन्। जसले शरीरको तलतल मेटिन्छ। यसको ठीक विपरीत चुरोट पिउँदा कागज बल्छ, धुँवा निस्कन्छ र त्यसले क्यान्सर उत्पन्न गराउने कयौँ तत्व निकाल्ने गर्छ। एउटा चुरोटमा १२ मिलिग्राम निकोटिन हुन्छ तर शरीरले एकदेखि तीन मिलिग्राम सोस्छ।

फ्रान्सेली अध्येताका कुरा सत्य सावित भयो भने निकोटिनको प्याच लगाएर पनि कोरोना संक्रमण रोक्न सकिन्छ होला नि ! त्यो प्याचले त कोभिड १९ का रोगी जोगाउने भयो नै त्यस्ता रोगीको सम्पर्कमा आउनेलाई पनि सुरुमै जोगाउन सकिने भयो।

यसअघि पनि वैज्ञानिकहरुले निकोटिनमाथि शोध गरिरहेकै छन्। अल्जाइमर्स र पार्किन्सन्स जस्ता रोगको उपचारमा यसको असर बुझ्नेतर्फ कयौँ शोध भएका छन्। डिमेन्सियाजस्तो बिर्सने रोगमा निकोटिनले फाइदाकारी भूमिका खेलेको प्रमाणितसमेत भइसकेको छ। तर कोरोना संक्रमणका विषयमा भने अहिले नै निकोटिनको फाइदाकारी ठान्न अलि हतारो पो होला कि ? किनभने यो भाइरसका बारेमा हामीलाई अझै पनि धेरै कम जानकारी छ। यस्तोमा यसबाट जोगिनका लागि चुरोट पिउनु गज्जबको विचार त नहोला नै !

 

Leave A Comment