पढ्नेका लागि सहज छ जापान

सोमबार, ०४ पुष २०७३, ०९ : ३५ शुक्रवार , Kathmandu
पढ्नेका लागि सहज छ जापान

केही वर्षयता नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै आएको गन्तव्य जापानमा त्यहाँ गएका विद्यार्थीमाझ एकपछि अर्को गर्दै चुनौतीका चाङ लाग्न थालेपछि यसप्रति धेरैको चासो बढेको छ । ‘चुनौतीको सबभन्दा पहिलो कारण हो, चाँडो पैसा कमाउने सपना,’ काठमाडौँ, पुतलीसडकस्थित युरोएसिया एजुकेसन कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक सूर्यबहादुर डांगी भन्छन््, ‘विद्यार्थीका रूपमा जापान गएर चाँडै धनी बन्ने सपना लगभग असम्भव भन्दा पनि हुन्छ ।’
उनका अनुसार जापानमा अध्ययन गर्न चाहनेहरूका बीच ‘‘पढाइसँगै कामको ग्यारेन्टी’, ‘पढाइमा प्रतिस्पर्धी नभए पनि हुने’, ‘सस्तो, सजिलो, गैरकानुनी हालतमा पनि बस्न सकिने’’ लगायत धेरै अफवाह फैलाइएका छन् । ‘जसरी सकिन्छ धेरैभन्दा धेरै विद्यार्थी तान्ने होडमा लागेका केहीले फैलाएका यस्ता हौवाकै कारण विद्यार्थी हचुवामै जापान प्रोसेस थाल्छन्, भिसा आउँछ, हचुवामै त्यहाँ पुग्छन्,’ डांगी भन्छन्, ‘र, त्यसपछि सुरु हुन्छन् निराशाका दिन ।’ समयमै सजगता नअपनाउँदा जापान गएर दुःख पाएको कथा सुनाउने विद्यार्थी बढ्दै गएको उनको अनुभव छ ।
बागबजारस्थित आकासी जापानिज ल्याङ्वेज स्कुलका सञ्चालक ओमहरि प्रजापति जापानमा सुरुमै कमाउने सपना देख्ने विद्यार्थीहरूलाई सीधै ‘कृपया दुःख नगर्नुस्’ भनिदिने गरेको बताउँछन् । ‘कमाउने हो भने साउदी, दुबई, कतार छँदैछ नि,’ उनी भन्छन्, ‘लङटर्म भिजनसहितको विद्यार्थीका लागि मात्र उचित छ जापान । जो विद्यार्थी भविष्यमा के गर्ने भनेर सुरुदेखि नै योजना बनाएर मेहनत गर्न सक्छ, उसले मात्र जापानमा सोचेजस्तै सफलता हात पार्छ ।’
जापान जान चाहने धेरै विद्यार्थीको पहिलो ध्येय नै पैसा हुनु दुःखद पक्ष भएको बताउँछन्, बागबजारकै आइडियल एजुकेसनका सञ्चालक अनिल भण्डारी । मेहनत गरेर भविष्य उज्ज्वल बनाउने योजना भएका विद्यार्थीले मात्र जापान जाँदा उचित हुने सल्लाह उनको छ । ‘पढ्न भनेपछि अल्छी गर्ने विद्यार्थीले जहाँ पनि दुःख पाउँछन् नै,’ उनी भन्छन्, ‘सुरुमै राम्रो तयारी गरेर उता जाने हो भने सोचेजस्तो फलदायी हुन सक्छ जापान । सुरुसुरुमा खर्च मात्र टारेर पढ्न सक्ने हो भने भविष्य त्यहीँ बनाउन सकिन्छ । त्यहाँको डिग्री, ज्ञान, सीप र दक्षता संसारको जुनसुकै कुनामा पनि बिकाउ छ ।’ उनका अनुसार जापानमा गैरकानुनी रूपमा बसेका विद्यार्थीकै कारण पनि समस्या बढ्दै गएका छन् । ‘गैरकानुनी बस्छु भन्ने सोच नै गैरकानुनी हो,’ उनी भन्छन्, ‘गैरकानुनी कुराको कल्पना गर्ने विद्यार्थीले कस्तोसम्म दुःख भोग्नुपर्छ भन्ने त सोच्नै सकिन्न । र, उसले मात्र नभएर त्यसबाट अरू पनि प्रभावित भइरहेका हुन्छन् ।’
कस्का लागि जापान उत्तम ?
जापानमा अवसर पनि प्रशस्तै छन् । तर, कस्ता विद्यार्थीका लागि ? ‘मेहनती विद्यार्थीका लागि गज्जब बन्न सक्छ गन्तव्य जापान,’ युरोएसियाका डांगी भन्छन्, ‘सुरुमा भाषा पढाइमा परिश्रम गर्नुपर्छ । जानुअघि नै जापानी भाषामा राम्रो गर्न सक्यो भने त्यहाँ जानेबित्तिकै दुःख भोग्नुपर्ने अवस्थाबाट मुक्ति पाइन्छ ।’
बागबजारको यामातो एजुकेसनका सञ्चालक दीपक केसीका अनुसार ‘जेन्युन’ विद्यार्थीका लागि जापानमा कयौँ अवसर छन् । जुन अवसर छोप्नका लागि आफू तयारी अवस्थामा रहनैपर्छ । ‘सुरुमा त जापानी भाषामा राम्रो पर्फमेन्स देखाउनैपर्छ,’ उनी भन्छन्, ‘भाषा नजान्ने हो भने राम्रो कामको सम्भाव नै रहेन । अरू दुःख भोग्नुपर्ने बाध्यता त छँदैछ ।’ उनका अनुसार त्यहाँका लागि पहिलो ‘क्राइटेरिया’ जापानी भाषा हो । त्यसपछि शिक्षालगायत अन्य पृष्ठभूमि । समय व्यवस्थापन गर्न जान्ने मेहनती विद्यार्थीका लागि जापान सजिलो भएको बताउँछन् केसी । विद्यार्थीले पढाइबाहेक हप्तामा २८ घण्टा कानुनी रूपमा काम गर्न पाउँछन् । ‘भाषा राम्रो, काममा इमानदारिता र दक्षता हुनेलाई जुन समय पर्याप्त हुन्छ त्यो समयमा काम गर्ने हो,’ उनी भन्छन्, ‘हप्तामा दुई दिन स्कुल बिदा हुन्छ । यो बिदासमेत गरेर २८ घण्टा हो । त्योबाहेक लामो बिदा परेका बेला पूरा समय काम गर्न पाउँछन् । यो कामले विद्यार्थीलाई आफ्नो सबै खर्च टार्न मज्जाले पुग्छ । सुरुमा खर्च टार्नु मात्रै पनि त्यहाँका लागि उत्तम हुन्छ । त्यसपछि बिस्तारै आफैँले प्लेटफर्म बनाउँदै जाने हो ।’  
डिल्लीबजारस्थित फोकस एजुकेसनका अमरजंग लामाका अनुसार जापानमा अन्य देशभन्दा प्रोसेसिङ सजिलो छ । ‘जसको भाषामा ज्ञान छ, शैक्षिक पृष्ठभूमि राम्रो छ, पढाइको उद्देश्य राम्रो छ भने एकदम सजिलो छ,’ उनी भन्छन्, ‘उता गएपछि पनि त्यस्ता विद्यार्थीले अवसर पनि धेरै पाउँछन् । त्यहाँ गएपछि भाषाको पढाइ सकेपछि विश्वकै उत्कृष्ट विश्वविद्यालय, कलेज, स्कुलमा पढ्न सकिन्छ । त्यसपछि स्थायी बसोवास (पीआर) आवेदन गर्न सकिन्छ । जेन्युन विद्यार्थीका लागि जापानमा भविष्य उज्ज्वल छ ।’ उनका अनुसार जापानमा पहिलो नम्बरमा आकर्षण हस्पिटालिटी म्यानेजमेन्ट कोर्समा छ । त्यसबाहेक विज्ञान, व्यवस्थापन, आईटीसँगै प्राविधिक लाइनका धेरै कोर्स छन । छोटो अवधिका व्यावसायिक कोर्स गर्नेको संख्या बढी छ ।
युरोएसियाका सूर्यबहादुर डांगीका अनुसार अहिले जापानले पहिलेभन्दा केही कडाइ गरेको छ । स्कुले इन्टरनेटबाट विद्यार्थीको सीधै अन्तर्वार्ता लिन्छ । कम्तीमा १ सय ५० घण्टा भाषा पढेको खोज्छ । जापानका लागि कम्तीमा प्लस टू उत्तीर्ण हुनैपर्छ । एक वर्षको ट्युसन, छ महिनाको होस्टल, सर्भिस चार्ज, ट्राभल क्यासलगायत गरेर १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने उनी बताउँछन् । छात्रवृत्ति पनि पाउने सम्भावना हुने उनको भनाइ छ ।
सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी अध्ययनका लागि पहिलो पटक जापान पुगेका थिए । पछिल्ला वर्षमा वार्षिक नौ सय हाराहारी विद्यार्थीहरू जापान उड्ने गरेको सरकारी तथ्यांक छ । जापानका लागि वर्षमा चार वटा इन्टेक छन् । जनवरी, अप्रिल, जुलाई र अक्टोबर । विशेष गरी अप्रिल र अक्टोबर महिनामा नयाँ विद्यार्थी भर्ना गर्ने प्रावधान छ । जनवरी र जुलाईमा जानेहरूका लागि भने बीचबाट पढाइ हुने हुँदा यो सिजनमा विद्यार्थी कम आवेदन दिन्छन् । नेपालमा जापानी भाषाको परीक्षा चार तरिकाबाट सञ्चालन हुन्छ । जेएलपीटी, एनएटी, टप–जे र जे–टेस्ट ।


जापान पुगेपछि सुरुमा भाषा पढ्नैपर्ने समय
जनवरी इन्टेक–  एक वर्ष तीन महिना
अप्रिल इन्टेक– दुई वर्ष
जुलाई इन्टेक– एक वर्ष नौ महिना
अक्टोबर इन्टेक– एक वर्ष छ महिना

 

Leave A Comment