ट्रम्पका झिना–मसिना कुरा

सोमबार, ११ पुष २०७३, ११ : ०३ शुक्रवार , Kathmandu
ट्रम्पका झिना–मसिना कुरा

डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
–    उनी अनुशासनको परम्परागत मान्यतामा विश्वास गर्दैनन् । ‘मनमा लागेको कुरा फ्याट्ट भन्नुपर्छ, घुमाएर भन्नु आवश्यक छैन’ भन्ने मान्यता राख्छन् । सानैदेखि ठाडो स्वभावका उनलाई आमाबाबुले अनुशासन सिकाउन भनेर कुनै बेला सैनिक विद्यालयमा भर्ना गरिदिएका थिए ।
–    टेलिभिजनमा आउने रियालिटी सोमा ट्रम्पको विशेष चाख छ । उनी स्वयं पनि कुनै बेला रियालिटी सोका कलाकार थिए ।
–    खुशी, दुःखी जस्तोसुकै अवस्थामा पनि उनी मदिरा पिउँदैनन् । उनका एक जना भाइको मदिरा दुव्र्यसनका कारण मृत्यु भएको थियो । त्यसपछि उनले मदिरासँग झन् दूरी बढाए ।
–    हलिउड निर्देशक क्रिस्टोफर नोलान, अभिनेता क्रिस्टियन बेल आदिसँग ट्रम्पको व्यक्तिगत चिनजान छ । ब्याटम्यान फिल्म सिरिज अन्तर्गतको ‘द डार्क नाइट राइजेज’को छायांकन ट्रम्प टावरका नामले चिनिने ट्रम्कै घरमा गरिएको थियो । त्यही क्रममा नोलान र बेलसँगको उनको सम्बन्ध थप गहिरिएको थियो ।
–    ट्रम्प बेलाबेलामा फिल्म हेर्न रुचाउँछन् । ‘सिटिजन केन’, ‘ब्लड स्पोर्ट’, ‘द गुड, द ब्याड एन्ड द अग्ली’, ‘द गडफादार’, ‘गुड फेल्लाज’, ‘गन विद द विन्ड’ आदि उनलाई मन परेका फिल्म हुन् ।
–    अध्ययनमा ट्रम्पको सामान्य रुचि छ । पहिलो विश्वयुद्धबारे लेखिएको उपन्यास ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ उनको प्रिय किताब हो ।
–    फुर्सदमा उनी निल यङ, द रोलिङ स्टोन, एल्टन जोन,  ट्वीस्टेड सिस्टर्स आदिका गीत सुन्ने र गुनगुनाउने गर्छन् ।
–    ट्रम्प सफासुग्घर छन् । घरमा अलिकति पनि फोहोर भएको उनी फिटिक्कै रुचाउँदैनन् । घरको सरसफाइका लागि उनले अतिरिक्त मानिसलाई काममा लगाएका छन् ।
–    बेकन, अण्डाको पोच, बीचमा मासुको पत्र राखिएको स्यान्डविच भनेपछि उनी हुरुक्क हुन्छन् । घर र रेस्टुरेन्ट सबैतिर उनले बढी अर्डर गर्ने खाना यही हो ।
–    ट्रम्प सानैदेखि सबेरै उठ्थे । अहिले उनी बिहान साढे ५ बजे उठिसकेका हुन्छन् । उठेर नित्यकर्म सिध्याएपछि उनी आफ्नोबारे संसारभरिका प्रमुख सञ्चारमाध्यमले लेखेको समाचारको क्लिपिङ सरसर्ती हेर्छन् । क्लिपिङ सेवा दिन उनले एउटा टोली नै खटाएका छन् । खास गरी राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनले क्लिपिङ हेर्न सुरु गरेका हुन् ।
–    उनी बिहानको खाजा भरिसक्के नखान खोज्छन् । बरु नित्यकर्म सिध्याएपछि कतिबेला ट्वीट गरौँ भन्ने हतारोमा उनी हुन्छन् । हरेक बिहानजसो उनी ट्वीट गर्छन् ।
    

Leave A Comment