‘रहरले गायक भइयो’

बुधबार, १३ पुष २०७३, १० : १३ मनोज घर्तीमगर , Kathmandu
‘रहरले गायक भइयो’

मनसुधन थापा/गायक
तपाईं कस्तो गायक हो ?
म यस्तै गायक हुँ, भन्दिनँ । बिछट्टै, फरक टाइपको गायक म होइन । स्टेजमा, स्टुडियोमा गीत गाउने गायक हुँ म ।
कति वटा गीत र एल्बम निकाल्नुभयो ?
६० वटाजति गीत निकालिसकेँ । पछिल्लो समय एल्बम भन्ने चिज हराउन थालिसक्यो । खालि एउटा गीत निकाल्ने चलन बढेको छ । त्यहीअनुसार गीत निकाल्दै आएको छु ।
गायक बन्ने रहर कसरी पलायो ?
गाउँमा कौरा, सालैजो रोदी चल्थ्यो । रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा ‘देउराली’ कार्यक्रम आउँथ्यो । जुन, गायक पुरुषोत्तम न्यौपानेले चलाउँथे । मैले पनि बेलाबेला त्यही कार्यक्रममा गीत गाउँथे । २०५२ सालमा एसएलसी दिएपछि मैले पनि रहरैमा मगर भाषाको गीत रेकर्ड गराएँ । गीत रेडियो र पछि एल्बममा बज्यो । गीत बजेपछि गाउँमा गायक भनेर जिस्काउन थाले । त्यसपछि गायक बन्ने रस बस्यो । ख्यालख्यालमै गायक भइयो ।
फिल्ममा पनि खेल्नुभा’छ, तपाईं गायक कि नायक ?
म व्यावसायिक गायकै हुँ । अभिनयमा रहर भएकाले फिल्म खेलेँ ।
नयाँ योजना के छन त ?
अब पञ्चैबाजाको गीत आउँदै छ । कौरा, सालैजो गीत पनि आउँदै छन् । फिल्मको पनि तयारी भइरहेको छ ।
प्रस्तुतिः मनोज घर्तीमगर

 

Leave A Comment