अरुण थापाको बायोपिक विवादमा

शनिबार, १० साउन २०७७, ०१ : ३५ शुक्रवार
अरुण थापाको बायोपिक विवादमा

सबैको मनमा बस्न सफल गायक अरुण थापाको जीवनीमा आधारित फिल्म बन्ने भएको छ। आधिकारिक सूचना प्राप्त यसको चर्चा फिल्मवृत्तमा निकै चुलिएको छ। 

बताइएअनुसार नायक प्रदिप खड्का थापाको बायोपिक फिल्ममा देखिने छन्। साथमा निर्देशक दिनेश राउतको नाम पनि प्रदीपसँगै जोडिएको छ।  

निर्देशक दिनेश राउत र नायक प्रदिप खड्काबीच टिमअप भएको खबर पहिले नै बाहिरिसकेको थियो तर कुन प्रोजेक्टमा टिमअप भएको भन्ने कुरा खुलेको थिएन। हालै भने उक्त प्रोजेक्ट गायक थापाको बायोपिक रहेको बताइएको छ। यस विषयमा फिल्म निर्माण पक्षले भने कुनै जानकारी दिएका छैनन्। 

बताइएअनुसार, फिल्ममा गायक थापाको गायन यात्रादेखि प्रेम जीवनसम्मका यात्रा समेटिनेछ र त्यसलाई प्रदीप खड्काले आफ्नो चरित्रमा ढाल्नेछन्। 

ऋतुहरुमा तिमी हरियाली वसन्त हौ, चोट के हो व्यथा के हो, जति माया लाए पनि जस्ता अजम्बरी गीतमा स्वर भरेका गायकको चरित्रमा प्रदिप कत्तिको घुस्न सक्छन् भन्ने चर्चा समेत फिल्मवृत्तमा चल्न थालेको छ। अर्कोतर्फ थापा मगरको भूमिकामा प्रदीपका लागि उपयुक्त नहुने पनि केहीको धारणा छ।

थापा २०५६ साउन ५ गते यस धर्तीबाट बिदा भएका हुन्। उनको जीवनमा आधारित स्क्रिप्टमा काम भइरहेको पनि बताइएको छ। त्यस्तै खबरमा बताइएअनुसार, फिल्म निर्माणका लागि थापाको परिवारले अनुमति दिइसकेको छ। निर्देशक राउत र विकास सुवेदीले फिल्मको कथा लेखिरहेको बताइएको छ। 

नेपाली फिल्म क्षेत्रमा पनि फरक स्वादका फिल्महरु बन्ने क्रम जारी छ। बायोपिकमा भने निकै कम काम भएका छन्। यसअघि लेखिका झमक घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ बने पनि व्यावसायिक रुपमा यसले खासै सफलता प्राप्त गर्न सकेन। त्यस्तै प्रदीपको टोलीले नै पूर्व युवराज दीपेन्द्र शाहको बायोपिकमा पनि काम गरिरहेको बताइएको छ।

 

Leave A Comment