भीआईपीका रुचि–अभिरुचि

शनिबार, १६ पुष २०७३, ०९ : ३० शुक्रवार , Kathmandu
भीआईपीका रुचि–अभिरुचि

बाराक ओबामा
–    बाराक ओबामा पढाइका सोखिन छन् । उनलाई फिक्सन र नन–फिक्सन दुवै मन पर्छ । लाउरेन ग्रोफ लिखित ‘फेट्स एन्ड फ्युरिज’ उनलाई सबैभन्दा मन पर्ने उपन्यास हो । त्यस्तै, मौरिस सेन्डकको बालचित्रकथा ‘ह्वेर द वायल्ड थिंग्ज आर’ ले पनि उनलाई असाध्यै छोएको छ । हर्मन मेल्भिलको ‘मोबी डिक’, टोनी मोरिसनको ‘सङ अफ सोलोमन’जस्ता किताब पनि उनलाई मन पर्छन् ।
–    ओबामालाई दर्शनसम्बन्धी अध्ययनमा पनि अभिरुचि छ । उनले सबैभन्दा बढी मन पराएका दार्शनिक हुन्, रेनहोल्ड निबुहर । रेनहोल्डले लेखेको किताब ‘मोरल म्यान एन्ड इमोरल सोसाइटी’लाई उनी आफ्ना लेख र भाषणमा उद्धृत गरिरहन्छन् ।
–    ओबामा संगीतका पनि धुरन्धर पारखी हुन् । स्टिभी वन्डर र एल्टन जोन उनका प्रिय गायक हुन् ।
–    ‘रेडी अर नट’, ‘ह्वाट्स गोइङ अन’, ‘आई एम अन फायर’, ‘टच द स्काई’ आदि उनका मन पर्ने गीत हुन् । यी गीत उनले आफ्नो मोबाइल फोनमा पनि राखेका छन् ।
–    ओबामालाई खाना मीठो चाहिन्छ । भात र सालमोन माछाको परिकारमा कागती र अदुवाबाट बनेको सस हालेर खान भनेपछि उनी हुरुक्क हुन्छन् । मेक्सिकन परिकार ग्वाकामोल र नाचो पनि उनी असाध्यै रुचाउँछन् । तरकारीमा उनी ब्रोकाउली मन पराउँछन् ।
–    फुर्सद निकालेर ओबामा फिल्म पनि हेर्ने गर्छन् । ज्याक निकोल्सनको मुख्य भूमिका रहेको फिल्म ‘वान फ्लिउ ओभर द कुकुज नेस्ट’  उनले सबैभन्दा बढी मन पराएको फिल्म हो । यथार्थवादी धारका फिल्मसँगै उनी विज्ञानप्रविधि र स्वैरकल्पना मिश्रित फिल्म हेर्न पनि उत्तिकै रुचाउँछन् । ‘२००१ः अ स्पेस ओडिसी’, ‘ब्लेड रनर’, ‘क्लोज इन्काउन्टर्स अफ द थर्ड काइन्ड’, ‘स्टार वार्स’, ‘स्टार ट्रेक’, ‘द मार्सियन’, ‘द म्याट्रिक्स’, ‘कस्मोसः अ पर्सनल भोयज’ उनले मन पराएका केही फिल्म हुन् । मन पर्ने फिल्मको प्रसंग निस्कँदा ‘द गडफादर’को नाम लिन पनि उनी छुटाउँदैनन् ।
–    खेलकुदमा ओबामा बास्केटबललाई सर्वाधिक रुचाउँछन् । बास्केटबल टिम ‘सिकागो बुल्स’ उनको प्रिय टिम हो ।
–    ओबामा बेलाबेलामा कमिक पात्रमाथि आधारित फिल्म पनि हेर्ने गर्छन् । उनले सबैभन्दा बढी मन पराएका कमिक पात्र हुन्, ‘स्पाइडरम्यान’ र ‘ब्याटम्यान’ ।
–    पाब्लो पिकासो उनलाई सबैभन्दा मन पर्ने चित्रकार हुन् ।
–    ओबामाको प्रिय रङ नीलो हो ।

 

Leave A Comment