‘होमवर्क’को हैरानी

सोमबार, १८ पुष २०७३, १० : २३ सृजना खड्का , Kathmandu
‘होमवर्क’को हैरानी

काठमाडौँ, गौशालाका खेमराज रेग्मी कक्षा नौमा पढ्छन् । सधैँझैँ यस वर्ष पनि रेग्मीको स्कुलले जाडो बिदा दिने भएको छ । स्कुल बिदा हुने भए पनि उनमा उत्साह र उमंग छैन । ‘बिदा दिनुभन्दा नदिएकै राम्रो । होमवर्कको चाङ हुन्छ । गर्नु मात्रै हो, चेक गर्दैनन् । हामीलाई दुःख मात्र दिन्छन्,’ उनी भन्छन्, ‘दसैँतिहारमा पनि यसै गरी धेरै होमवर्क दिइएको थियो । होमवर्कले गर्दा राम्रोसँग चाडपर्व पनि मनाउन पाइएन । होमवर्क गर्दै बिदा सकियो । स्कुल खुलेपछि शिक्षकलाई बुझाए पनि । एक दिन म र मेरा साथीले हामीले गरेको होमवर्कको कपी त स्कुल नजिकैको चटपटे बनाउने दाइको पसलमा देखेँ । उनले चटपटे बनाउँदै हाम्रो होमवर्कको कपीमा हाल्दै बेचेको देखेँ ।’
भक्तपुरको विनायक शिक्षा निकेतनमा कक्षा १० मा अध्ययनरत अशोक नेपाल पनि होमवर्कको पक्षमा देखिँदैनन् । ‘मोटा–मोटा किताबबाट भारी–भारी शब्द सार्न लगाएर यदि कसैले तँ आइन्सटाइन जत्तिकै बन्छस् भन्छ भने म विश्वास गर्दिनँ,’ उनी भन्छन्, ‘धेरै होमवर्र्क दिए मात्र विद्यार्थी पढ्छन् वा सिक्छन् भन्ने मानसिकता नै गलत हो ।’ अधिकांश शिक्षकले ‘विद्यार्थीले होमवर्र्क गर्छ वा गर्दैन’ भन्ने कुरामा बढी जोड दिने गरेको उनी सुनाउँछन् । होमवर्कको बोझले आफूजस्ता धेरै विद्यार्थी आजित भएको उनी बताउँछन् । बढी होमवर्र्कका कारण शिक्षकहरू सोधिएका प्रश्नहरूको उत्तर पढ्दै नपढी ठीक लगाउन हतार गर्ने उनी सुनाउँछन् । ‘यस्तो शिक्षा प्रणालीबाट विद्यार्थी नराम्रोसँग ठगिइरहेका छन् । आफूले चेक गर्नै नसक्ने होमवर्क दिनुभन्दा चेक गर्न भ्याउने र विद्यार्थीलाई उचित मार्गदर्शन गर्न सक्ने होमवर्क दिनु ठीक हो,’ उनी भन्छन् ।
के भन्छन् अभिभावक ?
बढी होमवर्क दिने स्कुल नै शैक्षिक हिसाबले गुणस्तरीय हुने भ्रम धेरै अभिभावकमा रहेको शिक्षिका प्रिया मानन्धर सुनाउँछिन् ।  ‘‘घरमा पटक्कै पढ्दैन । चकचक गरेर हैरान लगाउँछ । धेरै होमवर्क दिएर पठाउनुस् है’ भन्ने अभिभावक पनि छन् यहाँ । यति मात्र होइन होमवर्क नदिएकै भरका स्कुल फेर्छु भन्दै हिँड्ने अभिभावकसमेत छन्,’ मानन्धर भन्छिन् ।
स्कुलले होमवर्क नदिँदा केटाकेटी बिग्रिने अभिभावक प्रेरणा तामाङको भनाइ छ । ‘होमवर्क नभएपछि बच्चाहरू सम्हाल्नै गाह्रो हुन्छ, हैरानै पार्छन् । काम गरिहेको ठाउँमा आएर डिस्टर्ब गर्छन् । कि टीभीमा झुन्डिएर बस्छन् कि खेल्नमा ठिक्क हुन्छन् । केटाकेटीलाई तह लाउने बाटो भनेकै होमवर्क हो,’ उनी भन्छिन् । अर्का अभिभावक कुशल बस्नेत चाहिँ पैसा तिरेअनुसार विद्यालयले पढाउनुपर्ने बताउँछन् । ‘स्कुलमा पढाउने लेखाउने हो, खेलाउने घुमाउने हैन । त्यो त हामी आफैँ गरिहाल्छौँ नि,’ उनी भन्छन्, ‘हामीले पैसा तिरेको पढाउनका लागि हो, होमवर्क दिनका लागि हो ।’
यी र यस्तै खालका टीकाटिप्पणी सुन्न नपरोस् भनेर धेरै शिक्षकले विद्यार्थीलाई होमवर्कको भारी थुपार्ने गर्छन् । भक्तपुर प्याव्सनका अध्यक्ष राजकुमार महर्जन होमवर्कको भारी शिक्षकको रहर नभई अभिभावकको माग भएको बताउँछन् । ‘होमवर्कले मात्र विद्यार्थी पढाइमा अब्बल हुन सक्दैन भन्ने सत्य अभिभावकले नबुझेसम्म यो प्रक्रिया चलिरहनेछ,’ उनी भन्छन्,  ‘धेरै होमवर्कले विद्यार्थीको सिर्जनशीलतामा कमी आउँछ । त्यसैले शिक्षकले होमवर्क दिँदा निकै ध्यान पु¥याउनुपर्छ ।’ बिदामा विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा पनि उनीहरूको रुचिअनुसार रचनात्मक क्रियाकलापमा सहभागी गराउँदा प्रभावकारी हुने उनी बताउँछन् । ‘होमवर्कको हैरानीले कतिपय विद्यार्थी बिरामीसमेत पर्छन् । बिदामा घुम्छन्, रमाउँछन्, आफ्नै तालमा हुन्छन् । स्कुल खुल्ने एक दिनअगाडि होमवर्क गर्न थाल्छन् र स्कुलै आउन नसक्ने गरेर थला पर्छन्,’ महर्जन भन्छन् ।

कस्तो हुनुपर्छ होमवर्क ?
भक्तपुरको एभरेस्ट इंग्लिस स्कुलले यसपालिको जाडोमा होमवर्कको सट्टा विद्यार्थीहरूलाई सिर्जनशील बनाउने भएको छ । विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीका अनुसार बिदाको बेला विद्यार्थीहरूलाई अभिभावकसँग घुम्न र रमाइलो गर्न दिनुपर्छ । ‘जाडो बिदामा हरेक विद्यार्थीलाई खेर जाने सामानबाट उनीहरूको रुचि अनुसारको सामग्री बनाएर ल्याउन लगाउने छौँ,’ उनी भन्छन्, ‘उनीहरूले बनाउने सामानमा अभिभावकले पनि सघाउन सक्छन् । स्कुल खुलेपछि ‘बेस्ट फ्रम वेस्ट’ प्रतियोगिता गरेर टपटेन विद्यार्थीलाई पुरस्कृत पनि गर्नेर्छौं ।’ स्कुलमा पढेको र अभ्यास गरेको कुरा नै विद्यार्थीलाई पर्याप्त हुने भन्दै बिदाको बेलामा उनीहरूलाई स्वतन्त्र छाडिदिनुपर्ने राजभण्डारी बताउँछन् ।

के भन्छन् विद्यार्थी ?
प्रिस्का प्रजापति
होमवर्क भनेको कक्षामा पढाएको कुरा रिभिजन गर्ने हो । यसलाई बुझेर गर्न सकेको खण्डमा हामी आफैँलाई फाइदा हुन्छ । तर, साथीहरूको सार्दा भने हामी आफैँलाई घाटा हुन्छ ।
प्रज्वल बस्नेत
होमवर्क भनेको दिने चिज नै हैन । हाम्रो टार्गेट परीक्षा हुन्छ । होमवर्कले हामीलाई अनावश्यक अल्झाउँछ । होमवर्क धेरै भएपछि स्कुल र घर दुवैबाट किचकिच सुरु हुन्छ ।
साजन ठाकुर
होकवर्क दिनु नराम्रो होइन । तर, विद्यार्थीलाई तनाव नै हुने गरी दिनु चाहिँ गलत हो । होमवर्क दिँदैमा हामी जान्ने हुँदैनो । यो कुरा सर÷मिसले बुझ्नुपर्छ ।
सपना श्रेष्ठ
पाँच बजे स्कुलको छुट्टि हुन्छ । स्कुलबाट फर्केपछि होमवर्क गर्न थाल्दा राति ८ बज्छ । होमवर्क किन चाहिन्छ भन्ने नै हामीलाई थाहा हुँदैन । सर÷मिस र आमाबुबालाई देखाउनै लागि भए पनि होमवर्क गर्छौं ।
क्रिस्टिना प्रजापति
कहिलेकाहीँ एक विषयमा होमवर्क हुँदैन । कहिलेकाहीँ होमवर्कको पहाडै हुन्छ । होमवर्ककै कारणले सुत्ने, उठ्ने, खाने केहीको पनि ठेगान हुँदैन ।
एस्मिला तामाङ
होमवर्क हुनुुपर्छ किनभने होमवर्क भएन भने हामी पढ्दैनौ । तर, धेरै होमवर्क भने दिनुहँुदैन । बढी होमवर्क हुँदा खेल्नै पाइँदैन । अञ्जली प्रजापति
होमवर्क गरेन भने पढ्ने बानी बस्दैन । त्यसैले होमवर्क हुनुपर्छ । होमवर्क गर्दा कमसे कम किताब पल्टाइन्छ र केही न केही कुरा भए पनि थाहा पाइन्छ ।
हबी प्याखँ
राति नसुति नसुति होमवर्क गरिन्छ । स्यावासी भने स्कुल आएर होमवर्क सार्ने साथीहरूले पाउँछन् । त्यो बेलामा होमवर्क गर्ने जाँगरै हराएर जान्छ । होमवर्कको साटो क्लास टेस्ट लिए राम्रो ।

अनवेश निरौला
होमवर्क दिनु राम्रो हो । विद्यार्थीलाई पेल्ने गरेर चाहिँ होमवर्क दिनु हुँदैन । पढ्नु कि होमवर्क गर्नु ! कहिलेकाहीँ त म स्कुलमा आएर साथीहरूको होमवर्क सार्छु ।

‘बोझिलो बनाउनु हुँदैन होमवर्क’
विद्यानाथ कोइराला, शिक्षाविद्
वास्तवमा होमवर्कको भारीले थिच्दैमा विद्यार्थीको बुद्धि बढ्दैन । धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानले यो कुरा प्रमाणित गरिसकेका छन् । होमवर्क शिक्षकलाई काम टार्ने प्रवृत्ति, अभिभावकलाई झन्झटबाट पन्छिने बाटो र विद्यार्थीलाई एक प्रकारको बहाना बनेको छ । धेरै स्कुलले जाडो बिदा दिन्छन् । बिदामा उनीहरूले होमवर्क नदिई सुखै पाउँदैनन् । स्कुलले होमवर्क दिएन भने पूरै स्कुलका अभिभावक नै जुलुस उठेर आउँछन् । आफ्ना बालबालिकालाई अल्झाउने बहानामा अभिभावकले स्कुलसँग अनावश्यक होमवर्कको माग गर्नु हुँदैन र शिक्षकले पनि दिनु हुँदैन ।  
शिक्षकहरूले होकवर्क दिँदा विद्यार्थीको इच्छा र चाहनालाई ध्यानमा राख्नुपर्छ । किताबी होमवर्कको प्रवृत्तिको निराकरण गर्नुपर्छ । विद्यार्थीको सिर्जनशीलतामा ह्रास आउने किसिमको होमवर्क दिनु हुँदैन । उमेर र कक्षाअनुसार होमवर्क दिने परिपाटीको विकास गर्नुपर्छ । होमवर्कलाई बोझ हैन, रमाइलो बनाउनुपर्छ । यसका लागि शिक्षकले प्रश्न दिने तरिकामा फरकपन ल्याउनुपर्छ । बिदाको समयमा होमवर्क दिँदा उनीहरू कहाँ गएर कसरी बिदा मनाइरहेका छन् बुझ्नुपर्छ । धेरै बालबालिका आमाबुबासँग घुम्न उपत्यका बाहिर जाने गर्छन् । यस्तो अवस्थामा उनीहरूको परिवेशलाई बुझेर होमवर्र्क दिँदा निकै प्रभावकारी हुन्छ । दैनिक रूपमा होमवर्क दिँदा पनि उनीहरूको रुचिमा ध्यान पु¥याउनुपर्छ । सबै विद्यार्थीलाई एकै प्रकारको होमवर्क दिनुुहुँदैन । सबैलाई फरक–फरक किसिमको होमवर्र्क दिँदा एकअर्काको साटासाट गरी धेरै कुरा सिक्न सक्छन् । आजभोलिका विद्यार्थी होमवर्क सार्छन् भनेर धेरै गुनासा आइरहेका छन् । होमवर्क सार्नुलाई कतिपय शिक्षकले अपराध पनि मान्ने गरेका छन् । धेरै विद्यार्थीले यस कारण गाली र कुटाइ पनि खाने गरेका छन् । तर, त्यो विद्यार्थीले किन होमवर्क सा¥यो भन्नेतर्फ कसैले ध्यान दिँदैन । धेरै होमवर्कको बोझ बोकाउँदा विद्यार्थी साथीहरूको सार्न बाध्य हुन्छन् । शिक्षकले विद्यार्थीको मूल्यांकन गरेर होमवर्क दिनुपर्छ । साथै, गरेको होमवर्र्कको प्रस्तुतीकरण गर्न लगाउनुपर्छ । यसले विद्यार्थीमा सिकाइ हुन्छ । बालबालिकालाई व्यस्त बनाउन दिने होमवर्कले सिकाइ प्र्रक्रियामा असर पु¥याउँछ । यसतर्फ विद्यालय सञ्चालक, अभिभावक र शिक्षकहरूले ध्यान पु¥याउनु आवश्यक छ ।

Leave A Comment