गैरी खेतको शिरै हान्यो

बुधबार, २० पुष २०७३, १० : ०१ शुक्रवार , Kathmandu
गैरी खेतको शिरै हान्यो

शब्दः यादव खरेल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः आशा भोसले
फिल्मः प्रेमपिण्ड

बालकृष्ण समको नाटक ‘प्रेमपिण्ड’ माथि बनेको फिल्म ‘प्रेमपिण्ड’को पटकथा मैले लेखेको हुँ । फिल्ममा त्रिकोणात्क प्रेम छ । प्रौढ जर्नेल एड्बिल आफ्नो दरबारमा काम गर्ने केटीसँग प्रेमासक्त हुन्छ । ती केटी माली केटालाई माया गर्छिन् ।
एड्बिल उमेर घर्किसकेको पात्र हो । उसको दरबारमा काम गर्ने कम उमेरकी नायिकालाई ऊ चोखो प्रेम गर्छ । त्यस बखत राणाहरूले जवान केटी राख्ने, भोगविलास गर्ने त चलनै थियो । तर, एड्बिलले भने ती नायिकालाई हृदयदेखि नै प्रेम गरेको हुन्छ । नायिका र एड्बिलको उमेर अन्तर धेरै हुन्छ । जसकारण नायिकाको ऊप्रति कुनै लगाव हुँदैन । उसको त त्यही दरबारको मालीसँग माया बसेको हुन्छ । माली र नायिकाबीच दोहोरो प्रेम हुन्छ । फेरि, मालीका पछाडि पनि सोही दरबारमा काम गर्ने अर्की सुसारे लागेकी हुन्छिन् ।
यो जेलिएको मायालाई समले धेरै पृष्ठमा व्याख्या गरेका छन् । तर, पौने तीन घण्टाको फिल्ममा त्यसरी ‘ट्रिट’ गर्न सम्भव थिएन । त्यसैले त्यो त्रिकोणात्मक प्रेमलाई एउटा स्थायी र तीनटा अन्तरामा समेट्ने गरी ‘गैरी खेतको शिरै हान्यो’ गीत सिर्जना गरेको हुँ ।
यो गीत मैले काठमाडौँमा बसेर लेखेको हुँ । म पहाडमा जन्मेर हुर्केको मान्छे । दरौँदीको किनारमा हिँडेको छु, दरौँदीका छालहरू नियालेको छु । मलाई गैरी खेत र टारी खेतका बारेमा थाहा छ । टारी खेतमा मकै फल्छ, गैरी खेतमा धान । पहाडमा खेत धेरै हुँदैन । थोरै भएको गैरी खेतमा पनि जोडले बहेको दरौँदीले हानेपछि के काम ! त्यही किसिमले तिम्रो रूपले मेरो मनलाई काटिरहेको छ भन्ने अर्थमा यो गीतमा गैरी खेत र दरौँदी प्रयोग गरेको हुँ ।
यो गीतको फिचरिङ पनि कल्पनालाई प्राथमिकतामा राखेर निर्माण गरिएको हो । भिडियोमा एड्बिलको मीठो कल्पना छ । अर्कोतिर नायिका र मालीको प्रेमको पनि आफ्नै खालको कल्पना छ । नायिका गाउँकी केटी हो । त्यसैले गीतमा प्रयोग भएको तुइनको फन्को केटीको कल्पनामा प्रयोग गरिएको शब्द हो । उसले मालीसँगको प्रेममा आफ्नै गाउँको कल्पना गरेकी छ । दरबारको सुखसयल, बग्गीभन्दा उसले आफ्नै गाउँको तुइन महŒवपूर्ण देखेकी छ । गीतमा त्यो कुरा प्रस्तुत गर्न खोजिएको छ ।
फिल्ममा भव्यता चाहिने हुनाले यो गीत मुम्बईमा रेकर्ड गरिएको हो ।  गीतमा एकै पटक १२ वटा भ्वाइलिन प्रयोग गरिएको छ । त्यो समय नेपालमा यो सम्भव थिएन । शम्भुजीत बास्कोटाले संगीत गरेको गीतमा भारतीय विख्यात एरेन्जर मनोहरि सिंहले संगीत संयोजन गरेका छन् । उनी चर्चित संगीतकार आरडी बर्मनका प्रमुख संगीत संयोजक थिए ।
आशा भोसलेले गाएको यो गीत मैले आशालाई नै गाउन लगाउने मनसायले लेखेको भने थिइनँ । संगीतपछि आशाको स्वरले गीतलाई न्याय गर्ने देखेर उनको आवाजमा गीत रेकर्ड गरायौँ । तर, गीतमा जुन प्राण आउनुपर्ने थियो, त्यो भने आउन सकेन भन्ने मलाई लाग्छ । शम्भुजीतले आशाजीलाई थोरै समय अभ्यास गराएर यो गीत रेकर्ड गरियो । संगीतकारले हार्मोनियम बजाएर अभ्यास सुरु गरे । त्यसपछि आशाजीले ‘ल ट्र्याक लगाइदेऊ’ भनेर एकैचोटि गाउनुभयो । दुई घण्टाभित्र सुनेर, अभ्यास गरेर रेकर्ड भएको गीत हो यो । गीतलाई गम्भीरताका साथ बुझेर, गीतको भाषा र भावमा डुबेर गाएको भए अझ बलियो हुन्थ्यो जस्तो लाग्छ । त्यो समय मैले आशाजीलाई भनेको पनि हुँ । तर, उहाँले ‘त्यसरी गाउन फुर्सद कहाँ पाउनु ?’ भनेर जवाफ दिनुभएको थियो ।

गैरी खेतको शिरै हान्यो
बर्खा यामको दरौँदीले
नौनीजस्तो मेरो मन चिरा पा¥यो
उसको रूपको करौँतीले

मस्र्याङ्दीमा जालै हाल्यो माझी दाइले आज
बिहानीमा देखेँ उसलाई मात लाग्यो साँझ

खोला पारि तारिदिने तुइनको फन्को
तर माया छुटाइहाल्यो कलेजीमा रन्को
 
उसको माया अइरो पइरो साउनको भेल
माया भन्नु यस्तै रैछ मनै चोर्ने खेल

गैरी खेतको शिरै हान्यो
बर्खा यामको दरौँदीले
नौनीजस्तो मेरो मन चिरा पा¥यो
उसको रूपको करौँतीले ।

–यादव खरेल
(राधिका अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

Leave A Comment