बार्सिलोनालाई स्वारेजको प्रेरणा

बुधबार, १५ बैशाख २०७३, ०७ : ४९
बार्सिलोनालाई स्वारेजको प्रेरणा

मड्रिड–लुइस स्वारजेले चार दिनको बीचमा दोस्रो पटक चार गोलको प्रदर्शन गरेपछि बार्सिलोना शनिबार स्र्पोटिङ गिजोनमाथि ६–० को जितका साथ स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाको प्रभावशाली जितमा तीन गोल पेनाल्टीमा भएका थिए।

गिजोनले १० जनामा सिमित भएर अन्त्य गरेको खेलको १२ औं मिनेटमा लियोनेल मेसीले दिलाएको अग्रतामा स्वारेजले ६४ औं मिनेटमा गोल थपेका थिए । स्वारेजले पछिल्ला दुई व्यक्तिगत गोल पेनाल्टीमा गरे । उनले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ७७ औं मिनेटमा अर्को पेनाल्टी गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ओग्नजेन भ्रान्जसले दुई पहेलो कार्ड सामना गरेपछि अन्तिम ६ मिनेट गिजोनले १० जनामा सिमित भएर खेल्यो ।

ब्राजिली फरवार्ड नेइमारले समय सकिन ५ मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि पेनाल्टीमै खेलको पाँचौं गोल गरे भने स्वारेजले ८८ औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । शनिबारको जितपछि पनि बार्सिलोना हेड टु हेडमा मात्र एट्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा फकिएएको छ । एन्जेल कोरियाको डिफ्लेक्टेड सट गोलमा परिणत भएपछि डिएगो सिमोनको एट्लेटिकोले शनिबारै मालागामाथि १–० को नतिजा निकालेको थियो ।

शीर्ष टोली बार्सिलोनालाई पछ्याइरहेको अर्को प्रतिद्वन्द्वी रियाल मड्रिडले पनि शनिबार रायो भाल्कानोमाथि ३–२ को जित निकाल्यो । गारेथ बेलले दुई गेल गरेपछि रियालको जित सम्भव भएको थियो । रायोले घरेलु मैदानमा एड्रियान इम्बार्बाको गोलमा सातौं मिनेटमा अग्रता लिएको थियो । १४ मिनेटमा दुई गोलको अग्रता लिने क्रममा टोलीका लागि मिकुले अर्को गोल गरे ।

बेलले ३५ औं मिनेटमा गोल गरेर रियाललाई पुनरागमनको बाटोमा फर्काए । लुकास भाज्क्वेजले ५२ औं मिनेटमा अर्को गोल फर्काउदा रियालले खेलमा बराबरी गरेको थियो । जहाँ समय सकिन ९ मिनेट बाँकी रहँदा वेल्सका स्ट्राइकर बेलले रियालका लागि निर्णायक गोल गरे ।

शनिबारका नतिजापछि ला लिगाका तीन खेल बाँकी रहँदा बार्सिलोना र एट्लेटिकोको खातामा समान ८२ अंक छ भने रियालले ८१ अंक जोडेको छ । अन्तिम समयसम्म पनि एउटा खेलको नतिजाले उपाधिको निर्णय गर्न सक्ने अवस्थामा शनिबारका गोलको विशेष महत्व रहेको बार्सिलोनाका स्वारेजले बताए ।

'लगातार दोस्रो खेलमा मैले चार गोल गर्न सकेँ । एउटा खेलाडीका रुपमा त्यो निकै ठूलो खुसीको कुरा हो । पछिल्लो समय हामीले राम्रो नतिजा निकाल्न सकिरहेका थिएनौं । यस्तो अवस्थामा मेरा गोल टिमको जितका लागि सहयोगी भए,' शनिबारका चार गोलसँगै जारी सिजनमा व्यक्तिगत गोलसंख्या ५२ पुर्याएका स्वारेजले भने, 'हामीलाई मेरो गोलको आंकडाभन्दा पनि टिमको जित र ला लिगाको उपाधि महत्वपूर्ण छ । बाँकी तीन खेलमा यस्तै प्रदर्शनलाई निरन्तरता दिन सके हामी फेरी स्पेनको च्याम्पियन हुनेछौं ।' स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अन्य खेलमा एइबार र डेर्पोटिभो ला कोरुनाले १–१ को बराबरी नतिजा निकाले भने लस पाल्मसले स्पान्योललाई ४–० ले हरायो ।

Leave A Comment