विद्यार्थीलाई बस चढ्नै गाह्रो

शनिबार, २३ पुष २०७३, ११ : ५७ शुक्रवार , Kathmandu
विद्यार्थीलाई बस चढ्नै गाह्रो

गौरव पोखरेल/झापा
झापाको शिवसतासी नगरपालिकाबाट दैनिक डेढ सय जनाको हाराहारीमा विद्यार्थीहरू सुरुंगा र बिर्तामोडका शिक्षण संस्थामा अध्ययन गर्न आउँछन् । सबै शैक्षिक संस्थासँग यातायातको सुविधा छैन । सुविधा भएकामा पनि केही विद्यार्थीहरू सार्वजनिक यातायात नै चढ्छन् ।
उनीहरूलाई यातायात व्यवसायीले हत्तपत्त चढाउँदैनन् । विद्यार्थी देख्नेबित्तिकै नरोकी हिँड्छन् । जसका कारण आफूहरू समस्यामा पर्ने गरेको विद्यार्थीहरू गुनासो गर्छन् । अन्य मानिसलाई चढाउँदा शतप्रतिशत भाडा पाइन्छ । तर, विद्यार्थीलाई चढाउँदा कम पाइन्छ । जसका कारण यातायात व्यवसायी हत्तपत्त विद्यार्थी चढाउन मान्दैनन् ।
सुरुंगामा रहेको कन्काई माविमा पढ्न त्यस क्षेत्रबाट २० जना हाराहारी विद्यार्थी दैनिक आउँछन् । तीमध्ये एक हुन्, दीपेश खड्का । उनी कक्षा ८ मा पढ्छन् । सधैँ विद्यालय जाने बेलामा यातायातको समस्या हुँदा उनी निराश बन्ने गरेका छन् ।
‘गाडीले चढाउनै मान्दैन,’ उनले दुखेसो पोखे, ‘हामीलाई देख्यो भने नरोकी हिँड्छ ।’ बिहान १५÷२० मिनेटसम्म स्ट्यान्डमा कुरेपछि अन्य मानिसहरू गाडी चढ्दा सँगै लुसुक्क छिर्ने गरेको उनी सुनाउँछन् । बेलुकी फर्किने बेलामा भने झन् समस्या हुन्छ । ‘बिहान प्यासेन्जर थोरै हुन्छन् । र, कुनैकुनै गाडीले चढाइहाल्छन्,’ उनले सुनाए, ‘तर, बेलुकी भने मान्छेहरू प्रशस्तै हुन्छन् । अनि, हामीलाई कुनै गाडीले पनि चढाउनै मान्दैन ।’ दैनिक घर जानै मुस्किल पर्ने गरेको उनले सुनाए ।
दमक मोडल कलेज पढ्ने रोशन खड्का पनि सार्वजनिक यातायात चढेर कलेज जान्छन् । उनीसँग पनि तीतो अनुभव छ । उनले आफ्नो दुःख यसरी पोखे, ‘हामी एउटा समूह नै छौँ, यहाँबाट जाने । सधैंँ जानुपर्छ । तर, हामीलाई देख्नेबित्तिकै गाडी स्ट्यान्डमा रोक्दैरोक्दैन ।’ उनका अनुसार विद्यार्थीलाई देखेपछि सार्वजनिक यातायात करिब दुई सय मिटर पर पु¥याएर मात्र रोकिन्छन् ।
शिवसतासीबाट आउने विद्यार्थीहरू मात्र होइन, जिल्लाका अधिकांश क्षेत्रबाट पढ्न आउने विद्यार्थीहरू यो समस्याबाट पीडित छन् ।
करिब १५ दिनअघि मात्र भद्रपुरबाट बिर्तामोड आउँदा सार्वजनिक यातायातले चढाएन भनेर आफूहरू समक्ष गुनासो आएको विद्यार्थी नेता सन्तोष उप्रेती बताउँछन् । ‘भद्रपुरबाट बिर्तामोड आउने एउटा गाडीले विद्यार्थीलाई चढाउनै मान्दो रहेनछ,’ उप्रेतीले भने, ‘अनि हामी गएर एक÷दुई पटक सम्झाएका थियौँ । तर, पनि टेरेन । एक पटक जंगिएपछि चाहिँ उनीहरूले अहिले विद्यार्थी चढाउन थालेका छन् ।’
यस्तै प्रकृतिका थुप्रै गुनासा आउने गरेको अनुभव छ, क्रिएटिभ नेप्लिज युथका रञ्जन धमलासँग पनि । उनी बाटोमा गाडीवालाले दादागिरी देखाउने गरेको तर्क गर्छन् । प्रभावकारी अनुगमन नुहँदा समस्या सिर्जना हुने गरेको उनको भनाइ छ । ‘सरकारी पक्ष र विद्यार्थी संगठनको संयुक्त टोली बनाएर अनुगमन गरिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसो हुन सके प्रभावकारी हुन्छ । र, विद्यार्थीको समस्या हल हुन्छ ।’
उता, नेपाल यातायात व्यवसायी संघ, मेची अञ्चल संयोजक राजेन्द्र रिजाल भने उल्टै विद्यार्थीकै दोष देखाउँछन् । उनी विद्यार्थीहरूले ४५ प्रतिशत छुट घटाएर ५५ प्रतिशत भाडा पनि दिन नमान्ने गरेको आरोप लगाए । ‘छुट दिएर बाँकी पैसा पनि दिन नमान्ने विद्यार्थीहरू छन्,’ उनले भने, ‘सकेसम्म सित्तैमा जान पाए हुन्थ्यो जस्तो गर्छन् ।’ ३० रुपैयाँको बाटोमा १० रुपैयाँ दिन पनि अप्ठ्यारो मान्ने गरेको उनले बताए । यातायात व्यवसायी रिजालकै तर्कसँग एकमत छन्, उच्च माध्यमिक विद्यालय संघ (हिसान)का झापा जिल्ला सचिव गौतम शर्मा शिवाकोटी पनि । उनी पनि विद्यार्थीकै दोष देखाउँदै भन्छन्, ‘अलिकति भए पनि बचाऊँ भन्ने भावनाले विद्यार्थीहरू गाडीलाई कम दिन खोज्छन् ।’
रिजालले धैरै जना विद्यार्थीहरू एकै ठाउँमा बस्ने गरेकोले पनि समस्या भएको तर्क गरे । ‘विभिन्न गाडीमा थोरै थोरै विद्यार्थी चढ्दा हुने हो,’ उनी भन्छन्, ‘तर, सबै जना एउटै बसमा चढ्न खोज्छन्, जसले गर्दा गाडीवालालाई पनि समस्या हुन्छ ।’
शिवाकोटी विद्यार्थी र यातायात व्यवसायीलाई एकैठाउँमा राखेर अन्तरक्रिया गराइनु जरुरी रहेको धारणा राख्छन् ।

Leave A Comment