बाँदर समात्नेलाई जागिर

आइतबार, २४ पुष २०७३, १० : ३१ शुक्रवार , Kathmandu
बाँदर समात्नेलाई जागिर

भारतको राजधानी नयाँ दिल्लीको सरकारी निकाय नगर निगमले बाँदर समात्न सक्ने व्यक्तिलाई जागिर दिने घोषणा गरेको छ । यसअघि निगमले समातिएका बाँदर संख्याका हिसाबले व्यक्तिलाई ज्याला दिने गरी काममा लिने गरेको थियो । तर, यो ‘स्किम’ सफल नभएपछि महिनावारी तलब तोकेरै जागिर दिने घोषणा निगमले गरेको छ । निगमका अनुसार बाँदर समात्न सक्ने व्यक्तिलाई प्रतिमहिना भारु १८ हजार रुपैयाँ तलबसहित जागिर दिइनेछ ।  
बाँदर र भुस्याहा कुकुरले मानिसलाई जथाभावी टोक्ने गरेको विषय दिल्लीका विभिन्न ठाउँमा चिन्ताको विषय बन्न पुगेको छ । कुकुरलाई समातेर पाल्ने विभिन्न निजी संघसंस्था छन् । तर, बाँदरलाई समातेर राख्ने कुनै संघसंस्था नभएको र बाँदर समात्न निकै कठिन हुने भएकाले दिल्लीमा ठूलो समस्या भएको छ ।
‘एउटा बाँदर समातेबापत निगमले समात्नेलाई आठ सय भारु दिने घोषणा गरेको थियो । यसप्रति कसैले चासो नदेखाएपछि १२ सय भारु दिने भयो । यसो गर्दा पनि बाँदर समात्ने कुनै व्यक्तिको दर्खास्त नपरेपछि महिनावारी तलब तोकेरै जागिर खुलाइएको हो,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment