जापान भनेपछि हुरुक्कै

सोमबार, २५ पुष २०७३, १० : ०५ सृजना खड्का , Kathmandu
जापान भनेपछि हुरुक्कै

प्लस टूपछि धेरै विद्यार्थीको चासोमा वैदेशिक शिक्षा पर्छ । शैक्षिक गन्तव्यको रूपमा नेपाली विद्यार्थीहरूको रोजाइमा हाल जापान एक अग्रणी थलोका रूपमा चिनिन थालेको छ । त्यहाँको हावापानी, खानपान र काम गर्दै पढ्न पाउने सुविधाका कारण पनि धेरै विद्यार्थी यस देशतर्फ आकर्षित भएका छन् ।
प्लस टूपछि धेरै विद्यार्थी पढाइको साथसाथै पैसा कमाउने लोभले विदेशिन्छन् । स्टुडेन्ट भिसामा गएर पैसा कमाउने सोच राख्ने विद्यार्थीहरूका लागि भने जापान उपयुक्त थलो नभएको कन्सल्ट्यान्सी सञ्चालकहरू बताउँछन् । राम्रोसँग जापानी भाषा पढेर गएको खण्डमा विद्यार्थीहरूका लागि जापान उचित गन्तव्य हुने भ्याली इन्टरनेसनल इन्स्टिच्युट अफ स्टडी अब्रोड प्रालि, पुतलीसडकका अध्यक्ष खेमकुमार बुढाथोकीले बताए । जापान जानका लागि भाषा पहिलो कदम भएको उनी बताउँछन् ।
उनका अनुसार जापान जाने विद्यार्थीले कम्तीमा पनि १ सय ५० घण्टा भाषा सिकेको हुनुपर्छ । भाषाको साथसाथै आवश्यक कागजात र केही बैँक ब्यालेन्स देखाएर जापान जाने प्रक्रिया सुरु गर्न सकिन्छ । शिक्षासँगै रोजगारीको अवसर पाइने भएकाले विद्यार्थीहरू जापान भनेपछि हुरुक्कै हुने उनले सुनाए । बुढाथोकीका अनुसार एसएलसी पास भएका विद्यार्थीहरूले समेत विद्यार्थी भिसामा आवेदन दिन सक्छन् । सन् २०११ बाट थालनी गरिएको यो सुविधाबाट धेरै विद्यार्थी लाभान्वित भएको उनले जानकारी दिए । ‘त्यहाँको कानुन पालना गरी पढ्ने समयमा पढ्ने र काम गर्ने समयमा काम गर्ने ग¥यो भने भविष्यमा युनिभर्सिटीमा पढ्ने सुनौलो अवसर प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘नेपालबाट गएपछि भाषाको कक्षामा हेलचेक्य्राइँ गर्दा भने विद्यार्थी आफैँलाई घाटा हुन्छ ।’
विद्यार्थी भिसामा जापान पुग्नेहरूलाई केही समय कठिन परिश्रम गर्नुपरे पनि पढाइ सकिएपछि भने रोजगारीका साथै व्यापार–व्यवसायको समेत अवसर रहेको कन्सल्ट्यान्सी सञ्चालकहरू बताउँछन्  । जापान जान छ महिनाको ट्युसन फी र तीन महिनाको होस्टेल फी गरेर नौदेखि १० लाख रुपैयाँसम्म खर्च हुने उनीहरू बताउँछन् ।
प्रेसिडेन्सियल इन्टरनेसनल एजुकेसनका आशिष गिरीका अनुसार जापानी भाषा उत्तीर्ण गरेपछि आफ्नो रुचि अनुसारको जापानी विश्वविद्यालय तथा कलेजमा पढ्न पाइन्छ । विद्यार्थीहरूले वर्किङ भिसा पाएपछि  भने मासिक साढे दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने उनले बताए । जापानका स्कुलले वर्षमा चार पटक भर्ना लिने गरेको गिरीले बताए । ‘जनवरी, अप्रिल, जुलाई र अक्टोबर गरी चार वटा इन्टेक हुन्छन् । अप्रिल र अक्टोबर इन्टेकका लागि सबैभन्दा बढी चाप लाग्ने गरेको छ,’ उनले भने ।
स्नातक पास गरेर गएका विद्यार्थीले जापानमा गएर काम गर्नका लागि भिसाको प्रक्रिया सुरु गर्न सक्छन् । स्टुडेन्ट भिसामा जाने विद्यार्थीहरू कामको ग्यारेन्टी दिन्छु भन्दै हिँड्ने खालका कन्सल्ट्यान्सीको भरमा नपर्न जापानमा बसोबास गर्दै आएका विद्यार्थीहरूको सुझाव छ ।

 

Leave A Comment