चौतारी साँझमा बाँसुरीको धुन

बिहिबार, २८ पुष २०७३, १० : १३ शुक्रवार , Kathmandu
चौतारी साँझमा बाँसुरीको धुन

चौतारी व्याण्ड नेपाल र जापानका कलाकारले विभिन्न धुनबाट मनोरञ्जन गराएका छन् । एक घन्टा ४५ मिनटसम्म चौतारी व्याण्डका कलाकार कलाकार पञ्च लामाले आफ्ना विविध बाँसुरी धुनबाट दर्शकलाई मन्त्रमुग्ध पारे । उनीसँगै  श्रवण लामाले तबला, मादल तथा जापानी कलाकार तेराकादो मित्सुगुले गिटारको धुनले दर्शकको मन जिते ।
कार्यक्रमको शुभारम्भमा पञ्चले मनकामना धुन पस्किए । लगत्तै उनले हिमालय सूर्योदयको धुन प्रस्तुत गरे । यसपछि  दर्शकको चाहना अनुसार जापानी धुन ‘टोकियो रात्रीकालिन धुन’ र ‘समुन्द्रको छाल धुन’ सुनाए ।  यी दुई धुनसँगै उनले फयुजन गरेर नोट ईन काठमाडौं शिर्षकमा काठमाडौंका केही स्थानीय धुनहरु पनि सुनाए ।  
यसपछि उनीहरुले नेपाली लोक गीत ए कान्छा...र सिन्धुपाल्चोक...लाई बाँसुरी धुनबाट प्रस्तुत गरेर दर्शकलाई छमछमी नचाए । लगत्तै पञ्चले तीन ओटा मौलिक धुन प्रस्तुत गरे । उनले मौलिक धुन अन्तर्गत मुरलीको माध्यमले विभिन्न चराको आबाज र गीत सुनाएर बनचारी भाकाबाट दर्शकको मन जिते । यस्तै उनले चरी नृत्य र चरा र सप्तरँगी इन्द्रेणी धुन पनि सुनाए । यो पनि उनीहरुको मौलिक धुन थियो ।
ड्रम सेसन अन्तर्गत ड्रमबाट श्रबण र बाँसुरीबाट पञ्चबीच युगल बादन चल्यो । उनीहरुले एकले अर्कालाई धुनमा पछ्याउँदै प्रतिस्पर्धी जस्तो भावमा प्रस्तुत भए । उनीहरुबीच धुनको जुवारीले दर्शकलाई उत्साहित तुल्याएको थियो । फेरी स्वतन्त्र प्रस्तुत अन्तर्गत यी तीन कलाकारबीच बाँसुरी, मादल, तबला र गीतमा तेहेरो प्रतिस्पर्धा चलेको थियो ।
कार्यक्रममा पञ्च, श्रवण र तेराकादोले १८ ओटा धुनहरु प्रस्तुत गरे । उनीहरुले चर्चित नेपाली धुन रेसम फिरीरी...प्रस्तुत गर्दा दर्शकले तालीले साथ दिएका थिए । यस्तै लोक झ्याउरे भाकाको धुन पस्कँदा पनि उनीहरुले दर्शकबाट निरन्तर ताली पाए । अत्यमा उनीहरुले ‘आकाश राजमार्ग’ शिर्षकको धुन सुनाए ।
उनीहरुले जापानी धनु प्रस्तुत गर्दा पछाडी पर्दामा प्रजेक्टरबाट देखाईएको जापानका सुन्दर दृष्य र नेपालका विभिन्न धुन प्रस्तुत गर्दा नेपालका विभिन्न स्थानका सुन्दर दृष्यले कार्यक्रमको आकर्षण बढायो ।
दुई दशक देखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धुन पस्कँदै गरेका कलाकारद्धय पञ्च लामा र श्रमण लामा गत आईतवार नाचघरको मञ्चमा विविध साँगीतिक धुन लिएर प्रस्तुत भएका हुन । सांस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर)ले जापानमा चर्चित चौतारी व्याण्डका कलाकार पञ्च, श्रबण र जापानी कलाकार तेराकोदा मित्सुगुलाई नेपाल बोलाएर चौतारी साँझमा उतारेका हो ।

 

Leave A Comment