ताली र गालीबीच ‘लक्ष्य’

मङ्गलबार, ०४ माघ २०७३, ११ : ३० सृजना खड्का , Kathmandu
ताली र गालीबीच ‘लक्ष्य’

दश वर्षअघि पुरु दोबे महर्जन र हरिशरण मगरले सुरु गरेको ‘लक्ष्य ब्यान्ड’मा पाँच वर्षअघि तेस्रो सदस्य जगदीश भुसाल थपिए । ‘जगदीश आएपछि हाम्रो ब्यान्ड पूर्ण भएको छ,’ पुरु र हरिशरणले एकै स्वरमा भने । जगदीश ब्यान्डका लिड गिटारिस्ट हुन् । पुरुले ड्रम बजाउँछन् भने हरिशरणले भोकल र रिदमको जिम्मेवारी सम्हालेका छन् ।
पुरु र हरिशरण एकदमै रफ देखिन्छन् । दुवैको नाकको दाहिने भागमा चाँदीको फूली छ । हातमा बाला र जीउमा ट्याटु खोपिएका छन् । कानमा कुन्डल र डेडलक कपाल । सम्हाल्न नसकेर केही समयअघि आफ्नो डेडलक कपाल काटेको हरिशरणले बताए । लिड गिटारिस्ट जगदीश भने यी दुवैका विपरीत देखिन्छन् । न उनको कानमा मुन्द्रा छ, न डेडलक कपाल । उनलाई यी सारा सोख छैनन् रे ! ‘कतिपय ठाँउमा त यसलाई गिटारिस्ट भनेर कसैले पत्याउँदैन,’ पुरुले कुरा खोले ।
‘‘हामीलाई चाहिँ यस्तो हुलिया बनाएका छौँ । कसले छोरी दिन्छ’ भनेर घरबाट गाली गर्नुहुन्छ,’ हरिशरणले भने, ‘तर, यस्तो गेटअप गरिएन भने हामीले गाउछौँ र बजाउछौँ भनेर कसैले पत्याउँदैन ।’
ब्यान्डको स्थापनाबारे बताउँदै हरिशरणले भने, ‘दाइहरूको देख्दादेख्दै ‘म्युजिक लभर’ बनियो र ब्यान्डको स्थापना गरियो ।’ पहिला ब्यान्डको नाम ‘ढाकाटोपी’ राखेको उनीहरू बताउँछन् । ‘पछि यो नाम भएन एउटा टार्गेट बनाउनुप¥यो भन्ने लाग्यो । ब्यान्डको नाम ‘लक्ष्य दी टार्गेट’ राख्यौँ । पछि ‘दी टार्गेट’ हटाएर ‘लक्ष्य’ मात्रै राख्यौँ,’ पुरुले भने ।
संगीतप्रेमीको ताली र परिवारको गालीले संगीत क्षेत्रमा लाग्ने प्रेरणा दिएको पुरु बताउँछन् । ‘सुरुवातताका निकै संघर्ष गर्नुप¥यो । घरबाट गाली खाइन्थ्यो । म्युजिकल इन्सटुमेन्ट किन्ने पैसा थिएन । हरेक वर्ष देउसी खेलेर पैसा जम्मा ग¥यौँ । र, एक–एक थरी सामान जोड्यौँ,’ उनले भने, ‘अहिले पनि सजिलो चाहिँ छैन । तर, के गर्नु म्युजिक छोेड्न नसकिने भयौँ ।’
पैसाका लागि हरिशरणले एउटा निजी कम्पनीमा जागिर नखाएका होइनन् । तर, संगीतलाई समय दिन नसक्ने भएपछि उनले काम छाडे । ‘तीज महिनाजति भयो जागिर छोडेको । अब म्युुजिकलाई नै बढी समय दिने हो,’ उनले भने । पैसाका लागि नभएर सन्तुष्टिका लागि संगीत क्षेत्रमा लागेको ब्यान्ड सदस्यहरूको भनाइ छ । ब्यान्डले उपत्यकासहित झापाको बिर्तामोड, दमक, चितवन, पर्सालगायत ठाउँमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।
‘नेपथ्य ब्यान्ड’बाट प्रेरित लक्ष्य ब्यान्डले ‘अकस्टिक्स’ बजाउने सोच बनाएको छ । हरेक शुक्रवार ठमेलको ‘ब्रिजेल क्याफे एन्ड बार’ मा ब्यान्डले प्रस्तुति दिन्छ । ‘यसले हामीलाई आर्थिक सहयोग हुने अपेक्षा गरेका छाँै । हप्ताको पाँच दिन अकस्टिक्स बजाउन सकियो भने नेपालमै बाँच्न सकिन्छ । देशबाहिर जानुपर्दैन,’ ड्रमर पुरुले भने ।
घरबाट गाली खाए पनि संगीतप्रेमीबाट ताली पाउने भएकाले संगीत क्षेत्रमा निरन्तर अगाडि बढ्ने सोच ब्यान्डको रहेको छ । हालै, सनम लामालाई ब्यान्डको म्यानेजर बनाएको उनीहरूले बताए । ‘जबसम्म बजाउन सकिन्छ, तबसम्म बजाइन्छ’ भन्ने सोच ब्यान्ड सदस्यहरूको रहेको छ । ‘हरेस नखाई संगीतलाई निरन्तरता दिनुपर्र्छ । घरबाट गाली ग¥यो भन्दैमा संगीतलाई छोड्नु हुँदैन,’ हरिशरणले भने, ‘आर्थिक अभावमा पनि निरन्तरता भने दिइरहनुपर्छ र संगीतलाई माया गर्नुपर्छ ।’
ब्यान्डले ‘गुञ्जिरहेछ’ र ‘शिवजी’ गरी दुई वटा एल्बम निकालेको छ । ‘दुवै एल्बम साथीभाइको सहयोग र देउसी खेलेकै पैसाले निकालेका हाँै,’ लिड गिटारिस्ट जगदीशले भने ।

Leave A Comment