प्लास्टिक सर्जरी गर्दा दाग जान्छ

बुधबार, ०५ माघ २०७३, ०१ : १० शुक्रवार , Kathmandu
प्लास्टिक सर्जरी गर्दा दाग जान्छ

डा. जसवन शाक्य, प्लास्टिक सर्जन
मेडिकल डाइरेक्टर, सुषमा कोइराला मेमोरियल अस्पताल
मेरो अनुहारमा खत छ । यसले मेरो सुन्दरतालाई बिगारेको जस्तो लाग्छ । प्लास्टिक सर्जरी गरेपछि यस्ता खत पुरिन्छ भन्ने सुनेको छु । प्लास्टिक सर्जरी भनेको के हो ? प्लास्टिक सर्जरी गर्दा खत तथा दाग जान्छ कि जाँदैन ?
मीरा

‘प्लास्टिक’ ग्रिस शब्द हो । जसको अर्थ हुन्छ ‘रिमोडलिङ’ । प्लास्टिकजस्तै रिमोडलिङ गर्न सकिने भएकाले यसलाई प्लास्टिक सर्जरी भनिएको हो । जसरी प्लास्टिकलाई पगालेर त्यसको आकार परिवर्तित गर्न सकिन्छ, त्यसै गरी कुनै कारणले छालामा बसेको दाग तथा खतलाई त्यही वरिपरिको छालाले मोडेर खत तथा दाग कम देखाउन काम प्लास्टिक सर्जरीमा हुन्छ । प्लास्टिक सर्जरी भन्नेबित्तिकै प्लास्टिकसँग जोडिएर केही गर्ने अथवा दागलाई बाहिरबाट कुनै वस्तुले छोप्ने हो कि भन्ने धेरैको जिज्ञासा हुन्छ । तर, यो सर्जरीमा त्यस्तो हुँदैन ।  
प्लास्टिक सर्जरीभित्र कस्मेटिक र रिकन्ट्रक्टिभ सर्जरी पर्छ । प्लास्टिक सर्जरी, कस्मेटिक सर्जरी र लेजर थेरापीजस्ता शब्द आजभोलि धेरै सुनिने गर्छन् । सबै प्लास्टिक सर्जरी कस्मेटिक सर्जरीमा पर्दैनन् । आगोले पोलेर अंगभंग भएका, शरीरको एउटा भाग अर्को भागसँग जोडिएर कष्टकर जीवन बिताइरहेकाहरूलाई सहज जीवनयापनका लागि पनि प्लास्टिक सर्जरी गर्ने गरिन्छ । अनुहारमा अनावश्यक रूपमा आएका रौँ तथा दाग हटाउन पनि प्लास्टिक सर्जरी उपयोगी हुन्छ । प्लास्टिक सर्जरीको ‘रिजल्ट’ रातारात आउँदैन । एउटा सानो दाग मेटाउन पनि पटक–पटक सर्जरी गर्नुपर्ने हुन्छ । छालाको सतहलाई मिलाएर दागधब्बा पुर्नुपर्ने भएकाले समय लाग्छ । शरीरको कुन भागमा, कस्तो खालको र कति पुरानो खत वा दाग हो त्योअनुसार प्लास्टिक सर्जरी गर्दा रिजल्ट आउँछ । प्लास्टिक सर्जरीले मानिसले जन्मदेखि लिएर आएको अनुहारको स्वरूप बदलिने होइन । बिग्रेको भागलाई केही मात्रामा सुधार गर्न सकिने मात्र हो ।
तपाईंले एक पटक विशेषज्ञ प्लास्टिक सर्जनसँग परामर्श गर्नुभयो भने तपाईंको अनुहारमा भएको खत सर्जरी गरेर कति कम गर्न सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सक्नुहुन्छ । प्लास्टिक सर्जरी गरेपछि पनि केही मात्रामा रहेको खत तथा दागलाई लेजर प्रविधिबाट हटाउन सकिन्छ । प्लास्टिक सर्जरीबाट परिणाम आउन केही समय लाग्ने भएकाले धैर्यको आवश्यकता पर्छ ।

 

Leave A Comment