तारादेवीको सम्झना

बिहिबार, १३ माघ २०७३, १२ : ४४ शुक्रवार , Kathmandu
तारादेवीको सम्झना

तारादेवी स्मृति प्रतिष्ठानले जमलस्थित संस्कृति संस्थानमा गत आइतवार तारादेवीको ११ औँ स्मृति दिवस मनाइएको छ । उनी सम्बद्ध गीतसंगीत गाउँदै उनलाई सम्झिएको छ । कार्यक्रममा नयाँ र पुराना पुस्ताका गायकगायिकाले गीत गाएका थिए । गत वर्ष लेखक प्रकाश सायमीले गायिका तारादेवीको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानले दोस्रो पटक स्मृति कार्यक्रम गरेको हो ।
कार्यक्रम मीरा राणा र संगीता थापाले तारादेवीद्वारा गाइएको गीत ‘शुभकामना’ गाउँदै सुरु गरेका थिए । उमेश खड्का, अनामिका सिंह लगायतले पनि तारादेवीका गीत गाएका थिए ।
तारादेवीले बालगायिकाका रूपमा रेडियो नेपालमा गाउन सुरु गरेको प्रकाश सायमी बताउँछन् । तर, २०१२ सालमा रेडियो नेपालमा उनको पहिलो गीत रेकर्ड भएको थियो । भैरव बहादुर थापाको संगीतमा ‘तिमी र हामी भेटौँला’ र ‘अब हजुर नजानुस् लाहुर’ कलकत्ताको हिन्दुस्तान रेकर्डमा रेकर्ड भएका थिए । त्यसयता तारादेवीले करिब चार हजार गीत रेकर्ड गरेको सायमी बताउँछन् ।  उनका ‘शुभकामना’, ‘उकाली ओरालीहरूमा’, ‘काली पारे’, ‘फूलको थुङ्गा’, ‘हिमालकी छोरी हुँ म’ अत्यधिक चर्चित गीत मानिन्छन् ।
कार्यक्रममा ‘नेपाली संगीतमा पुर्नखोज तारादेवीको’ शीर्षकमा प्रतिभा खोज्ने कार्यक्रम गरिने घोषणा सायमीले गरे । ‘गाइरहेका गायिकालाई गु्रमिङ गरेर प्लेटफर्म दिने हाम्रो योजना हो,’ सायमीले भने ।

 

Leave A Comment